s

सामाजिक सुरक्षा + लचकता . औद्योगिक विकास

लीलानाथ घिमिरे
 
मजदुर-मालिकसँगै
 
विश्वभरका मजदुरले मंगलबार मे दिवस मनाइरहँदा ललितपुरको पुल्चोकस्थित दक्षिणकाली यातायात सेवाको कार्यालयमा भने फरक खालको माहौल थियो । कम्पनीका मजदुर नाराजुलुस गर्दै सडकमा निस्केनन् । मजदुरले सधैं मालिकले शोषण गरेको भन्दै मजदुरले एकोहोरो गाली बर्साउने अवसरका रूपमा चिनिँदै आएको मे दिवसलाई त्यहाँ कार्यरत झन्डै ५० जना चालक, सहचालक र कर्मचारीले कम्पनीका सञ्चालकसँगै मिलेर चाडको रूप दिए । 
 
कम्पनीले सञ्चालन गर्दै आएको २१ वटा बसका कर्मचारीलाई सुरुमा ट्राफिकले सडक अनुशासनबारे प्रशिक्षण दिए । हिन्दु विद्यापीठका प्राचार्य चिन्तामणि योगीले सकारात्मक रूपमा कसरी बाँच्ने भन्नेबारे प्रवचन दिए । त्यसपछि सुरु भएको औपचारिक कार्यक्रममा वर्षभरि उत्कृष्ट काम गर्ने चालक, सहचालक र कर्मचारीलाई दक्षिणकालीका सञ्चालक किरण थापाले पुरस्कृत गरे । दत्तचित्त भएर काम गरेबापत चालक वीरबहादुर घलान, कर्मचारी विजयराज काफ्लेले जनही ७ हजार र सहचालक श्याम भुजेलले ३ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै कम्पनीले धूमपान छाडेका ७ जना चालक र सहचालकलाई जनही १ हजार १ सय रुपैयाँका दरले धूमपान निरोध सम्मान प्रदान गर्यो  । 
 
कार्यक्रममा बोल्ने अधिकांश मजदुरले कम्पनीमा मालिक- कामदारको विभेद नरहेको बताए । 
नेपाल वायुसेवा निगम, रोयल क्यासिनो, रातो बंगला स्कुल, जनक शिक्षा सामग्री केन्द्र, महान्यायाधिवक्ताको कार्यालयलगायता कर्मचारीलाई यातायात सेवा उपलब्ध गराउँदै आएको कम्पनीले त्यहाँ कार्यरत कर्मचारीलाई श्रम ऐनले प्रदान गरेको सबै सुविधा दिएको सञ्चालक थापाले जानकारी दिए । 'मेरो कम्पनीमा काम गर्ने सबै मजदुरले सबै प्रकारका बिदा, सञ्चयकोष, स्थायी नियुक्तिलगायत ऐन अनुसारका सबै सुविधा पाएका छन्,' उनले भने, 'त्यसैले उनीहरूले इमान्दारितापूर्वक काम गरेका छन् । हाम्रोमा मजदुर र सञ्चालकबीच सौहादर््रपूर्ण सम्बन्ध छ ।' कम्पनीका चालक वीरबहादुर घलानले पनि दक्षिणकालीमा एकै परिवारको सदस्यका रूपमा काम गरेको अनुभूति भएको बताए ।
 
मे दिवसको दिनलाई रमाइलो गरेर चाडका रूपमा मनाउन सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यहाँ गायक शिशिर योगी, उनका छोरा संगोग, सुवर्णलता थापालगायतले गीत र भजन गाएर सबैलाई मुग्ध पारे । कम्पनीले चिट्ठा, बिंगोलगायतका कार्यक्रम गरेर सहभागी सबैलाई भरपुर मनोरञ्जन दिएको थियो । बिहान खाजा खाएर सुरु भएको कार्यक्रम सबैलाई दिवा भोजमा सरिक गराएपछि टुंगिएको थियो ।
 
दक्षिणकालीले विगत ४ वर्षदेखि कम्पनी सञ्चालक र मजदुर मिलेर मे दिवसलाई सौहादर््रपूर्ण चाडका रूपमा मनाउँदै आएको छ । 'यहाँ हामी कोही मजदुर र मालिक छैनौं,' कम्पनीका सञ्चालक थापा भन्छन्, 'सञ्चालकले पनि आफ्नै पेट पाल्न लगानी गरेको हो ।

सधैंजसो उद्यमी र व्यवसायीबीचको द्वन्द्वबारे चर्चा हुने दिन भए पनि यसपटकको मजदुर दिवसमा दुवै पक्ष फरकखाले बहसमा थिए । बिस्तारै सुमधुर हुन थालेको मजदुर उद्यमीको सम्बन्धलाई थप विस्तार गर्न युरोपेली मुलुकमा सफल मानिएको नयाँ सम्बन्ध सूत्र यतिखेर चर्चामा छ । मजदुरका तर्फबाट लचकता र उद्यमीका तर्फबाट सामाजिक सुरक्षाको ग्यारेन्टी । अर्थात् सामाजिक सुरक्षा र लचकता जोडेर औद्योगिक विकास ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य व्यवसायीहरूले सामाजिक सुरक्षा र लचकतालाई सँगै उठाएको बताए । 'कामदारको सामाजिक सुरक्षाका लागि हामी तयार छांै,' उनले भने, 'त्यसका लागि लचकताको सुविधा पाउनुपर्छ ।' यो भए दुवै पक्षको जितको अवस्था आउने दुवै पक्षको बुझाइ छ ।
 
'कामदारको सामाजिक सुरक्षा पछि रोजगारदाताले नो वर्क नो पे र हायर एन्ड फायरको अधिकार पाउनुपर्छ,' उनले भने । यसका लागि मुख्य ट्रेड युनियनहरू सहमत भएको उनले बताए । 'सरकारले छिट्टै श्रम ऐन ल्याउनुपर्छ,' उनले भने ।
 
उत्पादकत्व क्षमता, गुणस्तरीय उत्पादन र समयमा समान दिन सक्ने अवस्था आउन लचकता र सुरक्षा दुवै आवश्यक भएको अर्थविद् चिरञ्जीवी नेपाल बताउँछन् । नेपाली कामदारको उत्पादकत्व क्षमता दक्षिण एसियामै सबैभन्दा कम छ । श्रमिक आन्दोलनका कारण बन्द भएको उद्योगको संख्या पनि उच्च छ । 
 
'लचकता प्लस सुरक्षा भयो भने औद्योगिक समस्या समाधान हुन्छ,' अर्थविद चिरञ्जीवी नेपाल भन्छन्, 'विश्वका धेरै मुलुकले यो मोडल अपनाएर सफल भएका छन् ।' यसमा कामदारको सामाजिक सुरक्षाको प्रत्याभूति अनिवार्य हुन्छ । उनले भने, 'सरकारसँग मिलेर रोजगारदाताले सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ ।'
 
विश्वमा सन् १९९० पछि औद्योगिक नीतिले श्रम नीतिलाई निर्दिष्ट गरेको अवस्था भए पनि नेपालमा त्यसो हुन नसक्नु समस्या भएको नेपालले बताए । '९० अगाडि रहेको श्रम नीतिले औद्योगिक 
 
नीतिलाई निर्दिष्ट गरेको छ,' उनले भने । यसो त विश्व बैंकको एक प्रतिवेदनले पनि नेपालको श्रम कानुन अनियन्त्रित भएको कुरा सार्वजनिक गरिसकेको छ । 
 
अध्यक्ष वैद्यले न्यूनतम वेतन समस्याका रूपमा रहेको बताए । 'न्यूनतम तलब निर्धारणका लागि बोर्ड गठन गर्नुपर्छ,' उनले भने, 'यसका लागि उद्योगमा धम्की र त्रासको वातावरण सिर्जना हुन हुँदैन ।' पछिल्लो समयमा टे्रड युनियनका नेतामा उत्तरदायित्व बढेको भन्दै उनले भने, 'सुधारको आशा गर्न सकिन्छ ।' 
 
नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमालले कामदारलाई दोष लगाउने काम बढी भएको बताए । 'कम तलब दिने अनि धेरै काम लगाउन खोज्ने बानी व्यवसायीमा छ,' उनले भने, 'धेरै काम धेरै तलबको व्यवस्था हुनुपर्छ ।' कामदारको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने उनले बताए ।
 
Published on: 1 May 2012 | Kantipur

Back to list

;