s

सारिएपछि शरणार्थीको जीविका कष्टपूर्ण


झापाको बेलडाँगी-२ स्थित भुटानी शरनार्थी शिविरमा गोलधापबाट स्थानान्तरण गरिएकाका लागि बनाइएका छाप्रा ।
- तस्बिर : चेतन/कान्तिपुर

भौतिक पूर्वाधार तयार नगरी गोलधापबाट बेलडाँगी शिविर स्थानान्तरण गरिएकाले दैनिकी कष्टपूर्ण भएको भुटानी शरणार्थीहरूले बताएका छन् । डेढ महिनाअघि शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग -यूएनएचसीआर) ले गोलधापबाट बेलडाँगी २ मा शरणार्थी स्थानान्तरण गरेको थियो ।

सारिएका अधिकांशका छाप्राबाट पानी चुहिएर बस्न समस्या छ । कतिपय छाप्रामा छानो नहालिकनै राखिएको छ । केही शरणार्थीले दाताले उपलब्ध गराएको छाप्रो बस्न लायक नभएको भन्दै त्यगेर अरू नै छाप्रामा बसेका छन् ।

 

बेलडाँगी २ सेक्टर एफ १ का भीमबहादुर गुरुङले आफूलाई उपलब्ध गराएको सोही सेक्टरको ३२ नम्बर छाप्रो त्यागेका हुन् । 'छानो पनि छैन । गहिरो ठाउँमा बनाएको छ । एक झर पानी आउनेबित्तिकै छाप्रा डुबानमा पर्छन् । एक रात बास बसेपछि बस्नै नसकेर अर्कै छाप्रोमा जबरजस्ती बसेको छु,' उनले भने ।

छानो हालेका छाप्रा पनि पातलो खरले छाएकाले पानी चुहिएर बसिनसक्नु भएको शरणार्थीको गुनासो छ । केही दिनदेखि नियमित वर्षा भएकाले उनीहरूका ओड्ने ओछ्याउने लुगा पनि भिजेका छन् ।

बेलडाँगी २ सेक्टर एफ ४ छाप्रा नम्बर ३१, ३२ का टेकबहादुर काफ्लेका अनुसार खर पातलो लगाएकाले पानी चुहिएको हो । 'हेर्दा नयाँ बनेका राम्रा घर छन् तर भित्र बेहाल छ,' काफ्लेले पानीले भिजेको लुगा उठाउँदै भने, 'शरणार्थीलाई जहीँ पनि हेला भएको छ ।'

केही छाप्रामा प्लास्टिकले मात्र छाएर शरणार्थी राखिएको छ । घामपानी दुवै बाहिर जाँदैन । छाप्रो पनि कमजोर गरी बनाएको उनीहरूको आरोप छ । 'हावा पानी आएपछि उडाउन लागेको छाप्रो स्याहार्नु कि नानीहरू स्याहार्नु समस्या पर्छ,' प्लास्टिकले छापेको आफ्नो छाप्राको हविगत बताउँदै एक महिला शरणार्थी भन्छिन्, 'राति पानी आयो भने कुखुराले चल्ला छोपेजस्तो आफू भिजेर नानीहरूलाई जोगाउनुपर्छ ।

पछिल्लो समयमा यूएनएचसीआरले छाप्राको फ्रेम बनाइदिएर शरणार्थीलाई बारबेर र छानो आफैं लगाउन भनेको छ । आफू बस्ने छाप्रो आफैं बनाउन शरणार्थी तम्सिएर पनि आवश्यक कच्चा पदार्थ नपाएको उनीहरूले गुनासो गरे । बेलडाँगीका शिविर सचिव डीबी सुब्बाका अनुसार छिटो स्थानान्तरण गर्ने नाममा यूएनएचसीआरले शरणार्थीलाई अन्याय गरिरहेको छ ।

'हालसम्म करिब २ सय ५० परिवार स्थानान्तरण गरिसकिएको यूएनएचसीआर दमकले जनाएको छ । आउँदो जुन महिनाभरिमा गोलधापका करिब ७ सय परिवारलाई बेलडाँगी ल्याइने यूएनएचसीआरले जनाएको छ ।

छाप्रा बनाउन पनि आवश्यक कच्चा पदार्थ उपलब्ध नगराएको सचिव सुब्बाले बताए । उनका अनुसार एउटा छाप्रो बनाउन कम्तीमा १ सय ५२ घना बाँस उपलब्ध गराउने सहमति भएकामा आहिले आपूर्तिर् कम भएको भन्दै प्रतिछाप्रा ७५ घना बाँसमात्र उपलब्ध गराइएको सुब्बाले दाबी गरे ।

Published on: 13 May 2011 | Kantipur

Back to list

;