s

समुद्रमा ज्यान गुमाउँदै नेपाली

जनकराज सापकोटा

काठमाडौँ — हिन्द महासागरअन्तर्गत अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा माछा मार्ने डुंगामा कार्यरत दुई नेपालीको तीन दिनको अन्तरमा मृत्यु भएको खुलेको छ । सुरक्षा गार्डका रूपमा कार्यरत उनीहरूको असोजको पहिलो साता मृत्यु भएको हो ।

हिन्द महासागरमा ज्यान गुमाएका उत्तरबहादुर कार्की

मृतकका एक परिवारले प्रहरीमा दिएको उजुरीका आधारमा घटना सार्वजनिक भएको हो । उजुरीका आधारमा उनीहरूलाई त्यहाँसम्म पुर्‍याउने कविराज कटुवाल पक्राउ परेका छन् । 

मृतकमध्येका एक भक्तपुर राधेराधेनजिकै पसल गरी बस्ने अवकाशप्राप्त नेपाली सैनिक ४६ वर्षीय उत्तरबहादुर कार्की हुन् । भक्तपुर थिमि–३ का कटुवाल पूर्वसैनिक र प्रहरीलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा माछा मार्ने र कार्गो गर्ने जहाजको सुरक्षा गार्डका रूपमा पठाउने काम गर्थे । उनले नै मलेसियन कम्पनीबाट श्रम स्वीकृति निकालेर कार्कीलाई काठमाडौंबाट उडाएका हुन् । मामा नाता लगाएर कटुवालले दुई लाख रुपैयाँ लिएका थिए । मृतक कार्कीका परिवारका सदस्यका अनुसार कटुवालले एकैचोटि करिब २५ जनाजति पूर्वसैनिक र प्रहरीलाई सामुद्रिक जहाजमा सुरक्षा गार्डको कामका लागि उडाएका थिए । 

महिनौंसम्म समुद्रमा नै रहनुपर्ने र जहाजबाहिर उभिएर सुरक्षा दिनुपर्ने जोखिमपूर्ण काम गर्दागर्दै कार्की बिरामी परे । भतिज कमल कार्कीका अनुसार सुरुमा उनको खुट्टा सुन्निएको थियो । तर कम्पनीले समयमै उपचारको पहल गरेन । समुद्रको चिसो र खानपान नमिलेका कारण मात्रै होइन, समयमै उपचार नपाउँदा उनको बिमार झन् बल्झिँदै गयो । बिमारले चाप्दै लगेपछि काका २ सातासम्म बेहोस जस्तै भएको कमलले बताए । सोही जहाजमा रहेका जितबहादुर नामका अर्का नेपालीले एजेन्ट कटुवाललाई बिरामीलाई उद्धार गर्न भन्दै खबर पठाएका थिए । तर उनले उद्धारको पहल गरेनन् । असोज २ मा हिन्द महासागरमा कार्कीको मृत्यु भयो । 

विदेशमा नेपालीको गुमनाम मरण

परिवारका सदस्यका अनुसार मृत्युपछि सामान्य मानवीय भावनासमेत नदेखाई डुंगा चालकहरूले शव जहाजमै राखेर कैयौं दिनसम्म माछा मार्ने काम गरिराखे । ८ दिनपछि बल्ल उनीहरूले शवलाई सोमालियाको सामुद्रिक तटमा ल्याइपुर्‍याए । त्यतिबेलासम्म उनको शव सडिसकेको थियो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार शव नेपाल ल्याउन भन्दै एजेन्ट कटुवालले परिवारसँग ४० लाख रकम मागेका थिए । तर शव ल्याउन सक्ने अवस्था नभएपछि उतै प्रक्रिया मिलाएर सद्गत गरियो । त्यसपछि पीडित परिवारले कटुवालविरुद्ध ब्युरोमा किटानी जाहेरी दिएका थिए । ब्युरो स्रोतका अनुसार नेपाली सेनाका भगौडा कटुवालले पूर्वसेना तथा प्रहरीलाई मलेसियन कम्पनीमार्फत सामुद्रिक जहाजमा सुरक्षा गार्डका रूपमा पठाउने गरेका थिए । कम्पनीले कामदारलाई दिने तलबबाट पनि हरेक महिना केही सय डलर कमिसन काटेर कटुवालले लिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । 

कार्कीको मृत्युको केही दिनपछि असोज ५ मा हिन्द महासागरको सोही सामुद्रिक क्षेत्रको अर्को पानी जहाजमा सुरक्षामा खटिएका सोलखुम्बुका ३६ वर्षीय ओमबहादुर खत्रीको मृत्यु भयो । सोही जहाजमा काम गर्ने अर्का नेपाली बिरामी अवस्थामा नेपाल फर्केपछि मात्रै घटनाबारे जानकारी भएको हो । चितवन पर्साका मीनबहादुर गुरुङसहितका ११ जना गत फागुन ३ गते काठमाडौंबाट दुबई हुँदै दक्षिण अफ्रिकाको सानो टापु देश कोमोरोसको सामुद्रिक तटमा पुगेका थिए । सोही टोलीमा थिए, खत्री पनि । 

अदालतले सजाय तोकेका दलाललाई प्रहरीले छाड्दा

कान्तिपुरसँगको कुराकानीमा गुरुङले आफू तीन लाख खर्चेर माछा मार्ने सामुद्रिक जहाजको सुरक्षा गार्डका रूपमा पुगेको बताए । उनलाई कार्गो जहाजको सुरक्षामा काम गर्ने भने पनि माछा मार्ने जहाजको सुरक्षा गर्न खटाइयो । उनका अनुसार स्थलमार्गबाट समुद्रमा जहाज हिँडेपछि महिनौंसम्म जमिन देख्न पाइँदैन । सामुद्रिक तस्करबाट जहाजको सुरक्षा गर्न र मारेका माछा जोगाउन उनीहरू हरदम डुंगाको बाहिरपट्टि हतियारसहित सतर्क बसिराख्नुपर्छ । उनीसँग उक्त जहाजमा खत्रीबाहेक चितवनकै पूर्णबहादुर तामाङ र सिन्धुपाल्चोकका रामहरि खत्री पनि थिए । 

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

जहाजमा काम गर्दागर्दै खुट्टा सुन्निनेलगायतका समस्या देखिएपछि खत्रीलाई उपचार गर्न जहाज सामुद्रिक तटीय क्षेत्रमा जाने तयारी गरिरहेको थियो । गुरुङले भने, ‘ओम मेरै काखमा थिए । उनलाई लिएर फर्किंदै गर्दा बाटोमै मृत्यु भयो ।’ मृत्युको चार दिनपछिमात्रै उनको शवलाई सोमालियाको तटीय क्षेत्रमा ल्याइएको गुरुङले बताए । मानव बेचबिखन ब्युरोका अनुसार खत्रीका परिवारका सदस्यको सक्रियतामा शव नेपाल ल्याएर दाहसंस्कार गरिसकिएको छ । तर परिवारका सदस्यले कसैविरुद्ध किटानी जाहेरी भने दिएका छैनन् । 

आफूसँगै काम गर्ने सहकर्मीको मृत्युपछि गुरुङ पनि मानसिक रूपमा भयभीत बनेका थिए । उनले भने, ‘मेरो पनि खुट्टा सुन्निने र चिटचिट हुनेजस्तो समस्या देखा पर्न थालेको थियो ।’ बिरामी भएकाले छिटो उद्धार गर्न बारम्बार भनेकाले ६ दिनपछि उनको उद्धार प्रक्रिया सुरु गरियो । उनका अनुसार एक दिन लगातार ११ घण्टा, अर्को जहाजमा ९ घण्टा र त्यसपछि सानो जहाजमा आधा घण्टाको यात्रापछि मात्र उनले सोमालियाको सामुद्रिक तटीय क्षेत्रमा जमिन स्पर्श गर्न पाए । सोमालियाको राजधानी मोगादिसुको एक अस्पतालमा चार दिनसम्म उपचार गरेर १८ कात्तिकमा उनी कतार हुँदै नेपाल फर्किएका हुन् । 

उनका अनुसार अहिले पनि सामुद्रिक जहाजमा सयौं नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् । तीमध्ये केही उच्च सुरक्षा जोखिम क्षेत्रमा पनि छन् । कम्पनीले तीन महिनाका लागि भनेर काठमाडौंबाट उडाए पनि उनलाई बीचमै समय थपेर ६ महिना काममा लगाइएको थियो । ‘मासिक झन्डै ६० हजार रुपैयाँ थाप्न ज्यान नै जोखिममा परेको सम्झिँदा अहिले पनि तर्सिन्छु,’ उनले भने, ‘काखैमा सँगै काम गर्ने साथीको मृत्यु भएको घटना सम्झिन नपरोस् भनेर त्यहाँ छँदा खिचेका सबै फोटो डिलिट गरिदिएँ ।’

Published on: 24 December 2021 | Kantipur

Link

Back to list

;