s

संघ अध्यक्ष गुरुङको टोली अमेरिकी राष्ट्रपतिको मैत्रीपूर्ण कार्यक्रममा सहभागी, क्यानडा रोजगारीबारे छलफल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले क्यानडामा नेपाली कामदारको सम्भावनाबारे गम्भीर छलफल भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटरहरुद्वारा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजित मैत्रीपूर्ण कार्यक्रममा सहभागी हुने क्रममा क्यानडाका सांसद बब जिम्मरसँग ‘साइड लाइन’ छलफल समेत भएको थियो ।  उक्त वार्तामा क्यानडामा नेपाली कामदारको रोजगारी सम्भावनाबारे छलफल भएको मध्यान्हलार्ई टेलिफोनमार्फत अध्यक्ष गुरुङले बताएका हुन् ।
 
हाल अमेरिका भ्रमणमा रहेका गुरुङ सोमबार स्वदेश फर्किदैछन् । अध्यक्ष गुरुङले नेपाली दक्ष तथा अर्धदक्ष कामदारलाई क्यानडाको श्रम बजारसम्म पु¥याउन पहल क्यानडियन पार्लियामेन्टका सदस्य जिम्मरसँग गम्भीर र फलदायी छलफल गरेको बताए । उक्त मैत्रीपूर्ण कार्यक्रममा सहभागी हुन संघका अध्यक्ष गुरुङसहित संघका सल्लाहकार पदमराज पौडेल गत हप्ता त्यसतर्फ गएका थिए ।
क्यानडाका सांसद जिम्मरलगायतका उच्च अधिकारीहरुसँग भएको छलफलमा नेपालबाट अदक्ष तथा दक्ष कामदार लैजान क्यानडा सरकार सकारात्मक भएको तर परिणाम निस्कन केही समय लाग्ने गुरुङले बताए ।
 
क्यानडामा नेपालीलाई रोजगारी दिने विषयमा श्रम तथा रोजगार मन्त्रालय र संघसँग छलफल गर्ने विषयमा वातावरण बनेको बताउँदै अध्यक्ष गुरुङले यस विषयमा क्यानडेली दूतावासले पहल गर्नेे आश्वासन पाएको बताए । नेपाल सरकारले क्यानडामा नेपाली कामदारको रोजगार गन्तव्य हुनसक्ने भन्दै गन्तव्य सूचीमा राखेपनि नेपाली कामदार पठाउने वातावरण बनाउन ठोस निर्णय गर्न सकेको छैन । क्यानडामा ईन्जिनियर र डाक्टर जस्ता दक्ष सहित कृषि फार्महरुमा कामगर्ने अदक्ष सिजनल कामदारको माग उच्च रहेको छ ।
 
अमेरिकी राष्ट्रपति ट्रम्प तथा सिनेटरहरुले आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा विश्वका एक सय ३० राष्ट्रका विशिष्ट व्यक्तिहरु सहभागी थिए । उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सहभागी हुन पाउनु नै ठूलो विषय र उपलब्धी भन्दै अध्यक्ष गुरुङले बताए । उनले नेपालको बेरोजगारी समस्या नेपाल सरकारले नै समाधान गर्नु पर्ने भन्दै उक्त कार्यक्रमबाट नेपालको वैदेशिक रोजगारीमा देखिएका अव्यवस्था र अस्पष्टताको अन्त्य गर्न ऊर्जा मिलेको बताए ।
 
कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका सदैव विश्व शान्ति र स्वतन्त्रताको पक्षमा रहँदै आएको र विश्व समुदायमा देखिएको गरिबी र बेरोजगारी समस्या, खाद्यान्न अभाव र कुपोषणको अन्त्य गर्न विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु एकजुट हुन आग्रह गरेका थिए ।
 
यसैबीच, अध्यक्ष गुरुङले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओमएम) वाशिङटनका पार्टनर अफिसर युको हमादासँग भेट गरेका छन् । भेटका क्रममा उनले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा दक्षिण एसियाबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरुको न्यूनतम पारिश्रमिक र रिक्रुटिङ शूल्क फरक–फरक भएका कारण नेपालीको रोजगारी गुम्दै गएको विषयबारे ध्यानाकर्षण गराएको बताए ।
 
Published on: 11 February 2018 | Madhyanha

Back to list

;