s

समस्या परे ‘कल सेन्टर’

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १७ गते । सरकारले वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन हुनेगरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्नेगरी कल सेन्टरको शुभारम्भ गर्नुभएको हो ।

मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको कल सेन्टरको काम जति प्रभावकारी हुनुपथ्र्यो त्यति हुन नसकेपछि कल सेन्टर श्रम मन्त्रालयमै स्थापना गर्नुपरेको स्पष्ट पार्नुभयो । मन्त्रालय परिसरमा रहेको सो कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गरिने पनि उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले भन्नुभयो, “कल सेन्टरमा आएका गुनासालाई सकेसम्म छिटो सम्बोधन हुनेगरी संयन्त्र बनाउँछौँ । ”

उहाँले आकर्षक कमाइ हुने प्रलोभनमा परी लाखौँ रुपियाँ स्वदेश वा विदेशमा रहेका कन्सल्टेन्सी, ट्राभल एजेन्सीका दलाललाई बुझाएर भ्रमण भिसामा गई विदेशमा अलपत्र परेका युवाको उद्धार गर्न पनि कल सेन्टर मन्त्रालयमै आवश्यकता भएको महसुस गरिएको बताउनुभयो ।

यसले तत्काल वैदेशिक रोजगारमा गएका, जाने प्रक्रियामै समस्यामा परेका जोकोहीका गुुनासो यस कल सेन्टरमार्फत सम्बोधन गरिने जनाइएको छ । कल सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्न छ जना कर्मचारीलाई तीन सिफ्टमा परिचालन गरिनेछ । सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार प्राप्त गुनासो वा उजुरीलाई श्रम मन्त्रालयबाट हुने तत्काल समाधान गर्ने र नभएका उजुरी गृह मन्त्रालयमार्फत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइनेछ ।

कल सेन्टरमार्फत उजुरी वा गुुनासो भिडियो तथा कल रेकर्डको आधारमा पनि दर्ता गर्न सकिनेछ भने यस प्रकारका गुनासो वा उजुरी रोजगारसँगै जोडिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ । सो कल सेन्टरमा प्राप्त उजुरीउपर सीआईबीले छानबिन गर्छ । अवैधानिक कार्यमा संलग्न व्यक्ति विदेशमा रहेको पाइएको इन्टरपोलको सहयोग लिएर कारबाही हुने जनाइएको छ ।

Published on: 31 January 2022 | Gorkhapatra

Link

Back to list

;