s

समस्यामा पर्यटन मजदुर

दीपेन्द्र गुरुङ

 

यो संकट नआइदिएको भए पिम्बातेन्जिङ भोटे यो समय सगरमाथाको चुचुरोतिर उक्लिरहेका हुन्थे, या सफल आरोहणपछि आफ्नो टोलीलाई काठमाडौं फर्काउँदै गरेका भेटिन्थे । विदेशी पर्वतारोहीलाई साथमा लिएर नेपालका हिमाल चहारिहिँड्ने यी अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक घरबाटै ननिस्किएको तीन महिना हुन लाग्यो । नेपालमा उनीजस्तै ७० जना विज्ञ अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छन् । र, अहिले उनीहरू सबै घर-घरमै कैद छन् ।

यो समय हिमाली क्षेत्रतिर हुन्थ्यौँ । धेरै बुकिङ आइसकेका थिए । तर, सबै बुकिङ रद्द भए । काममा व्यस्त हुनुपर्ने समय घरमै सुतेर बित्यो।

हरेक वर्ष मार्चदेखि मेसम्मलाई आठ हजार मिटरमाथिका हिमाल आरोहणको उपयुक्त समय मानिन्छ । सगरमाथा आरोहणको मुख्य ‘सिजन’ नै यही हो । हिमाललाई कर्मथलो बनाएकाहरू व्यस्त रहने समय पनि यिनै तीन महिना हुन् । यही सिजनमा उनीहरूले वर्षभरि पुग्ने कमाइ गर्थे । हिमालतिर उकालो लाग्नुपर्ने वेलामा कोरोना भाइरस फैलियो । र, नेपालले पनि २४ मार्च (११ चैत)मा देशव्यापी लकडाउन घोषणा गर्‍यो । त्यसैले यस वर्षको आरोहण सिजन होम क्वारेन्टाइनमै बित्यो ।

‘पर्वतीय पथप्रदर्शकहरू हिमाली क्षेत्रकै बासिन्दा हुन्, जो काठमाडौंमा डेरामा बस्छन्,’ भोटे भन्छन्, ‘कोरोनाका कारण वर्षदिनको कमाइ गर्न पाइएन । अब साँझ-बिहान छाक टार्नै समस्या हुने निश्चित छ ।’

उनको जस्तै चिन्ता ट्रेकिङ गाइड प्रदीप लामाको पनि छ । ‘यो समय हिमाली क्षेत्रतिर हुन्थेँ । धेरै बुकिङ आइसकेका थिए,’ उनी भन्छन्, ‘तर, सबै बुकिङ रद्द भए । काममा व्यस्त हुनुपर्ने समय घरमै सुतेर बित्यो ।’ उनका अनुसार नेपालमा करिब सात हजार पथप्रदर्शक छन् । त्यसभन्दा ठूलो संख्यामा पर्यटन मजदुर छन् । नेपाल पर्वतारोहण संघ (एनएमए)को तथ्यांकअनुसार पर्वतारोहणमा एक लाख २५ हजार मजदुर छन् ।

भाइरस संक्रमण नियन्त्रणमा आउन समय लाग्नेछ । त्यसपछि पनि पर्यटक आवागमन पूर्ववत् हुन समय लाग्नेछ । कम्तीमा यो वर्ष नेपाली पर्यटन पुरानै लयमा फर्किने अपेक्षा गर्न मुस्किल छ।

यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग व्यवसायी र मजदुर गरी करिब तीन लाख ५० हजार आबद्ध छन् । यिनै व्यवसायी र मजदुरले धानेका हुन्, नेपालको पर्यटन पनि । र, ती सबै अहिले बेरोजगार छन् । महामारीको असर त्यतिमै सीमित नरहने निश्चित छ । सबैजसो मुलुकमा लामो समयदेखि कायम लकडाउनले आर्थिक उपार्जनमा पारेको असरका कारण अर्को वर्ष पनि विदेशी पर्यटक पर्वतारोहणमा कमै आउने अनुमान व्यवसायीहरूको छ ।

‘भाइरस संक्रमण नियन्त्रणमा आउन समय लाग्नेछ । त्यसपछि पनि पर्यटक आवागमन पूर्ववत् हुन समय लाग्नेछ,’ एनएमएका महासचिव कुलबहादुर गुरुङ भन्छन्, ‘कम्तीमा यो वर्ष नेपाली पर्यटन पुरानै लयमा फर्किने अपेक्षा गर्न मुस्किल छ ।’ १२ वैशाख ०७२ को भूकम्पपछि पनि पर्यटन क्षेत्र यति लामो समय ठप्प नबनेको उनी बताउँछन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले विगतभन्दा राम्रो आम्दानी हुने अपेक्षा व्यवसायी र मजदुरहरूमा देखिन्थ्यो । यस वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य नै थियो । कोरोना भाइरसका कारण सरकारी योजना नै स्थगित हुन पुग्यो । विगतभन्दा बढी कमाइ त टाढाको कुरा, दैनिक छाक टार्नै मुस्किल हुने अवस्थामा पर्यटन मजदुर पुगेका छन् ।

Published on: 10 June 2020 | Nayapatrika

Link

Back to list

;