s

सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग गर्दै सरकारी श्रमिक

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारसँग माग गरेको छ ।

विभिन्न सरकारी निकायमा काम गर्दै आएका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई कोषमा आबद्ध गर्न अर्थ मन्त्रालयले निकासा गरिसकेको बजेटसमेत रोकेर कर्मचारीलाई विभेद गरेको संघले गुनासो गरेको छ । संघले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालसँग यस्तो माग गरेको हो ।

त्यस्तै, संघले सरकारमातहतका कार्यालयहरूमा ठेकेदारी पदबाट कर्मचारी राख्ने व्यवस्थाको अन्त्य गरी करार सम्झौताको व्यवस्था मिलाउन आग्रह गरेका छन् । साथै, श्रेणीविहीन कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया नै बन्द गर्न आग्रह गरेका छन् । सम्पूर्ण श्रेणीविहीन कर्मचारीलाई एकपटकका लागि उमेर हदबन्दी नलगाई स्वतः स्थायी गरी अबउप्रान्त करार गर्ने व्यवस्थाको अन्त्य गर्नसमेत उनीहरूले माग गरेका छन् ।

त्यस्तै, संघले नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा सम्पूर्ण अस्थायी करार ज्यालादारी कर्मचारीलाई समावेश गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धताको सुनिश्चित गर्न पनि माग गरेको छ ।

Published on: 27 January 2023 | Naya Patrika

Link

Back to list

;