s

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना भए उपचार खर्च

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकलाई कोरोना भएमा उनीहरूको उपचार खर्च कोषले बेहोर्ने छ। त्यस्तै सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भए मृतकका आश्रित परिवारले सुविधा पाउने कोषका प्रवक्ता विवेक पन्थीले सेतोपाटीलाई जानकारी दिए।

'कोषले अघि सारेका योजनामा पर्ने सबै सेवासुविधा सूचीकृत कोरोना संक्रमित श्रमिकले पाउनुहुन्छ। बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधा पाउनुहुन्छ,' प्रवक्ता पन्थीले भने, 'मृत्यु भएमा आश्रित परिवार सुविधा योजना अन्तर्गतको सुविधा आश्रित परिवारले पाउनुहुन्छ।'

कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन। संक्रमण भएकाले भने उपचार खर्च बापतको रकम पाइराखेको कोषले जनाएको छ। 

सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिकले कोरोना भएर घरैमा उपचार गराएको अवस्थामा वार्षिक २५ हजार रूपैयाँसम्म दावी भुक्तानी गर्न पाउँछन्। अस्पताल भर्ना भई उपचार गरे वार्षिक एक लाख रूपैयाँसम्म उपचार खर्च पाउँछन्।

यो सुविधा पाउन श्रमिकले कोषमा योगदान गर्न सुरू गरेको तीन महिना पूरा भएको हुनुपर्छ। त्यस्तै योगदान गर्न छाडेको तीन महिना नकटेसम्म लागू हुनेछ।

कोरोनाका कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भए खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान वा श्रीमती) लाई आजीवन निवृत्तिभरण दिइनेछ। छोराछोरीको हकमा उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिकवृत्तिका रूपमा दिने व्यवस्था छ। एकभन्दा बढी सन्तान भएमा सोही रकम दामासाहीले पाउने व्यवस्था छ।

यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ। शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने उमेर हद लागू हुने छैन। यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिकवृत्ति वापत रकम पाउने छन्।

मृतक योगदानकर्ता अविवाहित भए उसमा आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ। आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्यत्रबाट माथि उल्लेखितभन्दा बढी सुविधा पाउने भए यो सुविधा दिइने छैन।

त्यस्तै मृतकका हकवालाले अन्तिम संस्कार खर्चबापत २५ हजार रूपैयाँ पाउने व्यवस्था छ। हकवालाले यस्तो रकम एकमुष्ठ पाउने कोषले जनाएको छ।

'कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उसको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ दिइनेछ,' सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (दोस्रो संसोधन)मा भनिएको छ।

हाल सामाजिक सुरक्षा कोषमा १३ हजार ७ सय ८३ रोजगारदाता र २ लाख ३ सय ७६ श्रमिक सूचीकृत छन्। सूचीकृतमध्ये दुई हजार १ सय ६ जना श्रमिक लाभान्वित भएका छन्। हालसम्म कोषले विभिन्न सेवासुविधा अन्तर्गत ७ करोड २९ लाख रकम दावी भुक्तानी गरिसकेको जनाएको छ।

Published on: 2 May 2021 | Setopati

Link

Back to list

;