s

सानो सहयोगले दिएको खुसी

गएको महिना देशैभरि कम्पन छुट्नेगरी आएको भूकम्पले नेपालीहरूको घरमात्र हल्लाएन, विदेशमा बस्ने नेपालीहरुको मन पनि हल्लायो। अध्ययन, रोजगारी वा अन्य सिलसिलामा विदेश पुगेकाहरूले गाउँमा रहेका आफ्ना घर सम्झे, बास सम्झे अनि आफन्त सम्झे। यतिले मात्र पुगेन, उनीहरूले कहिले नदेखेका/नचिनेका गाउँ र बस्तीका अन्जान भूकम्प प्रभावितहरूलाई पनि सम्भि्कए। केहीले उनीहरूका लागि गाँस पठाए, केहीले ओत लाग्ने ठाउँको जोहो गरिदिए। केही भने विदेशको बिन्दास जिन्दगी छोडेर स्वदेश उडे।

सुख छोडेर पीडा छाम्दै

पेसाले इन्जिनियर, गोरखाका भुवन पोखरेल पछिल्लो चार वर्षदेखि फिनल्यान्डको राजधानी हेलसिन्कीमा पढ्दै , काम र व्यवसाय गर्दै आइरहेका छन्। गत वैशाख १२ गते उनकै जिल्लालाई केन्द्रबिन्दु पारेर ठूलो भूकम्प आयो। केन्द्रबिन्दु बारपाक नजिकै रहेको उनको घरसँगै गाउँका अधिकांश घर लडे। भाग्यवश, उनको परिवार सुरक्षित नै थिए। यो खबर सुन्नासाथ उनी सक्दो चाँडो नेपाल आउन चाहन्थे। त्यसपछि, उनले आफूले काम गर्ने ठाउँमा बिदा माग्दै इमेल लेखे। उनको बिदा स्वीकृत भयो। ‘बिदा नपाएको भए पनि म काम छोडेर आउँथेँ,' उनले सुनाए। लामो प्रयासपछि अन्ततः १० दिनमा उनी नेपाल आउन पाए।

नेपाल आउँदा उनी एक्लै आएनन्। उनीसँगै एक जना चिकित्सक, पाँच जना नर्ससहित ११ जनाको टोली नेपाल आयो। आफ्नै गृह जिल्ला जाऊँ कि अन्य कुनै प्रभावित स्थानमा? उनी दोधारमा परे। ‘तिमी राम्रो काम गर्न आएका छौ, अरूलाई सहयोग गर। हामी हाम्रो घर त आफैं पनि बनाउन सक्छौं,' बुवाले यसो भनेपछि उनलाई अलिकति ढाडस मिल्यो।

फिनल्यान्डमा बसिरहेका गैरआवासीय नेपाली (एनआरएन) हरूसँग सम्पर्क गरेर कहाँकहाँ सहयोग गर्न सकिन्छ भनी उनले छलफल गरे। सुरुमा सिन्धुपाल्चोकमा मेडिकल क्याम्प सुरु गरे। सँगसँगै, ठूलो सिरुबारी गाउँका दुई सयभन्दा धेरै घर–परिवारलाई खाद्यान्न र त्रिपाल बाँडे। पहिला कुनै पनि संस्थासँग मिलेर काम नगर्ने भनेपनि पछि ‘टिच फर नेपाल'सँगको सहकार्यमा आफूहरुले सहयोग गर्न झन् सजिलो भएको उनी बताउँछन्। उनीहरूले सञ्चालन गरेको १५ दिन लामो स्वास्थ्य शिविर पनि सकियो। केही साथीहरू फिनल्यान्ड फर्किसकेका छन्। विभिन्न गाउँ पुगेर पाँच सयभन्दा धेरै परिवारलाई खाद्यान्न र पाल सहयोग गरे भने तीन सय भन्दा धेरैलाई प्राथमिक उपचार सहयोग पनि गरे।

गोरखा, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट पुग्दा उनीहरूले निकै वीभत्स दृश्य देखे। ‘यस्तो दृश्य देखेपछि आफू खेलेको हुर्केको घर भत्केको पनि बिसर्ें,' पोखरेलले अनुभव सुनाए, ‘फिनल्यान्डमा सुकिलो–मुकिलो भएर बसेकालाई केही दिनमै दालमोठ र चिउराको भरमा हिँड्नुपर्योस।' आफ्नै टोलीका सदस्यलाई नै सम्झाउन गाह्रो हुने अवस्थाका पुगे पनि उद्देश्यमा सफल हुन सकेको उनी बताउँछन्।

स्वास्थ्य शिविर र राहत वितरणपछि अहिले उनी ‘ट्रमा रिलिफ'मा लागिरहेका छन्। विद्यालय खुल्ने मिति नजिकिँदै जाँदा गोरखा र मकवानपुरका एक सयभन्दा धेरै विद्यालयका शिक्षकलाई बालबालिकाको मनबाट भूकम्पको त्रास हटाउनेबारे कार्यशाला गरिहेका छन्। यसका लागि परामर्श दिन लेबनानका प्राध्यापक पनि उनैले बोलाए।

यति सबै गरिसक्दा उनले के पाए त? ‘जतिलाई सहयोग गर्यौंभ, सबै बूढापाकाले खुसी भएर आशीर्वाद दिनुभयो,' पोखरेल सन्तुष्ट छन्, ‘आफूले सक्ने सहयोग गर्न पाएकोमा निकै खुसी छु, यसले मलाई आत्मसन्तुष्टि दिएको छ।'

नवाङ योन्तेन ग्याछो शेर्पा लन्डनको नाइट्स ब्रिजमा बस्छन्। भूकम्प गएको बेला उनी उतै थिए। परिवारका सदस्यलाई केही नभए पनि उनी नेपाल आउनलाई छटपटाइरहे। यो विपत्को बेला नेपाल रित्तै कसरी जानु? बेलायतमा रहेको शेर्पा समुदायबाट रकम संकलन गरी शेर्पा संघ बेलायतको प्रतिनिधित्व गर्दै भूकम्पको दसौं दिनमा उनी नेपाल आइपुगे। बेलायतमात्र होइन, अन्य देशमा रहेका आफ्ना समुदायका संघसंस्था र सहयोगीमार्फत संकलित रकम सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, रामेछाप, ओखलढुंगा, खोटाङ लगायतका जिल्लामा तीन हजारभन्दा धेरै घर–परिवारलाई राहत वितरणमा प्रयोग गरे। केही बस्तीमा उनले व्यक्तिगत रूपमा पनि राहत बाँडे।

भूकम्पअघि पनि विभिन्न समयमा सामाजिक अभियानमा लागेका शेर्पा यो विपत्को समयमा सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँछन्। ‘सहयोग पाउँदा पीडितको अनुहारमा जुन खुसी देखिन्थ्यो त्यसले अझ केही गर्न प्रेरित गर्थ्यो,' उनले भने, ‘तर पनि अझै धेरैको अवस्था नाजुक छ। त्यो देख्दा भने मन दुखेर आउँछ।' वर्षाको मौसम सुरु हुन लागेकाले अबको प्राथमिकता विद्यालय र घरको पुनःनिर्माण हुनुपर्ने उनको सुझाव छ।

घर बनाउँदै तन्नेरीहरू

जर्मनीमा रहेका काभ्रेका सुमन लामिछानेले भूकम्पपछि देशमा धेरैले पैसा पठाएर सहयोग गरेको देखे। धेरैले आफ्नो टिकटको रकम नेपाल पठाएको सुने। देशमा यस्तो विपत् आइलागेको बेला विदेशमा बसिरहन उनको मनले मानेन। त्यहाँ काम र पढाइ दुवै छोडेर भूकम्प गएको तेस्रो दिन नेपाल आइपुगे। धेरै युवा विदेसिएको बस्तीमा बूढाबूढी र बालबालिकालाई नैतिक रूपमा सहयोग गर्न भए पनि उपस्थित हुनुपर्छ भन्ने लागेर नेपाल फर्किएको उनी बताउँछन्। ‘निराश भएका बूढाबूढीहरू आफूजस्ता युवाहरूलाई देखेपछि निकै खुसी र आशावादी बनेका छन्,' उनले भने, ‘सानो सहयोगबाट पनि ठूलो खुसी मिल्दो रहेछ।'

नेपाल आइसकेपछि पनि के गर्ने, कसरी गर्ने र कहाँबाट सुरु गर्ने भन्ने दुविधा रहिरह्यो। दर्जनौं जिल्ला प्रभावित भएको अवस्थामा कसरी सहयोग गर्ने भन्ने ठूलो समस्या थियो। ‘सुरुमा त अलमलिएको थिएँ,' उनले सम्भि्कए, ‘अन्ततः आफू खेलिहुर्केको ठाउँदेखि नै सुरु गरौं भनेर काभ्रेका तीन गाउँमा टेन्ट र स्लिपिङ ब्याग बाँडेको थिएँ।' पछि जर्मनीबाट साथीहरूले ८० परिवारलाई पुग्ने किट पठाइदिए। किटमा फर्स्ट एड बक्स, त्रिपाल, बालबालिकाको लागि चकलेट थियो। जर्मनीमा आफूले काम गर्ने क्याफेमार्फत पनि ५० हजार रुपैंयाँ उठाएर उनी नेपाल आएका थिए। यसबाट हौसिएका उनले साथीहरूसँग मिलेर फेसबुक ग्रुप बनाए र जर्मनीको बैंकमा खाता पनि खोले। अहिले उनको त्यो ग्रुपमा तीन सयभन्दा धेरै सदस्य छन्। पारदर्शिताका लागि संकलन भएको रकम र खर्चको फेहरिस्त पनि छ।

सुरुमा एक्लै सहयोगका लागि हौसिएका उनले अहिले चार जना युवाको साथ पाएका छन्। धेरै सहयोगी खाद्यान्न सहयोगमा लागेकाले उनीहरूको जोड आवास निर्माणमा छ। ‘अहिलेसम्म काभ्रेमा ४० वटा टहरा बनाइसक्यौं। थप ७० बन्डल जस्तापाता किनेका छौं,' उनले थपे, ‘त्यो यो साताभित्र बाँडिसक्नेछौं।' जस्तापाता किन्दा आफूले करबापत नै डेढ लाख रुपैयाँ तिर्नुपरेको उनले बताए। ‘यस्तो संकटको अवस्थामा कर छुट गरेको भए त्यो रकमले थप १५ परिवारका लागि जस्तापाता उपलब्ध गराउन सकिन्थ्यो,' सरकारप्रति उनको गुनासो पनि छ।

उनी यतिखेर काभ्रेका तामाङ समुदाय र बस्तीहरूमा केन्द्रित छन्। अहिलेसम्म खातामा १९ लाख रुपैयाँ संकलन भइसकेको छ। सात लाख जस्तापातामा खर्च गरेपछि बाँकी रकमले स्थायी रूपमै समुदायमा आधारित परियोजनामा काम गर्नेबारे उनीहरूको सोच छ। ‘सरकारी विद्यालयको शौचालय र सरसफाइमा ध्यान दिने कि विद्यालय पुनःनिर्माण गर्ने भनेरे फेसबुक ग्रुपमा छलफल भइरहेको छ,' लामिछाने थप्छन्, ‘अब म एक महिना यहीँ बसेर काम गर्छु। विदेशी स्वयंसेवीहरू पनि नेपाल आएर सँगै काम गर्न चाहिरहेका छन्।'

त्यसो त, लामिछानेको आफ्नै घर पनि भत्किएको छ। आफ्नो परिवार सानो घर बनाउन सक्षम भएकाले अरूलाई सहयोग गर्न लागेको उनी सुनाउँछन्।

भूकम्पले ध्वस्त भक्तपुरको गुन्डु गाउँले पनि छ जना तन्नेरीको साथ पाएको छ। उनीहरू दिनदिनै गुन्डु पुग्छन्, बाँस र जस्तापाताको प्रयोग गरेर घर बनाउन सहयोग गर्छन्। उनीहरूको समूहमा बिदाको दिन अरू युवा पनि जोडिन्छन्। यो संख्या २५ जनासम्म पुग्छ। निरज कार्कीको संयोजनमा भइरहेको यो टोलीले अहिलेसम्म नौ वटा परिवारका लागि घर बनाइसकेको छ। गुन्डुमै आठ वटा र त्योभन्दा तल रहेको नेवार बस्तीमा सात वटा घर बनाउन बाँकी रहेको उनले बताए। ‘नेपालमा भूकम्पपछि धेरै जना घरविहीन भएका छन्। ठूलो काम गर्न नसकेपछि साथीहरू मिलेर केही रकम जुटाउँदै घर बनाउनेतिर लाग्यौं,' कार्की सुुनाउँछन्।

टोलीका अर्का सदस्य निश्चल ओली गुन्डुमै ५० भन्दा धेरै घर भत्किएको र वर्षायाम सुरु हुन लागेकाले ओत लाग्ने ठाउँको निर्माणमा जुटेको बताउँछन्। ‘उनीहरूलाई अस्थायी भए पनि बस्न सजिलो हुने आवास चाहिन्छ,' उनी भन्छन्। यो स्वयंसेवी टोलीले घरको संरचना र छाना निर्माण गरेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिदिन्छ। त्यसपछि परिवारका सदस्य आफैंले माटोको भित्ता बनाउँछन्।

आफूलाई कुनै संस्थाले सहयोग नगरेकाले विदेशमा रहेका साथीहरूबाट रकम जुटाएको टोलीकै प्रविज्ञा बस्नेत बताउँछिन्। ‘त्यही रकमबाट बाँस, डोरी, जस्तापाता खरिद गर्यौंल,' उनले भनिन्।

भूकम्प आउनुअघि उनी पर्यटन क्षेत्रमा काम गर्थिन्। उनको टोलीले साथीभाइ र आफन्तको सहयोगबाट नौ लाख रुपैयाँ संकलन गरिसकेको छ। भूकम्प जानासाथ आफू राहत र खाद्यान्न वितरणतिर लागेको भए पनि बिस्तारै आवास निर्माणमै लाग्ने उनी सुनाउँछिन्। ‘वर्षायाममा घर भएन भने झनै समस्या हुने भएकाले त्यसतर्फ पनि थप काम गर्ने योजना छ,' उनी भन्छिन्, ‘सबै गुमाएकाहरूका लागि आफ्नो सानो प्रयासले केही सहयोग गर्न सकेमा निकै खुसी लागेको छ।'

Published on: 30 May 2015 | Nagarik
 

Back to list

;