s

सामाजिक सुरक्षा कोषको एक वर्ष : कति सफल कति असफल ?

सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले एक वर्ष पूरा गरेको छ ।श्रमिकहरुको सामाजिक सुरक्षाका लागि जुन उत्साहका साथ योजना ल्याइएको थियो त्यो अनुरुपमा काम भने हुन सकेको छैन् ।

संरचनागत तथा व्यवहारिक कठिनाइका कारण कार्यक्रम घोषणा भएको करिब नौ महिनापछि गत साउनबाट श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुने क्रम सुरु भयो ।

अन्योलमा श्रमिक र रोजगारदाता

निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सुरु गरिएको भनिएको कार्यक्रमले सुरुवाती चरणमा निकै प्रशंसा र आलोचना बटुलेले पनि लामो समयसम्म सरकार आफैं, श्रमिक र रोजगारदाता अन्योलमा पारे ।

कोषले कस्ता कम्पनी वा प्रतिष्ठानलाई समेट्छ, श्रमिक र राजगारदातालाई हुने फाइदालगायतका विषयमा रहेका द्विविधा लामो समयसम्म कायम रहयो ।

अनिवार्य आवद्धता र निजी क्षेत्रको चासो

गत १ साउनबाट कार्यान्वयनमा ल्याइएको योजनालाई सरकारले प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताको आवद्धता अनिवार्य गरेको छ ।

असोज मसान्तसम्म आवद्धताको अन्तिम मिति तोकिएपनि अपेक्षाअनुरुप रोजगारदाता तथा योगदानकर्ता कोषमा सूचिकृत नभएपछि सरकारले सूचिकृत हुने मिति दुई महिना बढाएर मंसिर १४ सम्म पुर्‍याएको छ ।

असोज मसान्तसम्म कोषमा एक लाख नौ सय ६८ योगदानकर्ता तथा आठ हजार आठ सय १८ रोजगारदाता सूचिकृत भएको कोषका प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म कोषमा ११ हजार रोजगारदाता तथा एक लाख १६ हजार श्रमिक आबद्ध भइसकेका छन् ।

पछिल्लो समय नेपालको बैंक तथा वित्तीय क्षेत्र तथा निजी तथा आवासीय स्कुलहरुले पनि कोषमा सूचिकृत हुने प्रतिवद्धता व्यक्त गरेको छन् । निजी क्षेत्रले देखाएको चासोबाट सरकार उत्साहित भएको छ ।

कोषमा आवद्ध नहुँदा के हुन्छ ?

सरकारले पछिल्लो पटक थप गरिएको १४ कार्तिक देखि १४ मंसिरसम्मको समयसीमाभित्र कोषमा आवद्ध नहुने रोजगारदातालाई कानुन दायरामा ल्याउने चेतावनी दिँदै आएको छ । तर, सूचिकृत नहुने श्रमिक तथा रोजगारदातालाई कारबाही हुने वा आबद्ध हुन पुनः म्याद थप गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता भट्टराईले बताइन् ।

‘कोषमा आबद्ध हुन बारम्बार म्याद थप गरिएको भन्दै आलोचना भइरहेको छ,’ उनले भनिन्, ‘सूचिकृत नभएका संघसंस्थालाई कर तिर्ने, नवीकरण गर्ने सन्दर्भमा रोक लगाउनेजस्ता कानुनी प्रक्रिया अपनाउने विषयमा छलफल भइरहेको छ ।’

के हो योगदानमा आधारित सामाजिक सुरक्षा योजना ?

श्रमिकले श्रम बेचेर कमाएको रकमबाट केही प्रतिशत कोषमा योगदान गरेवापत जीवनका विभिन्न चरणमा प्राप्त हुने सेवा सुविधालाई यो योजनाले समेटेको छ ।

कोषमा रकम जम्मा गर्न सुरु गरेपछि योजनाकर्ताले प्रारम्भिक उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनासहित चार वटा सुरक्षा योजनाबाट लाभ लिन सक्नेछन् ।

Published on: 28 November 2019 | Naya Patrika

Link

Back to list

;