s

सामुद्रिक जहाज कामदारबारे निर्देशिका

श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशका सामुद्रिक जहाजमा काम गर्न जाने नेपालीको श्रम स्वीकृतिसम्बन्धी निर्देशिकाको अन्तिम खाका तयार पारेको छ । ‘सी फेरिज’ निर्देशिका पास भएपछि सामुद्रिक जहाजमा काम गर्न जाने कामदारहरूले भोगिरहेका कैयन् झन्झट र द्विविधा अन्त्य हुनेछ । 
 
अहिले अन्य कामदारले जस्तै सामुद्रिक जहाजमा काम गर्न जाने नेपाली एउटै श्रम स्वीकृतिमा विदेश जाने गरेका छन् । चल्तीमा रहेको श्रम स्वीकृतिमा श्रम गन्तव्य मुलुकको नाम तोकिएको हुन्छ । जब कि सामुद्रिक जहाजमा काम गर्न जानेहरू यात्राका क्रममा विभिन्न देश पुग्नुपर्ने हुन्छ । जसले गर्दा कामदारले कैयन् झन्झट बेहोरिरहेका थिए ।
 
मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार निर्देशिकामा सी फेरिजमा जानेहरूका निम्ति आवश्यक पर्ने कागजातबारे प्रस्ट व्यवस्था गरिएको छ । साथै मागपत्र प्रमाणित गर्न, पूर्वस्वृीकति लिन र श्रम अभिलेखीकरण गर्न आवश्यक प्रक्रियालाई पनि निर्देशिकाले स्पष्ट पार्नेछ । श्रम विभागका अनुसार माछा मार्ने, सामुद्रिक जहाज सञ्चालनमा सहयोग गर्ने, कार्गो वर्कर, सुरक्षा गार्ड जस्ता विभिन्न काममा नेपालीहरू गएको देखिन्छ ।
 
२०७२ साउन यताका १५ महिनमा मात्रै चेक रिपब्लिकमा ४१ जना र यूएईमा २ जना नेपाली संस्थागत श्रम स्वीकृतिमा सामुद्रिक जहाजमा काम गर्न गएका देखिन्छन् । त्यस्तै यही अवधिमा व्यक्तिगत तवरमा जाने कामदारको संख्या भने १ सय ४७ छ ।
 
कुन कुन कामको प्रकृति सामुद्रिक जहाजमा कामका लागि हो भन्नेमा विभाग आफैं प्रस्ट छैन । जसले कामदारको संख्या यतिमै सीमित नहुने देखाउँछ । वैदेशिक रोजगार विभागका निमित्त प्रमुख कृष्ण दवाडीका अनुसार सामुद्रिक जहाजमा संस्थागतभन्दा धेरै व्यक्तिगत तवरमै जाने देखिन्छ ।
 
Published on: 26 September 2016 | Kantipur

Back to list

;