s

सम्पर्कमा आए सिक्किमको बाढी-पहिरोमा बेपत्ता भएका पाँच नेपाली

मङ्गलबारे (इलाम) — भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् ।

पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको बताइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए ।

उनले सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किंदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताए । बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत्समेत कटौती भएको थियो । विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चारका साधनसमेत अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।

पाँच जना नेपालीहरु गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए । सोही दिन सिक्किमको उत्तरी भेगकोे हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा धनजनको क्षति भएको थियो ।

Published on: 16 October 2023 | Kantipur

Link

Back to list

;