s

समय रेखा : राष्ट्र, प्रवास र काँडा

अभि सुवेदी

'हामीले मेचीमा फूल चढाएर आयौं । आज नेपालमा आउँदा हामी भावुक भएका छौं ।' यस्तै अभिव्यक्ति थिए, दार्जिलिङबाट आएका साहित्यकारका त्यो बृहत् साहित्य भेलामा । झापाको चन्द्रगढीमा चौबीस सालतिर भएको त्यो देशब्यापी साहित्य भेला कवि केदारमान व्यथितको नेपाली साहित्य संस्थानले आयोजना गरेको थियो । दार्जिलिङबाट आएका इन्द्रबहादुर राई र ईश्वरवल्लभले भाषण गरेको मलाई अत्यन्तै मनपरेको थियो । इन्द्र दाइ बाहिरका नेपाली साहित्यकारहरूमध्ये कम भावुक र नेपाली मूल भूमिको विषयलाई कम अतिरञ्जना गरेर बोल्ने मानिस थिए । सायद उनी त्यही रूपमा बसे । उनको लेखाइमा प्रगीतात्मक चेतनाको लोलुपता कमै पाइन्छ । अम्बर गुरुङले अगमसिंह गिरीले लेखेको 'नौ लाख तारा उदाए/ धरतीको आकास हाँसेछ....नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको/ काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको....आँसुका घुड्का पिएर' जस्ता अभिव्यक्ति भएको गीत गाएको एउटा यथार्थ भएको थियो । त्यस अर्थमा प्रवासी भन्नु एउटा भावनाले गह्रौंगो भएको अभिव्यक्ति थियो । 

नेपाली नेपालभित्र दुःखै गरेर बसे पनि हाँसेको यथार्थलाई स्वतन्त्र मानिस दुःखैमा बसे पनि पराधीन भएर बस्नुभन्दा सुखी हुन्छ भन्नुको अर्थमा बुझिन्थ्यो । अम्बर दाइले गाएको अर्को गीत 'ऊ पनि त कोही पराया त होइन' गीत बजाएरै अहिले पनि म उत्तरवर्ती, निर्माणोन्मुख काठमाडौंै सहरका लोपोन्मुख सडकमा कर्मउन्मुख भएर कुदिबस्छु । मेरो निम्ति अब त्यो प्रवासी नोस्टालजिया जनिन राष्ट्रवाद एक गीति विषय । सायद त्यो मेरो र अरुको निम्ति एक अर्थनिरपेक्ष वाभ्याकुअस् चेतना हो । तर मेरो कुरा अलिक फरक छ । म त्यो काल्पनिकीको अतिरञ्जना भएको गीतको पुस्तामा नेपालमा हुर्के-पढेको मानिस हुँ । आज आएर त्यो मेरोनिम्ति एक मीठो गीति चेतना र लयमात्रै भएको छ । त्यो किन भएको छ ? म कुनै ठाउँ, कुनै लोकस् नभएको भाषिक आन्दोलन कविताका हरपहरू कण्ठै भनेर हिंँड्थेंँ । पछि बुभmदा त्यो पारसमणिका किताबबाट पढेको श्लोक रहेछ । यस्तो छ, कण्ठै आउँछ— 'साह्रै हीना गलित वेदना शोकले ढाकिएकी/ रोई-रोई छटपट गरी काल पर्खिरहेकी/ छोरा, नातिहरू सब मरी क्लेशले भै निराशा/ बस्ने वृद्धासरि हजुरको भेष भो मातृभाषा' । त्यो भारतका नेपालीको भाषिक आन्दोलनको उब्जा रहेछ, नेपालको होइन ।

नेपालभित्र हामी र हामीभन्दा पहिलेका पुस्ताका मानिसलाई शिक्षाका पाठ साहित्यको रूपमा पारसमणि प्रधान र उनका मित्रहरूको प्रयासले तयार गरिएको हुन्थ्यो । राणाकालमा मौन सम्झौताहरू धेरै भए । शिक्षा र किताबको क्षेत्रमा भएका मौन सम्झौताहरूलाई महत्त्वपूर्ण मान्नुपर्छ । जो शिक्षामा लागेका थिए, तिनले किताब बनाउनु, त्यसको व्यवसाय गर्नु मुद्रण पुँजीको महत्त्वपूर्ण प्रयोग थियो । नेपालभित्र टाढा-टाढा पनि पाठ्यपुस्तक उपलब्ध भए । जेसुकै होस्, दार्जिलिङबाट खासगरी नेपाली भाषाका लेखकहरूले साहित्यको आधारमा गरेको शिक्षाको प्रचारलाई म आज आएर महत्त्वपूर्ण मान्छु । मलाई पोहोरदेखि अभिशेक भन्ने अपरिचित युवाले 'ब्रह्मपुत्र' नामको कुनै साहित्यिक पत्रिकाको लागि एउटा लेख लेखिदिनु भनेर फोन गरिरहेको सन्दर्भ जोड्छु । ती युवकले मलाई दिएको विषय छ— 'अब भारतका नेपालीलाई प्रवासी भन्नुभएन । हामी भारतीय नेपाली हौं ।' यो विषयमा नेपालको मेरो अवस्थाको मानिसले लेख्ता के देखिन्छ, त्यो उनले जान्न चाहेका छन् । मलाई अरु पनि युवाहरूले यस विषयमा उतातिर जाँदा यो प्रवासी र डियास्पोरा शब्दप्रति आपत्ति जनाएका अनेकौं सम्झना छन् । म यी युवाहरूलाई एकाध जटिल प्रश्न गर्छु । त्यसो हो भने बाहिरबाट प्रवासी नेपाली भनेर नेपालमा आई विभिन्न ऐतिहासिक कालखण्डमा काम गर्ने साहित्यकार र इतिहासकारको कामभन्दा उतै बसेर पारसमणि प्रधान र इन्द्रबहादुर राई अनि काशीबहादुर श्रेष्ठले गरेको कामलाई तपाईंहरू बढी महत्त्वपूर्ण ऐतिहासिकी बोकेको अर्थमा लिनुहुन्छ त ? उनीहरू भन्छन्, अहिले पनि इन्द्रबहादुर राईलाई नेपालभित्रका साहित्यकारहरू कुनै सीमाले छुट्याएर हेर्दैनन् । यो सम्मानको सूचक हो । राई भारतीय नेपाली साहित्यका धरोहर हुन् । साहित्य भाषा र लेखनका आन्दोलनका हिसाबले यसरी चर्चा गरिनु स्वाभाविक र उचित कुरा हो । तर इन्द्र राईलाई प्रवासी भनेर सम्मान गरिएको हामीलाई थाहा छैन, उनीहरू भन्छन् । 

म अर्को जटिल प्रश्न गर्छु । ऐतिहासिक राष्ट्रियताको भावुक पक्षलाई लिएर गीत र चुनौतीमा परिणत गर्ने अगमसिंह गिरी र अम्बर गुरुङ अनि अरु यस भावनाको वृत्त फराकिलो गर्नेहरूले त्यो राष्ट्रियताको गीति लोलुपतामात्र होइन, त्यसको बौद्धिक र वैचारिक आधार पनि रचना गरे । त्यस अर्थमा अगमसिंह गिरीले भावुक विद्रोही भावनाले लेखेको गीत, 'सुगौली सन्धि हामीले बिर्सेका छैनौ भनिदे/ किल्ला काँगडा हामीले बिर्सेका छैनौ भनिदे' र नेपाल आएर सूर्यविक्रम ज्ञवाली, धरणिधर कोइराला, लैनसिंह वाङ्देल, गोपाल योञ्जनजस्ता विद्वान, कवि, कलाकार र गीतकारले त्यसलाई व्याख्ाा गर्न रचना गरेको बौद्धिक र भावभूमिको बीचमा के तारतम्य देख्नुहुन्छ ? यसमा प्रवासी नेपाली भन्ने संचेतनाले नेपालभित्रको राष्ट्रवादी भावनाको रचना गर्ने काम गरेको मान्न सकिन्छ ? खासगरी सूर्यविक्रम ज्ञवालीले उजागर गरेको किल्ला काँगडाको ऐतिहासिकी र वीरोपाख्यान अनि अगमसिंह गिरी र अम्बर गुरुङ दाइहरूले गाएको 'सुगौली सन्धि हामीले' भन्ने गीतको बीचमा के साम्य छ र के विरोधाभाष छन् ? हाम्रा विश्वविद्यालयमा सँगै पढेका र नजिकबाट जानेका साथी गोपाल योञ्जनले 'देशले रगत मागे मलाई बली चढाऊ/ रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी/...किल्ला काँगडाका सन्तान अझै मरेका छैनन्' नेपालमा रेकर्ड गराउँदा, विद्यार्थीहरूलाई नेपालका कलेजमा पढाउँदा माथिको ऐतिहासिकी र राष्ट्रवाद अनि प्रवासी भनिने संचेतना व्यक्त हुन्छ कि हुँदैन ? मेरो विचारमा प्रवासी भनिने शब्द नेपालभित्र र भारतमा बस्ने नेपालीहरूमाझ पनि भावना, बौद्धिकता, समानता र एक भावुक राष्ट्रवादको निम्ति प्रयोग गरिएको अभिव्यक्ति थियो । आज भारतका नेपालीहरूलाई नेपालमा, मलाई लाग्छ, प्रवासी भन्ने चलन कम भएको छ । जसरी भारतका नागरिक नेपालीलाई प्रवासी वा 'डियास्पोरा' भनेको कुराले पिनास हुन्छ, यहाँका मानिसलाई हामीलाई किन प्रवासी वा डियास्पोरा भनेको भन्ने प्रश्नले त्यत्तिकै चकित पार्छ । अब यो प्रवासी शब्द कसैले नेपालमा प्रयोग गर्छ भने कि त्यो मानिस अलिक कमै शिक्षित भएको वा हिजोकै स्कुलमा दीक्षित भएको मानिन्छ । तर कथा यति सजिलै टुङ्गिँदैन । एकाध अरु कुराहरू पनि उजागर हुन्छन् ।

प्रवासी भन्नु र भनिनु दुबै व्यावहारिक प्रयोग थिए । भूपी शेरचनले 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा' भन्ने गीतमा छोरीलाई आशिष हाल्न नपाएर थालीमा आँसु झार्ने बाबा, तीजमा गरिब माइती बिर्सेछ कि छोरीले भनिबसेकी आमा, निदारमा इन्द्रेनीजस्तो बहिनीको टीका लर्काउँला भनेर पर्खिने सबै नेपालमा थिए । छोरी चिया बगानमा काम गर्ने प्रवासी थिई । यो सीमा झन्डै अदृश्य थियो । तर दार्जिलिङको अस्सीका दशकदेखि चलेको गोरखामुक्ति आन्दोलन, आसाम असम र मेघालयमा बाँडिएपछिको नेपालीको अवस्थिति, नेपालका राजनीतिक उथलपुथल र जनयुद्ध, गणतन्त्रको स्थापना भएपछि राजाको विम्ब हटेको अवस्था, भुटानबाट कठोर अवस्थामा झापामा शरणार्थी भएर बसेका सवा लाख नेपालीहरूसम्म आइपुग्दा प्रवासी भनिने रोमान्टिकवादको राम्रै अन्त्य भैसकेको मान्नुपर्छ । पहिलेको प्रवास भनिने शब्द मैले माथि भनेअनुसार सबैको सुविधाको निम्ति प्रयोग भएको थियो । राजा महेन्द्रले योग्य मानेका बर्मेली खड्गजित बराल र अरुको प्रहरीमा प्रवेश अनि हिजोका प्रवासी भनिएका नेपालीहरू आज काठमाडौंको एउटा गतिशील मध्यमवर्ग भएको अवस्थामा अनि भारतका सक्षम र बलिया लेखकहरूका कृतिका प्रचार, अकादमीमा प्रवेश र तिनले अकादमी पुरस्कार पाउने अवस्थाले गर्दा अब प्रवासी शब्द भन्ने शब्दको कुनै अर्थ रहेन । 

नेपालीहरू भारतमा गएर दुःख गरेर, घर सम्भिmएर बसेका छन् । तर धर्मराज थापाले 'नेपालीले माया मार्‍यो बरिल्ौ' भन्दै 'प्रकृति धन बाँडेर खाऔं' फर्केर आऊ भनेको भावुक अवस्था अब रहेन । लाखौं नेपाली खाडी मुलुकका मरुभृ्मिमा काम गर्छन्, मलेसियामा काम गर्छन् र हताहत हुन्छन्, अमेरिकामा ठूलो संख्यामा बस्छन्, पत्रिका र साइबर स्पेसबाट साहित्य रचना गरेर पठाउँछन्, बर्मामा बस्नेहरू स्थापित र त्यहींकै भइसके । सडसठ्ठी सालको भानु जयन्तीमा गान्तोकमा आमन्त्रित भएर जाँदा भानु जयन्ती देखेपछि मलाई लाग्यो, साहित्यकार प्रवासी र स्वदेशी भन्ने शब्दले कुनै अर्थ राख्तैन । त्यस्तै नेपालभित्रको भानुभक्तको विरोध र समर्थनले पनि बाहिर बस्ने नेपालीलाई कुनै अर्थ राख्तैन । राष्ट्रवादी चिन्तामा मुद्रण र केही साझा काल्पनिकीको अस्तित्व हुनुपर्छ भनी मान्ने बेनडिक्ट एन्डरसनका विचारको आलोचना हुँदाहुँदै पनि त्यो बेला र किल्ला काँगडाका भावुक राष्ट्रवादका दार्जिलिङमा गुञ्जेका गीतको सन्दर्भ जोड्दा मलाई नयाँ अर्थ खुलेको थियो । तर 'सुनको सपना आँसुुमा किन पो बाँधिल्यायौ नि' भन्ने गीति चिन्तन हिजोदेखि आजसम्म विश्वका अनेकौं ठाउँमा छरिएर बस्ने केही साझा पहिचान भएका र अमूक भूमिभित्र र बाहिर लहरजस्तो 'नौ लाख तारा'मुनि फैलिएका नेपालीकोे 'काँडाकै माझ' भए पनि फुलेको कथा हो ।

 

Published on: 1 April 2013 | Kantipur

Back to list

;