s

सामाजिक सुरक्षा कोषमा सरकारले १८ करोड पठायो

सरकारले सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताका तर्फबाट चैत महिनाको योगदान रकम जम्मा गरिदिएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई पत्राचार गरेर श्रमिक र रोजगारदाताका तर्फबाट चैत महिनाको योगदानका लागि १८ करोड ६६ हजार रुपैयाँ निकासा गरेको जानकारी गराएको छ । उक्त रकम कोषको खातामा आइसकेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । 

कोरोना महामारी र त्यसको रोकथामका लागि गरिएको लकडाउनबाट उद्योग–व्यवसाय प्रभावित भएको भन्दै सरकारले चैत महिनाका लागि श्रमिक र रोजगारदाताको तर्फबाट कोषमा रकम जम्मा गरिदिएको हो । यसअघि १६ चैतमा मन्त्रिपरिषद्ले ‘सामाजिक सुरक्षामा आबद्ध यस्ता प्रतिष्ठानमा आबद्ध श्रमिक तथा रोजगारदाताहरूको तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने’ निर्णय गरेको थियो । सोही निर्णयअनुसार अर्थ मन्त्रालयले रकम निकासा गरिदिएको हो । 

‘यसपटकको समस्या भनेको आन्दोलनबाट हुने समाधान होइन, विशेष परिस्थिति हो, सबै मिलेर जानुपर्छ, एकोहोरो ढंगबाट निर्णयबाट हुनुहुँदैन । हामी श्रमिकले पनि छाड्नुपर्छ, उद्योगीले पनि छाड्नुपर्छ र सरकराले पनि केही हेरिदिनुपर्छ ।’

हालसम्म सामाजिक सुरक्षा कोषमा ८ सय ६१ उद्योग, प्रतिष्ठानका ३३ हजार ३ सय २१ श्रमिक आबद्ध छन् । सामाजिक सुरक्षा कोषमा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम दाखिला गर्नुपर्ने हुन्छ । यसमा २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकको योगदान हुन्छ । सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई हाल कोषमा मासिक रूपमा जम्मा हुने रकमको जानकारी गराएको थियो । सोही आधारमा अर्थले श्रमिक र रोजगारदाताको तर्फबाट हुने योगदानको कुल रकम १८ करोड ६६ हजार निकासा गरिदिएको ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले चैत महिनाको तलब रोजगारदाताले दिनुपर्ने र सामाजिक सुरक्षामा योगदान सरकारले गर्ने निर्णय गरेको थियो । सरकारले आफ्नो निर्णयअनुसार कोषमा रकम जम्मा गरिदिए पनि रोजगारदाताले भने अझै श्रमिकको तलब दिएको छैन । कतिपय उद्योग, प्रतिष्ठानले पूरा तलब दिन नसक्ने भन्दै निर्णयमा पुनरावलोकन गरिदिन सरकारलाई आग्रहसमेत गर्दै आएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का अध्यक्ष विनोद श्रेष्ठले पनि थुप्रै उद्योग, प्रतिष्ठानले श्रमिकलाई चैत महिनाको तलब भुक्तानी नदिएको बताए । ‘चैत महिनाको पूर्ण तलब दिनुपर्ने सरकारले नै निर्णय गरिसकेको, सरकारले सामाजिक सुरक्षा कोषमा रकम दाखिला गरिदिइसकेको छ,’ उनले भने, ‘तर, कतिपय होटेल, उद्योगलगायत प्रतिष्ठानले श्रमिकलाई चैत महिनाको तलब दिने विषयमै विवाद गरिरहेका छन् ।’ वैशाख महिनाको तलब के–कति दिने, कसरी दिने भन्नेलगायत विषयमा छलफल गर्न सकिने भए पनि चैतको महिना भने रोजगारदाताले निःसर्त रूपमा दिनुपर्ने उनको भनाइ छ ।

Published on: 21 April 2020 | Naya Patrika

Link

Back to list

;