s

सम्झौता अनुरुपको काम नहुँदा टर्कीबाट ३० ड्राइभर फर्किए

राजधानीको सिनामंगलस्थित स्टार नेपाल म्यानपावर प्रा.लि.बाट वैदेशिक रोजगारीका लागि टर्की गएका ३० जना कामदार विना तलव स्वदेश फर्किएका छन् । ड्राइभरको कामका लागि गएका उनीहरुले तोकिएको काम र तलव नपाएका कारण स्वदेश फर्किएको बताएका छन् ।
 
स्वदेश फर्किएका कामदारहरुलाई उक्त म्यानपावरले ७ देखि ३ महिनाको बीचमा टर्की पठाएको थियो । विभागमा परेको उजुरीमा उनीहरुले टर्की पुगे लगत्तैदेखि तोकिएको काम र तलव नपाएको उल्लेख गरेका छन् ।
 
स्वदेश फर्किएपछि उनीहरुले टर्की जानु अघि म्यानपावरलाई बुझाएको रकम क्षतिपूर्ति सहित फिर्ता हुनुपर्ने माग गर्दै वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनी विरुद्ध उजुरी दर्ता गराएका थिए । एकहप्ता अघि विभागमा परेको उजुरीमा बुधबार विभागमा छलफल राखिएको थियो । तर सञ्चालक नआएका कारण छलफल स्थगित भएको श्रोतले बतायो । त्यस विषयमा पुनः विहीबार छलफल राखिएको छ ।
 
यूरोप अन्तरगतको मुलुक र आकर्षक रोजगारी भनिएका कारण कामदारहरुले लाखौं रकम खर्च गरेको बताएका छन् । टर्कीको रोजगारीका नामम यसअघि पनि नेपाली युवाहरु पटक–पटक ठगिने गरेका छन् । टर्कीका एउटै रोजगारदाताले नेपालका धेरै म्यानपावर कम्पनीलाई एउटै डिमाण्ड देखाएर अग्रिम रकम मागगर्ने गरेको गुनासो म्यानपावर व्यवसायीहरुको छ । टर्कीका सेक्यूरिटी गार्ड, डाटा इन्ट्री अपरेटर, क्लीनर, फेव्रिक सुपरभाइजर, मार्केटिङ डिपार्टमेण्ट, सेल्स डिपार्टमेण्ट, फड एण्ड वेभरेज डिपार्टमेण्टमा मासिक १ हजार ३ सय अमेरिकी डलर तलव हुने भन्दै रकम असुल्ने गरिएको बताइन्छ ।
 
Published on: 29 March 2018 | Madhyanha

Back to list

;