s

सपना सीए, विपना— थाहा छैन

देवेन्द्र भट्टराई

दुई साताअघि चार्टर्ड एकाउन्टेन्ट (सीए) पढाइको अन्तिम नतिजामा ३ दसमलव ११ प्रतिशत विद्यार्थीमात्रै उर्त्तीण भएपछि सीए अध्ययनरत नेपाली विद्यार्थीको जमात आश्चर्यमा डुबेको थियो । लक्ष्मीनगर क्षेत्रमा सीए अध्ययनरत विद्यार्थीहरू आ-आफ्ना मनका गुम्फनहरू फेसबुक र ट्विटरमा पोख्न तल्लिन थिए, विस्मयबोधक चिन्हसहित । सीएको सबै तहमा रहेका ३२ हजार विद्यार्थीमा १२ हजारभन्दा बढी नेपाली विद्यार्थी छन्, जो लक्ष्मीनगर क्षेत्रमा अस्थायी वासिन्दा बनेर आफ्ना सपना हुर्काउनमा तल्लिन छन् । नेपाली गाउँघर वा सहरमा रहेका आफन्तजनका सपनामा जोडिएर चार्टर्ड एकाउन्टेन्ट बन्न आएका हजारौं विद्यार्थीका निम्ति '३ प्रतिशत उर्त्तीण'को भूतले यसरी तर्साएको छ, जो अझै होशमा फिरिसकेका छैनन् ।

धेरैलाई यो हिसाब-किताब थाहा छैन— उच्च माविको पढाइपछि सीए बन्ने सपना लिएर लक्ष्मीनगर आउने विद्यार्थीले मासिक औसतमा १० हजार भारु खर्च गरिरहेका छन् । यो हिसाबले १२ हजार विद्यार्थीको वाषिर्क खर्चमात्रै झन्डै २ अर्ब रुपैयाँ हुने गरेको छ । यसरी तथ्य-तथ्यांकमा सीए विद्यार्थीको पढाइमार्फत अबौर्ं नेपाली रुपैयाँ बाहिरिने विषय समाचार बन्नसक्ने भए पनि यी विद्यार्थीले बेहोरेको पीडा र मनोदशाको हिसाब-किताब भने यहाँ नसोचेको सूचांकमा आउन सक्छ । अर्को 'नसोचेको परिणाम' पनि लक्ष्मीनगरका विद्यार्थीमाझ छँदैछ, यो वर्ष ५ जना सीए प्रत्याशी विद्यार्थीले कारण नखुलेकै अवस्थामा आत्महत्या गरेका छन् । केही विद्यार्थी आफ्नो पढाइ र नतिजामा निराश बनेर घर फिरेका छन् भने लक्ष्मीनगरमा चुरोट/खैनीको अम्मली बढ्नेहरूका बारे स्वयम् विद्यार्थीका अगुवा बन्नेहरूले सम्झाइ-बुझाइ अभियान थालिरहेका छन् । ३ सयभन्दा बढी ट्युसन सेन्टर रहेको लक्ष्मीनगर क्षेत्रमा कसैले कसैको गतिविधिमा निगरानी गर्न असम्भव रहेको स्थानीय विद्यार्थी स्वयम् बताउँछन् ।

सीए अध्ययनरत विद्यार्थी विमल अधिकारीका अनुसार भारतमा चार्टर्ड एकाउन्टेन्ट पढाइ पुरा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गराउन सकिन्छ भन्ने बुझाइ धेरैमा छ । भारतमा ६३ औं वर्षगाँठ मनाइसकेको सीए विषयको अध्ययन-अध्यापनले यो अवधिमा अन्तर्राष्ट्रिय मान्यता र स्तरीकरणको प्रशस्तै अभ्यास गरेको छ, तर नेपालमा १८ वर्षको इतिहास रहेको सीए विषयले अझै केही मुलुक बाहेकमा मान्यता जुटाउनसकेको छैन । नेपालको सीए पढाइलाई भारतमै समेत मान्यता नदिएको अवस्थाका अगाडि आफूलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गराउन पनि नेपाली विद्यार्थी भारत आउने गरेको विमलको बुझाइ छ । नेपालमा आइक्यान बोर्ड अन्तर्गत सीए अध्ययन तथा परीक्षाको प्रबन्ध भए पनि नेपालको पढाइलाई अष्ट्रेलिया, सिंगापुरजस्ता केही मुलुकले मात्रै मान्यता दिएका छन् ।

'नेपालको पढाइलाई अन्तर्राष्ट्रिय बजारमा मान्यता दिलाउने र नेपालमै हामीले पढ्ने अवसर पाउने हो भने यहाँसम्म आएर अनेक मानसिक र आर्थिक तनाव बेहोर्नैपर्ने थिएन,' सीए अन्तिम वर्षमा अध्ययनरत प्रवेश आचार्य भन्छन्— 'तर हामी भने अरुलाई दोष देखाएरै आफ्नो समय र अवसर गुमाइरहेका छौं ।' लक्ष्मीनगर क्षेत्रमा बढेको विकृति र नेपाली विद्यार्थीमाझ बढ्दो नैराश्यताबारे   अहिलेसम्म कसैले विचार नगरेको प्रवेशको भनाइ छ ।

केही अघि झन्डै ५ वर्षको लगातारको खर्च र मिहिनेतपछि चार्टर्ड एकाउन्टेट -सीए) उर्त्तीण गर्न सफल एक दर्जनभन्दा बढी नेपाली विद्यार्थीले लक्ष्मीनगरमा आयोजित एक समारोहको खबर पनि उत्तिकै निराशाजन्य थियो । 'सीए पढ्नका लागि यता नआउनु भनेर तपाईको मिडियामार्फत खबर लगिदिनुस् है । ५ वर्षको पढाइ अवधिमा झन्डै १० लाख भारु खर्च भएको छ,' बाँके घर भएका सुवास पौडेलको भोगाइ थियो— 'तर अहिले न यता जागिर पाइन्छ, नत नेपाल गएरै केही हुनसक्ने अवस्था छ ।' उनका अनुसार भारतीय चार्टर्ड एकाउन्टेन्ट कोर्सको संसारभर मान्यता छ भने नेपालको पढाइको त्यो स्थान छैन । फेरि सीए उर्त्तीण भएर नेपाल गए पनि नेपाल बोर्ड -आइक्यान) बाट कर र कानुनसम्बन्धी ३ वटा पेपर परीक्षा दिएपछि मात्रै यताको पढाइले मान्यता पाउन सक्छ । 'तर हामीजस्ता डिग्री हातमा लिएर पनि काम नपाइरहेका सीए जनशक्तिको संख्या नेपालमा ६ सयभन्दा बढी छ,' धनगढीका अर्का सफल सीए सरोज पन्तको गुनासो थियो ।

काठमाडौं धोबीघाटवासी पल्लवी यादव पनि सीए पढाइमा लक्ष्मीनगर आएको दुई वर्ष भैसकेको छ । यस बीचमा यो विषयमा बढेको प्रतिस्पर्धा र बढ्दो विद्यार्थीको संख्या हेरेर उनी पनि अत्तालिने गर्छिन् । 'नेपालको पढाइलाई बाहिर मान्यता छैन,' उनी भन्छिन्— 'एकातर्फ मान्यता भएको पढाइ गर्न र अर्कातिर अलिक दक्षतायुक्त ज्ञान लिन म आएकी हुँ ।' उनले भने पढाइ पुरा भएपछि नेपालमै गएर कामको खोजी गर्ने योजना बनाएकी छिन् ।  

पल्लवीजस्तै भविष्यको योजनामा ढुक्क बन्न नसकिरहेका इटहरीका पदम थापा पनि भर्खरै सीए उर्त्तीण सफल विद्यार्थी हुन् । 'यति खर्च र मिहिनेत गरेर पढियो, तर अहिले आएर अब के गर्ने होला भन्ने भैरहेको छ,' पदमले भने । भारतीय कम्पनीहरूमा काम पाइगए पनि मासिक २५ हजार रुपैयाँभन्दा बढीको काम फेला नपर्ने र लामो समय प्रशिक्षण कालमा बिताउनुपर्ने कठिनाइ पनि यी विद्यार्थीसामु छ । त्यसमाथि नेपालमा झन्डै ८ हजार 'रजिष्टर्ड अडिटर'ले लेखापरीक्षणको बजार ओगटिरहेका बेला यो प्राक्टिसलाई तुरुन्त हटाएमा मात्रै शैक्षिक रूपमा सक्षम जनशक्तिले काम पाउन सक्ने सीए उर्त्तीणहरूको भनाइ र बुझाइ छ ।

लक्ष्मीनगरमा नेपाली विद्यार्थीको बढ्दो चाप देखेर व्यावसायिक अर्थमा आफ्नो केन्द्र -ट्युसन) विस्तार गरेको प्राइम सीएका प्रबन्धक गोविन्द पोखरेलका बुझाइमा ठूला सपना देखाएर मात्रै भारतमा नेपाली सीए विद्यार्थी तानिरहनुको उति अर्थ हुँदैन । सीए विद्यार्थीका निम्ति लक्ष्मीनगरमा मात्रै ३ हजारभन्दा बढी ट्युसन/कोचिङ केन्द्र रहेका छन् । 'यहाँ आएको पहिलो महिनामै १ लाख भारु तत्काल खर्च हुने गर्छ,' उनले भने— 'अरु तनाव र समस्याबारे पनि सुरुमै अवगत हुनु राम्रो हुन्छ ।'

सीए विद्यार्थीको समस्या बुझ्ने नाममा कहिले अर्थमन्त्री शंकर कोइराला, कहिले माओवादी नेता सीपी गजुरेलसम्म लक्ष्मीनगर सीए जगतमा पुगिरहन्छन् । तर विद्यार्थीको समस्या, चासो र चिन्ताभन्दा बढी आफ्नै राजनीतिको डम्फु बजाएर उनीहरू पाखा लाग्छन् । विद्यार्थी प्रतिनिधि विमल अधिकारीका बुझाइमा, अबका दिनमा भने सीए पढ्न भनेर लक्ष्मीनगरमा छोराछोरी पठाउने बाबुआमाले यताको बिग्रँदो शैक्षिक र सामाजिक वातावरणबारे पनि ध्यान दिनु बुद्धिमानी हुनेछ । यहाँ बढेको दुव्र्यसन, असामाजिक स्थिति र विग्रहका माझ छोराछोरी राम्रैगरी पढाइमा जुटेका छन् अथवा अरु नै कुलतको बाटोमा हिँड्दैछन्— बुझबुझारथ गर्नु उपयुक्त हुनेछ । काठमाडौं वा नेपालका अन्य गाउँ-सहरमा बसेर छोराछोरी पढाउन पैसामात्रै पठाइरहने तर अरु वस्तुस्थिति नबुझ्ने हो भने देखेको सपनाको उपलब्धि पनि शैक्षिक नतिजाजस्तै ३ प्रतिशतमा सीमित हुनेछ । यो लक्ष्मीनगरवासी नेपाली विद्यार्थीको सुझावसमेत हो ।

Published on: 5 February 2014 | Kantipur

Back to list

;