s

शरणार्थी शिविरमा भयानक सन्नाटा

नक्कली भुटानी शरणार्थीको गिरोहबारे नसोचेको समाचार र सूचना बाहिरिएपछि सबैभन्दा स्तब्ध कोही छन् भने झापा–मोरङका शिविरभित्रका सक्कली शरणार्थी छन् । यो गिरोहका अग्रज सूत्रधारहरू पछिल्ला चार महिनायता केन्द्रीय, भद्र र नख्खु कारागारमा सरकारी दानापानी खाएर बसिरहेकै छन् ।

यसरी पुर्पक्ष थुनामै बस्नेहरू पनि आफ्नै हिसाबले पक्कै स्तब्ध होलान् । तिनमा पनि ग्लानि–आत्मग्लानि पक्कै होला । तर अहिले धरौटी पाइने आशा लिएर न्यायिक पुनरावेदनका लागि तालमेल मिलाइरहेका यी सूत्रधारहरूभन्दा बढी स्तब्ध छन्— शिविरमा बस्ने शरणार्थीहरू । नखाएको विष लागेझैं अन्यमनस्क मनोदशा लिएर शरणार्थी शिविरमा बस्नेहरूमाझ पनि यतिखेर ‘को सक्कली, को नक्कली’ को बहस चलिरहेको छ ।

नक्कली भुटानी शरणार्थी गिरोहको सूचना सार्वजनिक भएपछि सक्कली शरणार्थीको शिविरभित्र देखिएको परिवर्तन र राज्य–प्रशासनले देखाएको व्यवहार निकै भिन्न छ, अनौठो छ । अस्तिसम्म शरणार्थी शिविर र शरणार्थी व्यवस्थापन एकाइ भनेर चिनिने कार्यथलो अहिले बस्ती व्यवस्थापन समितिमा रूपान्तरित भएको छ । शरणार्थीले शिविरबाट बाहिरी देश जानुपर्दाको स्थितिमा गृह मन्त्रालयले गत जेठ २१ मा जारी गरेको नयाँ निर्देशनमा ‘विदेशबाट आउने प्रायोजन (स्पोन्सरसिप) तथा नाता–प्रमाणको आधारबाहेक यात्रामा जान चाहने व्यक्तिको स्थलगत सर्जिमिन मुचुल्का’ पनि जरुरी बनेको छ, को सक्कली, को नक्कली छुट्याउनकै लागि ।

अनेक तहका कागजी सिफारिस लिन वा सुझाव पाउन शिविरका शरणार्थीहरू स्थानीय समन्वय समिति (आरसीयू) मा धाइरहेका हुन्छन्, तर कुनै सिफारिस गर्न वा सुझाव लेनदेन गर्नै पनि सबै जना हच्किएका देखिन्छन् । यहाँसम्म कि, चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा शरणार्थी मामिलाको कुनै पनि अतिरिक्त कामकारबाही ठप्पप्रायः छ । कुनै सिफारिस वा नाता प्रमाणित, वैवाहिक सम्बन्धका कागजात अथवा यात्रा अनुमतिपत्र पाउनसमेत मुस्किल बनेको छ । कतै बयानमा परिन्छ कि भनेर, कतै छड्के साक्षीमा बस्नुपर्ला भनेर र कतै तारेख धाउनेमा परिएला भनेर सबै पन्छिन चाहन्छन्Ù उम्कन चाहन्छन् । अख्तियार, सीआईबी, सम्पत्ति शुद्धीकरण, अपराध अनुसन्धान हुँदै ‘सीडीओ साप’ सम्मको चाहिनेभन्दा नचाहिँदो भय बोकेर बसेका छन् ती । यही भयका कारण शरणार्थीका तमाम सरोकार र मुद्दाहरू ‘हेर्दाहेर्दै’ को स्थितिमा पुगेका छन् ।

यही शिविरको एउटा कुनामा भुटानी शरणार्थी अपांग संघ छ, जहाँ ५० जति शारीरिक रूपले अक्षम शरणार्थीहरूको मुस्किलको दैनिकी देख्न सकिन्छ । नजिकै अर्ली चाइल्डहुड डेभलेपमेन्ट सेन्टर छ जहाँ १७३ शरणार्थी बालबच्चा विद्यालय खाजाको सुविधासहितको खोजीमा कक्षाकोठामा आइपुग्छन् । यी बालबच्चा पढाउन बाहिरी विश्वमा छरिएर बसेका भुटानी शरणार्थीहरूको समूह ग्लोबल भुटानिज अर्गनाइजेसन (जीबीओ) बाट भरथेग मिलेको छ । शिविरका घरआँगनीमा चोया काढेर वा तान बुनेर, सानो करेसाबारीमा सात–दस बोट मकै गोडेर वा त्यसै गलफत्ती गर्दै बसिरहेका बाआमाहरू उत्तिकै भेटिन्छन् । तीमध्ये अधिकांशतः पारिवारिक विच्छेदबारे एकालाप गरिरहेका हुन्छन् । बेलडाँगी शिविर छिर्नासाथै आइपुग्ने बांगे चौतारी छेउछाउदेखि नै भुटानतिरै छुटेका, अमेरिका–बेलायत पुगिसकेका र वर्षौंवर्षदेखि (भुटानभित्रै) बेपत्ता सूचीमा चढेका आफन्तजनबारे बातचित गर्नेहरूको घुइँचो भेटिन्छ, हरेक बिहानबेलुकै । सिंगो शरणार्थी शिविर आफैंमा समस्या, उल्झन, द्विविधा र असमञ्जसको अखाडा बनेझैं देखिन्छ । नक्कली भुटानी शरणार्थी प्रकरण उदांगिएपछि ‘म भुटानी शरणार्थी, शिविरबाट आएको’ भन्दै परिचय दिँदा पनि आशंका र सन्देहको नजरले हेरिने, नसोचेको प्रतिक्रिया पाइने क्रम बढेको रहेछ ।

आज शिविरमा बस्नेहरू आफ्नै बनिबुतोमा वा विदेशमा रहेका आफन्तको भरथेगमा बाँचिरहेका छन् । न शरणार्थी आयोग, न खाद्य कार्यक्रम वा न त शिक्षा र स्वास्थ्यका अवसरहरू शिविरमा बचेखुचेका छन् । यस बेला शिविरमा बसेका भुटानी शरणार्थीमाथि अनाहकमा र अपजसे तौरतरिकाले थप लाञ्छना लगाउँदै आफू पानीमाथिको ओभानो बनिन खोज्ने राष्ट्रसंघीय शरणार्थी आयोग (यूएनएचसीआर) र नेपाल सरकारको कार्यशैली बरु आलोचनायोग्य बन्दै गएको देखिन्छ । कतिसम्म भने, शरणार्थी पहिचानको मुख्य आधार मानेर गरिने संयुक्त प्रमाणीकरण (नेपाल सरकार र यूएनएचसीआर) को सन् २००६–७ कै सूचीमा परेर ‘फोटो खिचाएका’ प्रतिनिधि पात्रमध्ये केही अझै शिविरमै छन् जसले अहिलेसम्म शरणार्थी कार्ड पाएकै छैनन् । मधु चापागाई, मनिता प्रधान, विजय सुनुवार, पीताम्बर खतिवडा, नरबहादुर कार्की, प्रिया गजमेर र अरू थुप्रै पहिचानविहीन शरणार्थी अझै छँदै छन् जो आफ्नो त्यस बेलाको प्रमाणित नामठेगानाको ढड्डा फोटोकपी बोकेर हिँडिरहेका छन् ।

त्यसपछि सन् २०१२ को संयुक्त प्रमाणीकरणमा परेर फोटो खिचाउने खडानन्द भण्डारीसहितका २५ जना शरणार्थी पनि घर न घाटको पहिचानमा शिविरभित्र छन् । सन् २०१९ को संयुक्त प्रमाणीकरणमा परेका घनश्याम ढकालसहितका ४२९ जनाको फेहरिस्त त सार्वजनिक भैसकेको छ जो नक्कली भुटानी शरणार्थीको वृत्तान्त समेटिएको गृह मन्त्रालयको पन्थी प्रतिवेदनका कारण पनि झनै ‘पीडित र शंकास्पद’ यथास्थितिमाझ बसिरहेकै छन् । शरणार्थीको अधिकारको पक्षधर भैरहने र मानव अधिकारका पक्षका सबै प्रबन्धलाई स्वीकार गर्ने नेपाल सरकारले जानाजानी सक्कली शरणार्थीमाथि गरेको ‘पहिचानै नदिने’ व्यवहारमाथि पनि प्रश्न गर्नैपर्ने हुन्छ, यस्तो हदैको अन्याय बेहोर्ने शरणार्थीहरू ५ जना होऊन् वा ५० जना ।

नक्कली भुटानी शरणार्थीको गिरोहको खेलधन्दा बाहिर आएपछि स्वभावतः भुटानी शरणार्थीबारेको सोधखोज सबै तह–तप्काबाट हुन थालेको छ, सधैंभन्दा बढी ‘गुगल–सर्च’ हुन थालेको छ । यही मेसोमा संयुक्त प्रमाणीकरणमा परेका, परिचयपत्र पनि पाएका तर तेस्रो देश पुनर्बसोबास क्रममा यी प्रमाणितको नाममा अरू नै कोही अमेरिका/अस्ट्रेलिया पुगिसकेका दृष्टान्त पनि शिविरमा भेटिने गरेका छन् । तर, १ लाखभन्दा बढी शरणार्थी पुनर्बसोबासमा गैसकेको तथ्य–तथ्यांकका सामु यी १२–१५ जनाको कुरा गर्ने कसले ? सिंगो शरणार्थी मामिलामा शुद्धीकरण र न्यायिक पुष्टीकरण गर्ने हो भने यसरी मिलेमतोमा अरूलाई नै पुनर्बसोबासमा पठाउने यूएनएचसीआर, आप्रवासन संगठन (आईओएम) माथि पनि प्रश्न गर्नुपर्छ ।

यूएनएचसीआरले केही हदमा छद्म र अपारदर्शी काम गरेको रहेछ भन्ने प्रमाण–पुष्टि पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजकत्वको प्रतिवेदन (भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल–२०७६) मा पनि उल्लेख गरिएको छ । प्रतिवेदनको ‘उपलब्ध तथ्य र विवरणको विश्लेषण’ मा भनिएको छ, ‘भुटानी शरणार्थीहरूको अभिलेख राख्ने संस्था यूएनएचसीआर देखियो । तर, उक्त संस्थाले राखेको कुल मान्यताप्राप्त शरणार्थीहरू र दर्ता भएका शरणार्थीहरूको अभिलेख दोहोरो रूपमा मिलान हुन नसकेको पाइयो । कुल मान्यताप्राप्त शरणार्थी संख्या १ लाख १९ हजार ८ सय ८४ देखिन्छ भने कुल दर्ता शरणार्थी संख्या १ लाख १६ हजार ३ सय ५७ देखिन्छ । यी दुई अभिलेखको मिलान गर्दा दर्ता र मान्यताप्राप्त शरणार्थी संख्यामा ३ हजार ५ सय २७ फरक परेको देखिन्छ ।’

यस्तै, यो नमिल्दो तथ्यांकबाहेक पनि, यूएनएचसीआरकै विवरणमा २६ सेप्टेम्बर २००६ देखि ३० जुन २०१९ सम्ममा १ लाख १३ हजार ३ सय ७ जना शरणार्थी विभिन्न ८ देशमा पुनर्बसोबासमा गैसकेका छन् । तर, त्यसरी गैसकेका यी (सक्कली) शरणार्थीको विस्तृत विवरण माग गरिए पनि यूएनएचसीआरले उपलब्ध गराउनै नचाहेको भनिएको छ प्रतिवेदनमा । यसरी पनि अर्को स्वरूप र प्रक्रियामा शरणार्थी पुनर्बसोबासको चरणमै सक्कली–नक्कली शरणार्थीको खेलकुदमा राष्ट्रसंघीय निकायसमेत संलग्न रहेको आकलन गर्न सकिन्छ । होइन भने, पुनर्बसोबासमा गैसकेका शरणार्थीको सम्पूर्ण नाम–नामेसी खुलाउनका लागि यूएनएचसीआरलाई किन कठिनाइ परेको थियो, जबकि गृह मन्त्रालयले गठन गरेको अधिकारसम्पन्न एउटा कार्यदलले त्यो विवरण तारन्तार मागिरहेको थियो ?

‘यसरी माग गर्दा यूएनएचसीआरको काठमाडौं कार्यालयबाट गृह मन्त्रालयमा विद्युतीय माध्यमबाट पठाइसकिएको र यूएनएचसीआरको दमक शाखा कार्यालयमा पनि उक्त विवरण नभएको भनी मौखिक रूपमा जानकारी गराइएको थियो । तर, गृह मन्त्रालय अन्तर्गत नुक्रा (द नेसनल युनिट फर कोअर्डिनेसन अफ रिफ्युजी अफेयर्स) मा पनि उक्त विवरण आएको रहेनछ । यसकारण पुनर्वासमा गैसकेका शरणार्थीको नाम–नामेसी यस प्रतिवेदनमा समावेश गर्न नसकिएको’ भन्दै प्रतिवेदनमा यूएनएचसीआरको नियतमाथि गम्भीर प्रश्न उठाइएको छ ।

नक्कली भुटानी शरणार्थी गिरोहका कारण धेरै विषय र मुद्दामा अनुसन्धान, केरकार तथा बहस–पैरवी भैरहेका बेला राष्ट्रसंघीय निकायको (बद)नियत र (अ)पारदर्शितामाथि प्रश्न गर्न मिल्दैन र ? शरणार्थीका नाममा आज भैरहेका अनेक खाले गतिविधिलाई मानव तस्करीको उपमा दिइरहिएका बेला ६ हजारभन्दा बढी मान्छेको वर्तमान–भविष्यलाई अलपत्रै छाडेर ‘फरार’ भएको यूएनएचसीआरलाई समेत केरकारको दायरामा ल्याउन मिल्दैन र ? यो प्रश्न शरणार्थी शिविरका छाप्राहरूमा पनि सुषुप्त बनेर बसेकै छ ।

१० करोडको ‘अफर’

सन् १९८७ मा सम्पन्न विधानसभा निर्वाचनमा पश्चिम बंगालको कालिम्पोङबाट भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) बाट निर्वाचित विधायकहरूमध्ये एक हुन्— मोहनसिंह राई । नेपाली भाषा–साहित्य र प्राज्ञिक चिनारीमा ‘मोहन दुखुन’ नामले चिनिने यी पात्रले पहिलो पटक सन् १९९१ को अन्त्यतिर थिम्पु पुगेर तत्कालीन राजा जिग्मे सिंगे वाङ्चुक सरकारका पदाधिकारी र विशेषतः गृहमन्त्री दागो छिरिङसँग भेटवार्ता गरेका थिए । दागो दक्षिणी भुटानबाट १ लाखभन्दा बढी नेपालीभाषी भुटानी (ल्होत्साम्पा) लाई देशनिकाला गरेर र जातीय सफाया गराएर राजाको सबैभन्दा प्यारो भएका थिए । दागो सन् १९९१ देखि ९८ सम्म भुटानको गृहमन्त्री र त्यसपछिका ९ वर्ष (१९९९–२००८) सम्म जापानका लागि भुटानी राजदूत बनेका थिए (उनलाई गत वर्ष मात्रै जापान सरकारले द्विदेशीय सम्बन्ध सुमधुर बनाउने सेतुका रूपमा ‘द अर्डर अफ द राइजिङ सन’ विभूषणले सम्मानित गरेको थियो) ।

‘सन् १९९१ फरवरीको पहिलो सातामा दक्षिणी भुटानबाट ९१ जना नेपालीभाषीलाई देशनिकाला गरियो रे, उनीहरू भारतको डुवर्सको गरगन्डा हुँदै सिलिगुडीबाट शरणार्थी हैसियतमा नेपाल पुगे रे भन्ने सुनेपछि र नेपाली जातीलाई थप थिचोमिचो गरिँदै छ भन्ने थाहा पाएपछि यसका बारेमा बोल्नुपर्छ, केही सोधपुछ हुनुपर्छ भनेर मैंले भुटान जान चाहेको थिएँ,’ असार अन्तिम साता पश्चिम बंगालको सिलिगुडीमा भेटिएका मोहन दुखुनले सुनाए, ‘त्यत्तिकै थिम्पु जान सकिनेवाला थिएन । फेरि, पार्टीमा पनि कारण बताउनैपर्ने हुन्थ्यो । त्यो प्रबन्ध त्यत्तिकै मिलेको थिएन ।’

त्यसपछि सीपीआईको दिल्ली केन्द्रमा रहेका महासचिव इन्द्रजित गुप्ताको निर्देशन र सरकारी तहको प्रबन्ध मिलाएर मात्रै मोहन दुखुन दुई जना सहयोगीसहित थिम्पु जान सकेका थिए (महासचिव गुप्ता पछि गएर केन्द्रमा गृहमन्त्रीसमेत बनेका थिए, देवेगौडा र गुजरालको प्रधानमन्त्रीकाल (१९९६–९८) मा ।)

‘सुरुमा त थिम्पुमा कसैले भेट्न पनि चाहेको थिएन । तर, दिल्ली केन्द्रको दबाब र फोनका भरमा त्यस बेलाका भुटानका गृहमन्त्री दागो छिरिङसँग मेरो भेटवार्ता भएको थियो,’ दुखुनले सुनाए, ‘यसरी नेपालीभाषीलाई देशनिकाला गरिनु राम्रो होइन, भुटानले यस्तो गल्ती गर्नु हुन्न भनेको थिएँ । मलाई त गृहमन्त्री छिरिङले यो भुटानको आन्तरिक विषयमा छलफल नगर्न भन्दै केही देशद्रोही आफूखुसी देश छाडेर हिँडेको भनेर आलटाल गर्न चाहेका थिए । मैले यस्तो जातीय सफायाको कदमले भुटानसँग भारतसहित बाहिरी विश्वको सम्बन्ध चिसिएर जाने पनि बताएको थिएँ । तर, गृहमन्त्री स्वयंले यस्ता कुरामा नअल्झनु राम्रो भन्दै बरु १० करोड रुपैयाँ लिएर घर फर्कनका लागि भनेर ठाडै अफर गरेका थिए । मैले अचम्ममा पर्दै त्यसरी भुटानले चालेको गैरन्यायिक र अधिकारविरोधी कदमको यस्तो प्रलोभनयुक्त सट्टाभर्ना अर्को गलत कदम रहेको जिकिर गरेको थिएँ । नेपाली जाति र भाषाका पक्षमा अधिकारको कुरा उठाउन आएको आफूले पैसा लिन नमिल्ने र नसकिने अडान राख्दै म भारत फर्किएको थिएँ ।’

आफ्नै नागरिकमाथि थिचोमिचो र जातीय सफायाका बारेमा कोही कसैले नलेखोस्, नबोलोस् भनेर भुटानले भारतकै कालिम्पोङ र सिलिगुडीका कतिपय प्रभावशाली व्यक्तिलाई थिम्पु बोलाएर लाख–लाखका बिटा दिने गरेको पनि तत्कालीन विधायक दुखुनले थाहा पाएका रहेछन् । पश्चिम बंगाल विधानसभामा आफ्ना केही विधायक र पार्टीगत समूहमा भुटानी दुर्नियतका बारेमा कुरा भए पनि यो सरोकारलाई धेरैजसोले ‘सीमित जातीय तथा भाषिक मामिला’ भनेकाले खासै उठाउन नसकिएको पनि दुखुनले स्विकारे । ‘आफैंले बेहोरेको त्यो थिम्पु अनुभवबारे म अहिले लेख्दै छु, भुटानले बाहिरी जगत्मा त्यसै गरी बहकाएर र फकाएर आफ्नो काम फत्ते गरिछाडेको थिएछ भनेर पछि मात्रै थाहा भयो,’ अहिले पार्टी राजनीति छाडेर साहित्य लेखनमा लागेका दुखुनले सुनाए ।

‘कन्स्पिरेसी थ्यौरी’

आफ्नो ठाउँठेगाना काभ्रेको फूलबारी देखाउने एक तामाङ तन्नेरी तीन वर्षअघि अमेरिका पुगेका रहेछन् । उनले यस पटक आफ्ना बाबुलाई अमेरिका घुमाउने रहर गर्दै ‘स्पोन्सर’ सहितका अरू कागजी प्रक्रिया अघि बढाए । दुई महिनाअघि मात्रै भिसाका लागि अमेरिकी दूतावास पुग्दा बाबु चाहिँलाई सोधिएको रहेछ, ‘तपाईंको छोरा कसरी अमेरिका गयो ? कुन भिसामा, कहिले ?’

सामान्य खेतीकिसानी गर्ने बाबुले हौसिँदै जवाफ दिएका रहेछन्, ‘त्यही भुटानी शरणार्थी भएर छोरो अमेरिका पुगिहाल्यो नि !’

त्यसपछि अरू केही सोध्नैपरेन । दूतावासका कर्मचारी, सुरक्षाकर्मीले शिष्टतापूर्वक यी बाबुलाई फूलबारी घर फिर्ता पठाएछन् ।

यसरी, नक्कली भुटानी शरणार्थीको गिरोहको उत्खनन र सरोकारमा अमेरिकाले साथ दिएको, एफबीआई नै लागेको भन्दै अनेक खालका ‘कन्स्पिरेसी थ्यौरी’ जन्मिरहेका बेला के सक्कली, के नक्कलीका अनेक खाता खुल्ने क्रम जारी छ । अहिलेसम्म नेपालीलाई भुटानी शरणार्थी बनाइएको सूचना र यसैको हिसाबकिताब मात्रै बाहिर आइरहेको छ । अबको चरणमा पश्चिम बंगालका दार्जिलिङ, जलपाइगुडी, खालपाडा, नक्सलबारी, मङ्पु हुँदै सिक्किमको जोरथाङसम्मका भारतीय आम–आदमी (कम्तीमा २ सयजति) लाई समेत भुटानी शरणार्थी बनाउने र अमेरिका उडाउने प्रपञ्चमा इटहरीको गोकुलम्सम्म ल्याइएको रहेछ भन्ने भेद बाहिर आएपछि फेरि अर्को कन्स्पिरेसी थ्यौरी प्रतिपादन भैजाला कि ? अथवा, यो गिरोहको बहुराष्ट्रिय पहुँचबारे अर्को अनुसन्धान पनि अघि बढ्ला ?

यस्ता जिज्ञासाहरू अनन्त छन् । अनेक जिज्ञासा, कुतूहल र सन्देह लिएरै बेलडाँगी शिविरभित्रको ‘लिटरेरी सोसाइटी अफ भुटान’ को सानो पुस्तकालयमा हालै केही शरणार्थी (नाम–नामेसी खुलेका र नखुलेका) आफ्नो मनको कुरा सुनाइछाड्न भेला भएका थिए । कोही आवेशमा थिए, कोही निराश–उदास पनि देखिन्थे । सारमा के सक्कली, के नक्कलीको बहस भैरहेको थियो । अधिकारवादी नेता डा. भम्पा राईका अनुयायीसमेत रहेका कवि विरेन मगरले भीडमा सुनाए-

रासन थिएन, हामी भोकै थियौं

तिनीहरू आए, हामीलाई रासन दिलाए

हामी झन्झन् भोकै भयौं-

रासन नहुँदा हाम्रो पेट खाली थियो,

रासन लिएपछि दिमाग खाली भयो ।

Published on: 2 August 2023 | Kantipur

Link

Back to list

;