s

सामाजिक सुरक्षामा एक लाख ३५ हजार श्रमिक सामेल

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ। शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन्। यस्तै ११ हजार ९७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन्।

सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७३४ श्रमिक योजनामा सहभागी भएका छन्। प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ७०९, गण्डकी प्रदेशबाट पाँच हजार ५३, प्रदेश नं ५ बाट तीन हजार २३६, सुदूरपश्चिम प्रदेशबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ।

रोजगारदाताको आबद्धता प्रदेश नं ३ बाट बढी देखिएको छ। सो प्रदेशबाट सात हजार ९९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नंं ५ बाट ८५६, गण्डकी प्रदेशबाट ५४८, प्रदेश नं २ बाट ४७१, सुदूरपश्चिम प्रदेशबाट १२७ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन्।

कोषमा ३८ करोड ५३ लाख ७० हजार २५८ रुपैयाँ योगदान रकम सङ्कलन भएको छ। सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन्। कोषमा योगदान गर्ने तीन योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गरेका छन्।

गत मङ्सिर ११ गते शुभारम्भ गरिएको योगादनमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन। केन्द्रीय तथ्याङ्क विभागको अध्ययन अनुसार नेपालभर करिब ९ लाखको हाराहारीमा प्रतिष्ठान दर्ता भएका छन्। ती प्रतिष्ठानमा करिब २४ लाख बढी श्रमिक आबद्ध रहेको बताइन्छ।

कोषले चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट योगदानकर्ताले सामाजिक सुरक्षा प्राप्त गर्नेछन्।

Published on: 7 January 2020 | Nagarik

Link

Back to list

;