s

सामाजिक सुरक्षा रकम जम्मा गर्न वित्तीय संस्थाको टुङ्गो लाग्यो

सीता शर्मा

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी रोजगारदाताले रकम जम्मा गर्ने वित्तीय संस्थाको टुङ्गो लागेको छ । यही साउन महिना १ गतेदेखि कार्यान्वयनमा ल्याएको उक्त योजनामा सहभागी भएकाहरूले सामाजिक सुरक्षाबापतको रकम जम्मा गर्ने बैङ्कको टुङ्गो लगाएको हो ।

योगदानकर्ताले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध आईपीएस भएका जुनसुकै बैङ्क तथा वित्तीय संस्थाबाट सामाजिक सुरक्षा कोषको नाममा नेपाल बैङ्कमा रहेको खाता नम्बर ००२११६०६७२–००१२०००००२ मा रकम जम्मा गर्न सकिने कोषले जनाएको छ । एनसीएचएल नेपाल राष्ट्र बैङ्कबाट सम्बन्धन प्राप्त संस्था हो । एनसीएचएलसँग २५ वटा बैङ्क, १९ वटा विकास बैङ्क र नौवटा फाइनान्स कम्पनी रहेका छन् ।

कोषका निर्देशक रमा भट्टराईले रोजगारदाता तथा योगदानकर्ताले सम्बन्धित बैङ्कमा गएर वा अनलाइनबाट समेत कोषको खातामा रकम जम्मा गर्न सकिने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो । कोषले सूचनामार्फत साउन महिनाको पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा नियमानुसार सञ्चय कोष र उपदानलगायत आधारभूत पारिश्रमिकको ३१ प्रतिशतले हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न आग्रह गरेको छ । सूचीकृत भएका रोजगारदाताले आ–आफ्नो संस्थानमा योगदान गरेका योगदानकर्ताको भदौ १५ गतेसम्म कोषमा रकम जम्मा गर्न सक्ने गरिने व्यवस्था गरिएको पनि कोषका निर्देशक भट्टराईले जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले सामाजिक सुरक्षा कोष र सञ्चय कोषका उच्च अधिकारीसमेतको बैठकको निर्णयअनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका रोजगारदाता संस्थाका योगदानकर्ताको साउनको पारिश्रमिक भुक्तानी गर्दा नियमअनुरूप सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने गरी अनिवार्य व्यवस्था जानकारी दिनुभयो । उहाँका अनुसार सूचीकृत रोजगारदाताले सञ्चयकोष र उपदानलगायत आभारभूत पारिश्रकिको ३१ प्रतिशत हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न‘पर्नेछ ।

कोषका अनुसार सूचीकृत नभएका रोजगारदाता र श्रमिकलाई सूचीकृत हुन आउँदो असोज मसान्तसम्मको समय दिएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रियामा रहेका अन्य श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुञ्जेल सम्बन्धित रोजगारदाताले साबिकबमोजिम नै योगदान रकम जम्मा गर्न बाधा नपर्ने पनि कोषले जनाएको छ ।

कोषका अनुसार बुधबारसम्मा पाँच हजार रोजगारदाताको हारहारीमा रोजगारदाता र झण्डै ३५ हजार श्रमिक सूचीकृत भएका छन् । कार्यविधि परिमार्जन गरेर कोषले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

कोषमा जम्मा गर्नुपर्ने रकम

कोषले प्रारम्भमा औषधोपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनासहित चारवटा योजना सञ्चालन गर्नेछ । यस योजनामा सहभागी हुन आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने व्यवस्था रहेको छ । जसमध्ये सम्बन्धित रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

त्यसो त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको सामाजिक सुरक्षा ऐन २०७४, नियावली २०७५ र कार्यविधि २०७५ ले औपचारिक र अनौपचारिक क्षेत्रमा मात्रै काम गर्ने नभई अन्य स्वरोजगारको क्षेत्रलाई समेत समेटेको छ ।

Published on: 15 August 2019 | Gorkhapatra

Back to list

;