s

संकटमा मलेसिया रोजगार

तुलसीराम सुवेदी 
 
काठमाडौः कुनै बेला वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको मलेसिया रोजगार संकटमा पर्न थालेको छ । मलेसिया सरकारले कामदारको ढाड सेकिनेगरी विभिन्न बहानामा भिसा प्रक्रियामै १५ हजार रुपैयाँ शुल्क लाग्ने बनाएपछि व्यवसायी र कामदार अन्योलमा परेका हुन् । व्यवसायीले शुल्क बढाएको भन्दै बिहीबारदेखि राहदानी नपठाउने निर्णयसमेत गरेका छन् ।
 
मलेसियाले ओएसी, भीएलएन, बायोमेट्रिक र माईग्राम्सको नाममा कामदारबाट अधिक शुल्क असुल गरेकाले मलेसियामा कामदार पठाउन समस्या परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद खनाल बताउँछन् । ‘१५ हजार प्रक्रियामै बुझाउनुपर्यो भने को जान्छ मलेसिया’, उनले भने, ‘फेरि यति धेरै खर्च गरेर भिसा आउने/नआउने टुंगो नै हुँदैन ।’
 
मलेसियाले वान स्टेप सेन्टर (ओएससी) नामक संस्थामार्फत राहदानी प्रवेशाज्ञा प्रक्रियाका लागि थप दुई हजार आठ सय रुपैयाँ अतिरिक्त शुल्क उठाउन थालेको छ । यसअघि उक्त प्रक्रियाका लागि सात सय रुपैयाँमात्र तिरे पुग्थ्यो ।
 
त्यस्तै दुई वर्षअघि भीएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र संकलन गर्न भन्दै तीन हजार दुई सय थप बढाएर तीन हजार नौ सय रुपैयाँ असुलिरहेको छ ।
 
मलेसिया सरकारले कामदारको ढाड सेकिनेगरी विभिन्न बहानामा भिसा प्रक्रियामै १५ हजार रुपैयाँ शुल्क लाग्ने बनाएपछि व्यवसायी र कामदार अन्योलमा परेका छन् ।
 
यसैगरी मलेसियाले बायोमेट्रिक प्रणालीको नाममा कामदारबाट अधिक शुल्क असुल गरिरहेको छ । मलेसियाले नेपालका ३९ वटा संस्थामार्फत कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
 
मलेसियाले भिसा प्रक्रिया महँगो बनाएपछि व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले शुक्रबार श्रममन्त्री तथा सचिवसँग भेट गरी उचित निर्णय लिन ध्यानाकर्षण गराएको प्रथम उपाध्यक्ष खनालले बताए ।
 
संघका महासचिव रोहन गुरुङले ओएससी, भीएलएन, बायोमेट्रिक र माईग्राम्स खारेज नभए कामदार नपठाउने बताएका छन् । ‘जबसम्म सरकारले निर्णय गर्दैन, तबसम्म हामी कामदार पठाउँदैनौं’, उनले भने ।
 
सरकारले गत असारदेखि फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेको छ तर व्यवसायीले मलेसिया पठाउन लाखभन्दा बढी असुल गर्दै आएका छन् ।
 
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ मा दुई लाख १४ हजार एक सय ४९ जना मलेसिया पुगेका थिए । आर्थिक वर्ष २०७२/७३ मा ६० हजार नौ सय ७९ जना कामदारमात्र मलेसिया पुगेका छन् ।
 
Published on: 22 September 2016 | Annapurna Post

Back to list

;