s

सरल कर्जाप्रति आकर्षण बढ्दो

सीता शर्मा
 
सरकारले विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले आह्वान गरेको सरल कर्जाप्रति युवा आकर्षण बढेको छ । वैदेशिक रोजगार विदेशबाट फर्किएका युवाले स्वदेशमा रोजगार बन्न दस लाख रुपियाँसम्म सरल कर्जा लिनसक्ने गरी प्रवद्र्धन बोर्डले गत मङ्सिर ६ गते आह्वान गरेको आवेदनप्रति युवाको आकर्षण बढेको हो । 
 
विदेशमा आर्जन गरेको सीप, ज्ञान र दक्षता प्रयोग गरेर स्वदेशमै स्वरोजगार बन्न चाहने युवाका लागि सरकारले दस लाख रुपियाँसम्म सरल कर्जाका लागि सूचीकरणका लागि आह्वान गरेको हो । त्यस अनुसार पुस १५ गतेसम्म चार हजार ४७० युवाले उक्त कर्जाका लागि आवेदन दिएको बोर्ड सचिवालयले जनाएको छ । 
 
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई स्वदेश फर्की पेसा व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५÷७६ मा दस लाख रुपियाँसम्म सरल कर्जा प्रदान गर्ने गरी आवेदन मागेको जानकारी दिनुभयो । 
 
उहाँका अनुसार सरल कर्जा प्राप्त गर्न श्रम स्वीकृति लिई वा नलिई कुनै पनि देशमा कम्तीमा छ महिनासम्म सम्बन्धित तालिम पेसा र व्यवसायको क्षेत्रमा काम गरी स्वदेश फर्किएको तीन वर्ष ननाघेको हुनुपर्नेछ । विदेशको आवासीय अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले सरल कर्जा कार्यक्रममा सहभागी हुन नपाउने बोर्डले जनाएको छ । उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी आवेदन फाराम बुझाउनुपर्ने र कर्जा भुक्तानी अवधि पाँच वर्षको रहेको बोर्डले जनाएको छ । 
 
सरकारले आव २०७५÷७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित दस लाख रुपियाँसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । 
 
कर्जाको दुरुपयोग गरेमा वा समय सीमाभित्र कर्जा भुक्तानी नगरेमा ऋणीको नाममा रहेको कुनै पनि चल अचल सम्पत्ति बिक्री गर्न बन्देज लगाउनुका साथै बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्न र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षालगायत अन्य नागरिक सुविधाबाट वञ्चित गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।
 
Published on: 31 December 2018 । Gorkhapatra

Back to list

;