s

सार्वजनिक यातायातबाट एकैदिन १४ बालकको उद्धार

रामकला खड्का

उपत्यकाका विभिन्न रुटमा सञ्चालित सार्वजनिक सवारी साधनमा सह–चालकका रुपमा कार्यरत १६ वर्ष मुनिका १४ जना बालकलाई बुधबार उद्दार गरिएको छ । केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय बागमतिले बुधबारदेखि सुरु गरेको अभियानको पहिलो दिन ती बालबालिकालाई उद्धार गरी उनीहरूको संरक्षण तथा उचित व्यवस्थापनका लागि बालबालिका खोजतलास समन्वय केन्द्रमा बुझाएको छ ।

बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतका साधनलाई बाल श्रमरहित बनाउने उद्देश्यले सुुरु गरिएको अभियानको थालनी पुरानो बसपार्कबाट गरिएको छ ।
 
अभियानअन्र्तगत पहिलो दिन उपत्यकामा चल्ने एक सय ८४ वटा गाडीको अनुगमन गरी ती बालबालिकालाई उद्धार गरिएको हो । सार्वजनिक यातायातमा बाल श्रम प्रयोग गर्नु हुँदैन भन्ने सचेतना जगाउने उद्देश्यले ती गाडीमा स्टिकर समेत टाँसिएको श्रम कार्यालय बागमतीका प्रमुख उदयकुमार गुप्ताले बताए ।
 
उद्धार गरिएका ती बालबालिकालाई ‘१०४’ ले भ्वाइस अफ चिल्ड्रेन नामक संस्थामा आ श्रयका लागि पठाएको छ । बालबालिकाका अभिभावक लिन आएमा पारिवारिक पुर्नस्थापना गरिने र नआए सरकारले नै विभिन्न संस्थामा राखेर पालनपोषण र शिक्षाको ब्यवस्था गर्ने प्रमुख गुप्ताले बताए ।
 
केन्द्रीय बालकल्याण समितिको अध्ययनमा काठमाडौंमा सञ्चालित विभिन्न सार्वजनिक यातायात साधनमा पाँच सयभन्दा बढी बालक परिचालकका रुपमा कार्यरत छन् । बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने ब्यवस्था छ ।
 
बालबालिकालाई श्रममा लगाए एक वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने ब्यवस्था छ । पहिलो दिन अनुगमनमा परेका सार्वजनिक साधनका चालकलाई पत्रसहित श्रम कार्यालयमा उपस्थित हुन पत्र काटिएको जानकारी प्रमुख यादवले दिए ।
 
चार दिनसम्म जारी रहने अभियानको दोस्रो दिन कोटेश्वर, तेस्रो दिन लगनखेल र चौथो दिन स्वयंभुमा संचालन गरिने भएको छ ।
 
सार्वजनिक यातायात क्षेत्रलाई बाल श्रममुक्त बनाउने उद्देश्यले अभियान सुरु गरिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।
 
सवारी तथा यातायात ब्यवस्था ऐनमा १८ वर्ष उमेर पुगेका युवाले मात्रै परिचालक हुन पाउने र त्यसका लागि पनि अनुमति लिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।
 
Published on: 19 April 2018 | Annapurna Post

Back to list

;