s

शरणार्थीमाझ छाएको सन्त्रास

अढाइ दशकदेखि अल्झेर रहेको भुटानी शरणार्थी समस्या बिस्तारै समाधानको दिशामा अघि बढिरहेका बेला सिंगो समस्यालाई सम्झाउने गरी यदाकदा नसोचेका गतिविधि देखापर्ने गरेका छन् । विशेषतः मानव अधिकार र स्वतन्त्रताको पक्षधर रहेर सामाजिक हैसियत बनाउन चाहने शरणार्थी पात्रहरूको विचार/विवेक कुण्ठित पार्दै दमन, अपहरण वा बेपत्तासम्म पार्ने क्रम अझै रोकिएको छैन । प्रत्यक्ष/परोक्ष तवरमा भइरहेका यस्ता गतिविधिको पछिल्लो सिकार बनेका छन्- अधिकारकर्मी लोकनाथ आचार्य ।

झापाको बेलडाँगीस्थित शिविरमा २३ वर्षयता बस्दै आएका र राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रावधानअनुरूपका दर्तामा रहेका शरणार्थी प्रतिनिधि आचार्य ७० दिनदेखि 'सम्पर्कहीन’ अवस्थामा छन् । अमेरिका पुनःबसोबासमा जाने निर्णयमा पुगिसकेका आचार्यलाई भारतको सिलिगुडीमा मानवअधिकारसम्बन्धी छलफलमा भाग लिन भनेर बोलाइएको र स्थानीय मालबजारबाट सादा पोसाकका तीन व्यक्तिको घेराउमा पारेर भुटान लगिएको खबरको पुष्टि भइसकेको छ । यसभन्दा अगाडि बढेर भुटानी सेनाको वाङिफोदाङ जिल्लास्थित रबुना हिरासतमा आचार्यलाई राखिएको तथ्य पनि सार्वजनिक भएको छ । आफ्नो परिवारको घरमूली सम्पर्कहीन बनेको यो स्थितिबारे आचार्यका नातेदारले राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायलाई अवगत गराइसकेका छन् । शरणार्थी आयोग, अन्तर्राष्ट्रिय रेडक्रस, आप्रवासन संगठनसहित सरोकारसम्बद्ध निकायमा मात्रै होइन, प्रत्यक्ष/परोक्ष शरणार्थी बेपत्ता प्रकरणमा जोडिएका भारत, भुटान र नेपालका सरकार प्रमुखलाई पनि आचार्य परिवारले हारगुहार गरिसकेका छन् । तर, कुनै राज्य संयन्त्र वा अन्तर्राष्ट्रिय निकाय पनि आचार्य बेपत्ता प्रकरणमा बोल्न चाहिरहेका छैनन् । अन्तर्राष्ट्रिय रेडक्रसले भुटानभित्र गएर कारागार निरीक्षण गर्ने हैसियत नरहेको’ भन्दै लाचारीको जवाफ फर्काएको छ भने पुनःबसोबास प्रक्रियामा जानका लागि पाँच वर्ष पहिल्यै प्रक्रिया अघि बढिसकेको अवस्था सामुमा रहे पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठन वा शरणार्थी आयोगले पनि आचार्यको यथास्थितिबारे केही बोल्न चाहेका छैनन् ।

शरणार्थी समस्या समाधानको सहमतिपूर्वक अपनाइएको उपायमा पुनःबसोबास मात्रै होइन, स्वेच्छिक घरफिर्तीको बुँदा पनि समेटिएको थियो । झन्डै डेढ लाख भुटानी शरणार्थीमा एक लाखजति अमेरिका/युरोपका विभिन्न मुलुकमा आज पुनःबसोबासमा गइसकेका छन् भने त्यही सम्झौताअनुसार अहिलेसम्म एकजना शरणार्थी पनि भुटानी नागरिकको हैसियतमा घर र्फकन सकेका छैनन् । देश-दुनियाँका सामु लोकतान्त्रिक पद्धतिमा गइसकेको भनिए पनि भुटानी राज्य संयन्त्र अझै पनि अनुदार र अधिनायकवादी शैलीमै सञ्चालित रहेको ताजा दृष्टान्त शरणार्थी नेता आचार्यको नजरबन्द स्थिति हो । 

शरणार्थी कानुन र अन्तर्राष्ट्रिय मान्यतामा पनि कुनै तेस्रो देशमा शरणागत एउटा नागरिकलाई भिन्न बहानाबाजीमा अर्कै भूमिमा लगेर अपहरण शैलीमा पक्राउ गर्नु र नजरबन्दमा राख्नु घोर निन्दनीय कार्य हो । यसबेला राष्ट्रसंघीय मानवअधिकार निकाय र सरोकार सम्बद्ध राज्य-संयन्त्रले पनि शरणार्थी नेता आचार्यको यथास्थितिबारे चासो राख्नु जरुरी छ । यो घटनाले शिविरमा अनागरिक हैसियतमा जीवन बिताइरहेका शरणार्थीहरूमाझ मात्रै होइन, पश्चिमा मुलुकमा पुनःबसोबासमा गएका भुटानी नागरिकमाझ पनि सन्त्रास छाएको छ । यो घटनाबारे जिम्मेवारीका आधारमा सबैभन्दा प्राथमिकतामा रहेको नेपाल सरकारले जवाफ दिन जरुरी छ । यसका लागि पनि भुटानी कारागारमा थुनामा राखिएको भनिएका नेता आचार्यको यथास्थिति पहिल्याउने काम तत्काल थालियोस् ।

Published on: 30 December 2014 | Kantipur

 

Back to list

;