s

सामाजिक सुरक्षामा जोडिएनन् अनौपचारिक श्रमिक

सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भए पनि अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छैनन्।

सामाजिक सुरक्षा कोषका अनुसार नौ लाख २८ हजार चार सय ५३ जना सामाजिक सुरक्षामा कार्यक्रममा सूचीकृत भएकोमा अनौपचारिक क्षेत्रका ३५ जना मात्र सूचीकृत भएका छन्।

सरकारले सामाजिक सुरक्षा कोष तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न २०७६ चैतमा सामाजिक सुरक्षा कोष स्थापना गरेको थियो।

कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका चार लाख ६१ हजार सात सय ९६ जना, वैदेशिक क्षेत्रका चार लाख ६६ हजार ६ सय २३ जना सूचीकृत भए पनि अनौपचारिक क्षेत्रका श्रमिकले चासो नदेखाएका हुन्। ३५ जना मात्र सूचीकृत हुनु निकै न्यून हो।

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकबाट कोषले ४४ अर्ब ८५ करोड ११ लाख रूपैयाँ रकम संकलन गरेको छ। कोषले विभिन्न योजना ल्याएको छ। ती योजनामध्ये अहिलेसम्म सबैभन्दा धेरै वृद्धावस्था सुरक्षा योजना अन्तर्गत ३७ अर्ब ३५ करोड रूपैयाँ संकलन भएको कोषले जनाएको छ।

त्यसैगरी, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा एक अर्ब २९ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजनामा दुई अर्ब ४८ करोड र अतिरिक्त योगदानमा एक अर्ब ५३ करोड रूपैयाँ जम्मा भएको कोषले जनाएको छ।

सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका योगदानकर्ताले करिब साढे ६ अर्ब रूपैयाँ भुक्तानी पाएका छन्।

सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गरी ल्याएको कार्यक्रममा सामाजिक सुरक्षामा सूचीकृत भएर योगदान गरेकाहरूलाई तोकिएको जोखिम सम्बोधन गर्दा ६ अर्ब ४४ करोड रूपैयाँ भुक्तानी गरेको कोषले जनाएको छ।

सामाजिक सुरक्षामा सूचीकृत भएर योगदान गरी अवकाश हुनेहरूले पाँच अर्ब ४८ करोड रूपैयाँ, औषधोपचारमा ७६ करोड १२ लाख, दुर्घटनामा आठ करोड ७५ लाख रूपैयाँ प्राप्त गरेका छन्। छैटौं सामाजिक सुरक्षा कोषको अवसरमा कोषले सोमबार यससम्बन्धी जानकारी दिएको हो।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत हरेक महिना श्रमिकको आधारभूत तलबको ३१ प्रतिशत रकम जम्मा हुन्छ। ३१ प्रतिशत मध्ये २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकको तलबबाट जम्मा हुन्छ।

सामाजिक सुरक्षा सबैको पहुँचमा पुर्‍याउँछौं-प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षाका कार्यक्रम सबै नागरिकको पहुँचमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

‘सामाजिक सुरक्षा कार्यक्रम सबै नागरिकसम्म पुर्‍याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी हुन दिँदैनौं,’ प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधारका रूपमा सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको हो।’

प्रधानमन्त्रीले नेपाली नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउने बताए।

प्रधानमन्त्री दाहालले सुरुकै चरणमा सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधा थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको बताए। ‘स्वास्थ्यमा सबैको सहज पहुँच पुर्‍याउनुपर्छ,’ उनले भने।

नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग आफूले बसाएको बताए। संविधानमा व्यवस्था भएको समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको उनको तर्क थियो।

Published on: 28 November 2023 | Nagarik

Link

Back to list

;