s

सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेको भन्दै सेक्युरिटी मजदुर आन्दोलनमा

जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयन नगरेको भन्दै सेक्युरिटी मजदुरहरूले आन्दोलन सुरु गरेका छन्। बालुवाटारस्थित जी फोर एस सेक्युरिटी सर्भिसेजले आफूहरूले पाइरहेको सेवा, सुविधासमेत घटाउने कार्य गरेको भन्दै अखिल नेपाल सेक्युरिटी मजदुर संघ आन्दोलनमा उत्रिएको हो।

संघले मंगलबार जी फोर एस सेक्युरिटी सर्भिसेजको कार्यालयअगाडि कालो ब्यानर र कालो झन्डासहित प्रदर्शन गरेको छ। कम्पनीले सामाजिक सुरक्षा कोषमा जानुपूर्व उपदान, सञ्चय कोषको रकम फिर्ता नगरेको, उपदानबापतको रकम नागरिक लगानी कोषमा जम्मा नगरी आर्थिक हिनामिनासमेत गरेको संघको आरोप छ। जी फोर एस व्यवस्थापनसँग पटकपटक वार्ता गरे पनि आफूहरूको माग सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनुपरेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ जी फोर एस कमिटीका अध्यक्ष राजेन्द्र पाठकले बताए।

संघले श्रम ऐन, २०७४, सामाजिक सुरक्षा ऐन, २०७४ पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेको छ। त्यसैगरी नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पाउनुपर्ने, एक वर्ष पूरा भएका श्रमिकको मासिक पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधाबराबरको वार्षिक ग्रेड रोकिएकाले त्यसलाई सुचारु गर्नुपर्ने संघको माग छ। सामाजिक सुरक्षा कोषमा जानुपूर्वको उपदान र सञ्चयकोषको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, श्रमिकको बिदा स्वीकृत गरी आठ घन्टाबराबरको पारिश्रमिक दिने व्यवस्था गर्नुपर्नेलगायतको माग पनि रहेको छ।

Published on: 5 January 2022 | Nayapatrika

Link

Back to list

;