s

सप्तरीबाट ५० श्रमिकलाई उद्धार गरी घर पठाइयो

लकडाउनका कारण सप्तरी खण्डमा पर्ने पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकलाई उद्धार गरेर घर पठाइएको छ । विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकलाई उद्धार गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए । 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गत मंगलबारदेखि देशभरि लकडाउन गरेको छ। लकडाउनका कारण यातायात बन्द भएपछि श्रमिक अलपत्र परेका थिए । मोरङ, सुनसरी र सप्तरीको विभिन्न कारखानामा कार्यरत मजदुर यातायात नपाउँदा घरका लागि पैदल नै हिँडेका थिए । उनीहरूलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरेको हो ।

पैदल हिँडिरहेका श्रमिकलाई खाजा खुवाएर सर्लाहीको लालबन्दीसम्म पठाइएको प्रसाईंले बताए । उद्धार गरिएकामा सर्लाहीका ३८, रौतहट, बारा र सिराहाका चार–चारजना छन् । 

सरकारले ‘लकडाउन’ गरेपछि र कारखाना बन्द भएपछि खाद्यान्न अभावमा समस्यामा परेर घरका लागि पैदल नै हिँडेका श्रमिकलाई सडकमा फेला पारेपछि कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकासँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाइएकाे हाे । 

गृह मन्त्रालयको अनुमतिमा ना.१क ६२६७ नम्बरको टिपरलाई पास उपलब्ध गराएर श्रमिकलाई सर्लाहीको लालबन्दी जानका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए

Published on: 29 March 2020 | Nayapatrika

Link

Back to list

;