s

सामाजिक सुरक्षा कोषले थप्यो स्किम

१७ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् ।

बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् ।

यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले १७ जेठदेखि लागु हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् ।

कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई ९ महिनाबाट घटाएर ३ महिनामा झारेको छ ।

यसअघि कोषमा योगदान गर्न थालेको ९ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि ३ महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने ।

Published on: 31 May 2024 | Onlinekhabar

Link

Back to list

;