s

सामाजिक सुरक्षामा हुन एक महिना थपियो

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुन एक महिना समय थप हुने भएको छ। मंसिर १३ गतेसम्म कोषमा सामेल हुन सूचना प्रकाशित गर्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए। मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी उनले असोज मसान्तमा सकिएको म्याद मंसिर १३ गतेसम्म थप्ने तयारी गरेको बताए। ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सरकारले समय थपेको हो। कोषको रकम परिचालन गर्न लगानी कार्यविधिसमेत तयार छ। कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले सामाजिक, शैक्षिक र घरजग्गामा योगदानकर्तालाई कर्जा दिने सरकारी योजना रहेको बताए। सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता सामेल भएका छन्।

योगदानकर्ता श्रमिकको संख्या १ लाख ९ सय ६८ पुगेको छ। कोषका अनुसार हालसम्म ७ करोड ६५ लाखभन्दा रकम संकलन भइसकेको छ। सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्न गई लामो सार्वजनिक बिदा भएकाले समय थप गर्ने निर्णय गरिएको कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले बताए। मन्त्री विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सामेल नहुनेलाई श्रम ऐन २०७४ अनुरुप कारबाही गर्ने सरकारको तयारी छ। कोषका अनुसार योगदान सुरु गरेका क्लोजर सिस्टम्स इन्टरनेसनल नेपाल प्रालिका योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफे प्रालिका प्रकाश तामाङ मोक्तानको सडक दुर्घटनामा निधन भएका परिवारलाई राहत पाउन थालेका छन्। १६ हजार योगदान गरेका थापाका परिवारले हरेक महिना १७ हजार र १० हजार योगदान गरेका तामाङका परिवारले हरेक महिना १० हजार दुई सय रुपैयाँ पाउन सुरु गरेका छन्।

पत्रकार सम्मेलनमा मन्त्री विष्टले ठूला रोजगारदाता आउने क्रममा रहेको र केही समय थप गर्न अनुरोध गरेकाले एक महिना थप गरिएको जानकारी दिए। औपचारिक क्षेत्रका श्रमिकलाई समेटेर बिस्तारै अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि यस कार्यक्रममा सामेल गर्ने सरकारको तयारी छ। सरकारी सेवा सुविधा पाउने मात्रै सञ्चय कोषबाट लाभ लिने तथा अरु सबैले सामाजिक सुरक्षा कोषबाटै सुविधा पाउने मन्त्री विष्टले बताए। ‘यस कार्यक्रममा कोही आउँदैन भन्ने अधिकार छैन्’, उनले भने,‘कानुनले सबैलाई सामेल हुन अनिवार्य व्यवस्था गरेको छ।’ श्रम मन्त्रालयका सचिव विनोद केसीले भुक्तानी प्रणालीमा समस्या नआउने उनले बताए। सहसचिव रामप्रसाद घिमिरेले वैदेशिक रोजगारीमा गएका युवालाई पनि सामाजिक सुरक्षा कार्यक्रममा सामेल गराउने तयारी भइरहेको बताए।

Published on: 25 October 2019 | Annapurna Post

Link

Back to list

;