s

सामाजिक सुरक्षा कोषमा सहभागिता बढाउन महासंघले छलफल चलाउने

नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा सहभागिता बढाउन छलफल चलाउने भएको छ । महासंघको बुधबार बसेको कार्यसमिति बैठकले सबै व्यावसायिक प्रतिष्ठानहरूसँग छलफल गरी सामाजिक सुरक्षा कोषमा सहभागिता बढाउने निर्णय गरेको हो । सामाजिक सुरक्षा कोषमा देखिएका समस्या समाधान गर्न तथा त्यसमा सहभागिता बढाउने विषयमा छलफल गर्ने निर्णय गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘सामाजिक सुरक्षा कोषमा थुप्रै समस्या छन्, धेरै सुधारको खाँचो छ,’ उनले भने, ‘तर, महासंघले प्रतिबद्धता जनाइसकेकाले पछि हट्ने कुरा आउँदैन, त्यसैले यसलाई थप छलफल गरी अघि बढ्ने निर्णय गरेका हौँ ।’

सामाजिक सुरक्षा कोषले अझै पनि श्रमिकलाई आकर्षण गर्न नसकेको उद्योगी–व्यवसायीले बताउँदै आएका छन् । कोषमा जम्मा गरेको रकममा ब्याज नआउने, कोषमा योगदान गर्नेले कर्जा नपाउने, योगदानको मात्राअनुसारको सुविधा निर्धारण नभएकोलगायत कारण श्रमिकहरू कोषमा आकर्षित नभएको उनीहरूले बताएका छन् । कोषमा सुधारका लागि आवश्यक पहलसमेत गर्ने र सहभागितासमेत बढाउने महासंघले योजना बनाएको उनले बताए ।

यस्तै, महासंघले उद्योगी–व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । राज्यका तर्फबाट विभिन्नखाले व्यवहार तथा रबैयाले स्वदेशी तथा विदेशी लगानीको वातावरणमा प्रतिकूल असर परेको भन्दै महासंघले यसबारे सरकारको ध्यानाकर्षण गराउने भएको हो । ‘उद्योगी–व्यवसायीहरूमाथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यहार–रबैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न सक्नेछ,’ निर्णयमा भनिएको छ, ‘मुलुकभित्रका उद्यमी–व्यवसायीलाई राज्यका सबै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणाअनुरूप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने ।’

Published on: 15 November 2019 | Naya Patrika

Link

Back to list

;