s

सम्झौता गरेर मात्रै मलेसियामा कामदार

अहिलेका समस्याको समाधान नै श्रम सम्झौता : मलेसिया
मुख्य सर्त अनावश्यक भार पार्न दिनु हुन्न : नेपाल
छिट्टै वार्ताको वातावरण बन्दै छ : नेपाली दूतावास

सरकारले मलेसियासँग श्रम सम्झौता गरेर मात्रै कामदार आपूर्ति सुचारु गर्ने भएको छ । नेपालले यथा अवस्थामा कामदार नपठाउने अडान लिएपछि मलेसिया पनि यथाशक्य छिटो श्रम सम्झौता गर्न तयार देखिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रूपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाइरहेको छ । ‘श्रम सम्झौता गर्न दुई देशका अधिकारीबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ वर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ,’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेलले भने, ‘दुवै देशका सरकार नयाँ ढंगले अगाडि बढ्ने संकेत देखापरिरहेको छ । हामी आशावादी छौं ।’

मलेसिया पनि यसमा सकारात्मक देखिएको छ । ‘नेपाल मलेसियामा कामदार पठाइराख्न चाहन्छ, हामी पनि उनीहरूलाई लिन इच्छुक छौं,’ मंगलबार मलेसियाको संसदमा आप्रवासी कामदार व्यवस्थापनसँग सम्बन्धित विशेष बैठकपछि आयोजित पत्रकार सम्मलेनमा मानव संसाधनमन्त्री एम कुलासिगरानले भने, ‘नेपाल जानुअघि निश्चित विषयमा स्वीकृति लिन मन्त्रिपरिषद् बैठकमा सहमतिपत्र (एमओयू) लिएर जाँदै छु ।’

नेपाल र मलेसियाबीच कस्तो खालको सम्झौता हुने भन्ने विषय यकिन भइसकेको छैन । ‘जे मस्यौदा छ । त्यसमा छलफल गराउन वार्ता हुन गइरहेको छ । जुन फाइनल गराउने उद्देश्यले अगाडि बढेको छ,’ कार्यवाहक राजदूत खरेलले भने, ‘कुन मोडलमा जान्छ भन्ने विषयवस्तुबारे अहिले नै केही भन्न सकिन्न ।’

कामदारलाई आर्थिक भार पार्न नहुने नेपाल सरकारको मुख्य सर्त छ । ‘विगतकै जस्तो गैरकानुनी संयन्त्र खडा गरेर कामदारलाई आर्थिक भार पार्न जाने अवस्था भने स्वीकार हुँदैन,’ श्रम मन्त्रालयका उच्च अधिकारीले कान्तिपुरलाई भने, ‘आपूर्ति प्रक्रिया स्वच्छ र पारदर्शीपूर्ण हुनुपर्छ । निजी क्षेत्रलाई प्रयोग गरी कामदार आपूर्ति गर्ने कि सरकारी तवरबाटै आपूर्ति गर्ने भन्ने विषयमाथि गहिरो छलफल हुनुपर्छ । जुन मोडल भए पनि कामदारलाई अनावश्यक भार पर्न दिइने छैन ।’

मलेसियाका संसाधनमन्त्री कुलासिगरानले नेपालको आवश्यकतामाथि आफूहरूको मुख्य चासो रहेको बताए । ‘खास के आवश्यकता छ । त्यसबारे हामी सहमति गर्छौं,’ उनको भनाइ उद्धृत गर्दै मलेसियाकिनीमा उल्लेख छ ।

श्रममन्त्री गोकर्ण विष्ट मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर रहेको बताए । ‘नेपाली कामदारले मलेसियाको विकासमा गरेको योगदानलाई माथिर सरकारले महत्त्वको साथ हेर्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

मलेसियामा झन्डै ६ लाख नेपाली कामदार कार्यरत छन् । मलेसियाले आफ्नो सुरक्षा गार्डमा नेपाली कामदार मात्रै लिँदै आएको छ ।

Published on: 20 August 2018 | Kantipur

Back to list

;