s

संगठित मानव तस्करीका नाइके गौतम पक्राउ

काठमाडौँ — प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोले संगठित मानव तस्करीमा सक्रिय मुख्य व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार भैरहवाको नेपाल–भारत सीमावर्ती बजार बेल्हियाबाट मृदुल भनिने हस्त गौतम पक्राउ परेका हुन् ।

लामो समयदेखि खोजी सूचीमा रहेका अमेरिकी नागरिक गौतम अमेरिकाको टेक्ससमा बसेर नेपालीलाई अवैध रूपमा अमेरिका छिराउने काममा सक्रिय रहेको प्रहरीको दाबी छ ।

अपांगता भएका कारण ह्विलचियर प्रयोग गर्ने गौतमको मूल घर रुकुम पूर्वको सिस्ने हो । उनी सन् २००५ देखि नै अवैध बाटोबाट लाखौं रुपैयाँ असुलेर अमेरिका पठाउने अवैध काममा सक्रिय देखिन्छन् । स्रोतका अनुसार सन् १९९४ मा नेपाल पारा ओलम्पिक कमिटीमा महासचिव रहेका बेला उनी अमेरिका जाने मौका पाएका थिए । त्यहाँबाट फर्केको ९ वर्षपछि सन् २००५ मा उनी अनअराइभल भिसा लिएर सिंगापुर पुगे ।

त्यहाँबाट ल्याटिन अमेरिकन देश बेलिज हुँदै अवैध रूपमा मेक्सिकोबाट अमेरिका छिरेर शरणार्थी आवेदन दिईवरी उनी अमेरिकी नागरिक भए । त्यसपछि गौतम माओवादी सशस्त्र द्वन्द्वको प्रभावमा परेका रुकुम, रोल्पा र दाङका मानिसलाई अवैध रूपमा अमेरिका छिराउने काममा सक्रिय भएको देखिन्छ । ब्युरोका अनुसार पछिल्लो समय उनले नेपालीलाई अमेरिका छिराइदिने भन्दै दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत देशमा पुर्‍याएर अलपत्र पार्ने गरेका थिए ।

प्रहरीले मानब बेचबिखन, ओसारपसार तथा संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई अनुसन्धानमा रहेका कमल तामाङसहितको मुद्दामा अनुसन्धान गर्दा मानव तस्करीको मुख्य योजनाकार गौतम रहेको सूचना पाएको थियो ।

मेक्सिकोलाई आधार क्षेत्र बनाएर उनले नेपाल, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, श्रीलंका, कम्बोडिया र ल्याटिन अमेरिकामा एजेन्टहरू परिचालन गरेर अवैध रूपमा मानव ओसारपसारको नेटवर्क चलाइरहेका थिए । गौतमविरुद्ध ब्युरोमा ५ फरकफरक मुद्दा दर्ता भएका छन् भने त्यसका ६ जना पीडित रहेका छन् । गौतमले अमेरिका लैजाने भन्दै विदेशमा बन्धक बनाएका दुई जनाको उद्धार हुनै बाँकी छ ।

ब्युरोका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर बिष्टका अनुसार प्रारम्भिक अनुसन्धानमा गौतमले अहिलेसम्म २ सय जनासम्म नेपालीलाई अवैध रूपमा अमेरिका छिराएको बुझिएको छ ।

Published on: 11 September 2023 | Kantipur

Link

Back to list

;