s

सन् २०२४ मा बेरोजगारी अझ बढ्छ : आईएलओ

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।आईएलओले ‘२०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता जनाएको छ ।

आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएकाले श्रम बजारमा आश्चर्यजनक रूपमा लचिलो भए पनि बहुपक्षीय संकटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । २०२२ को तुलनामा २०२३ मा रोजगारदर बढेको थियो । २०२३ मा बेरोजगारदर ५.१ प्रतिशत थियो । यो संख्या बढेर २०२४ मा बेरोजगारदर ५.२ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यो वर्ष २० लाख नयाँ श्रमिकहरू रोजगारी खोज्न विश्व श्रम बजारमा आउनेछन् ।

आईएलओले अधिकांश २० धनी राष्ट्रहरूमा खर्चयोग्य आयमा गिराउट आउने जनाएको छ । ‘उच्च र निम्न आय भएको देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएका देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएका देशमा २०.५ प्रतिशत थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०२३ मा उच्च आय भएका देशमा ४.५ प्रतिशत बेरोजगारदर थियो भने निम्न आय भएका देशमा बेरोजगारदर ५.७ प्रतिशत थियो ।’

आईएलओले काम गर्ने गरिबी श्रमिकहरू बढ्ने जनाएको छ । २०२३ मा दैनिक २.१५ डलरभन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलरभन्दा कम कमाउने श्रमिकहरूको संख्या ८४ लाख पुगेको थियो । ‘आयको असमानता पनि निरन्तर बढिरहेको छ । खर्चयोग्य आम्दानी घट्नुका साथै दिगो आर्थिक पुनःस्थापना हुने अवस्था कमजोर देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

Published on: 11 January 2024 | Kantipur

Link

Back to list

;