s

सामाजिक सुरक्षा कोष : योगदानकर्ताका आश्रितलाई पेन्सन सुरु

होम कार्की

क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालिमा कार्यरत मकवानपुरका इन्जिनियर रूपेन्द्र थापाले गत साउनदेखि सामाजिक सुरक्षा कोषमा योगदान गर्दै आएका थिए । उनको असोजमा सडक दुर्घटनामा परी मृत्यु भयो । साउनदेखि नै कोषमा योगदान गर्दै आएका कैरोस क्याफेमा कार्यरत काभ्रेका प्रकाश मोक्तानको पनि असोजमै सवारी दुर्घटनामा परेर मृत्यु भयो ।

अब रूपेन्द्रकी श्रीमती सुस्मिता क्षत्रीले मासिक १७ हजार १ सय रुपैयाँ र प्रकाशका आमाबुबाले १० हजार २ सय रुपैयाँ बाँचुन्जेल पेन्सन पाउने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बन्धित परिवारजनलाई बुधबार पेन्सन कार्ड हस्तान्तरण गरेका छन् ।

योगदानमा आधारित कोष कार्यान्वयनमा आएपछि आजीवन पेन्सन पाउन थाल्ने यी योगदानकर्ताका पहिलो आश्रित परिवार हुन् । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार दुवै परिवारले कात्तिकदेखिको पेन्सन पाउँछन् । ‘योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भए पति वा पत्नी वा एकाघरका बाबुआमामध्ये एकले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले जीवित रहेसम्म कोषले निवृत्तभरण उपलब्ध गराउँछ,’ ज्ञवालीले भने, ‘मृत्यु भएका योगदानकर्ताका सन्तान अध्ययनरत रहे २१ वर्ष उमेर नभएसम्म शैक्षिक वृत्ति पाउँछन् ।’ उनका अनुसार एकभन्दा बढी सन्तान भए आधारभूत पारिश्रमिकको ६० प्रतिशत दामासाहीले प्रदान गर्ने व्यवस्था छ ।

रूपेन्द्र र प्रकाशले कोषमा जम्मा गरेको रकम सम्बन्धित परिवारले फिर्ता पाइसकेका छन् । कोषले दुर्घटना सुरक्षा योजना, औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था योजना लागू गरेको छ ।

कहिले कुन सुविधा ?

दुर्घटना सुरक्षा योजना कोषमा रकम जम्मा भएकै मितिबाट लागू हुन्छ । व्यवसायजन्य रोगको सुविधा कोषमा योगदान गरेको दुई वर्ष पछाडि सुरु हुन्छ । रोजगारीजन्य दुर्घटना र व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सबै खर्च कोषले व्यहोर्ने व्यवस्था छ । रोजगारीजन्यबाहेक अन्य दुर्घटना भए कोषले ७ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ ।

कोषमा तीन महिना योगदान गर्नेलाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा दिइनेछ । योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनासम्म कोषले यस्तो सुविधा उपलब्ध गराउनेछ । रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा (६० दिन) पाउने अवधिबाहेक थप ३८ दिनका लागि खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत प्रसूति बिदाको रकम सुविधाबापत प्राप्त हुन्छ । नवजात शिशु स्याहारका लागि एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने व्यवस्था छ । बिरामी भए १ लाख रुपैयाँसम्मको खर्च पाइनेछ ।

पेन्सन कति ?

कोषमा १५ वर्ष योगदान गर्नेलाई ६० वर्ष उमेर पुगेपछि पेन्सन दिने व्यवस्था छ । योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताको तर्फबाट भएको योगदानसमेत) र कोषले गर्ने लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवन कालभर निवृत्तिभरण दिइने हो । ‘कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भए हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट प्रदान गरिनेछ,’ ज्ञवालीले भने ।

कुनै व्यक्तिले १८० महिना योगदान नगर्दै ६० वर्ष उमेर पूरा गरे त्यस्तो योगदानकर्ताले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकम एकमुष्ट रूपमा लिन वा कुल रकमलाई १८० महिनाले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर निवृत्तिभरण लिन पाइने व्यवस्था छ । ‘पेन्सन लिने कि एकमुष्ट रकम लिने भन्ने श्रमिकलाई विकल्प दिइएको छ,’ उनले भने, ‘निवृत्तिभरण प्राप्त गर्न सुरु गरेपछि १८० महिना नपुग्दै योगदानकर्ताको मृत्यु भए निजको पति वा पत्नीलाई ५० प्रतिशतले हुन आउने रकम आजीवन दिइनेछ ।’

रोजगारदाता परिवर्तन गर्न पाइने

एउटा रोजगारदाता (संस्था) छाडेर अर्को संस्थामा गए पनि श्रमिकको सुरक्षा नम्बर पहिलेकै कायम रहने गरी योगदान रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । रोजगारीमा नरहेको अवस्थामा पनि चाहे नियमित रूपमा रकम जम्मा गरी सुविधा प्राप्त गर्न सकिन्छ । ‘काम गरिरहेको रोजगारदाता (संस्था) छाडेर आफ्नो कम्पनी सञ्चालन गर्नुपरे आफ्नो कम्पनीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने र आफूलाई त्यस कम्पनीको योगदानकर्ताका रूपमा दर्ता गरी सुरक्षा योजनालाई निरन्तरता दिन सकिन्छ,’ ज्ञवालीले भने, ‘विदेशमा स्थायी बसोबास गर्न जाने अवस्था भए एकमुष्ट रूपमा भुक्तानी लिन पाइन्छ ।’
०७६ साउनअगावै सञ्चय कोष जम्मा गरेको र उपदानको व्यवस्था भएका प्रतिष्ठानका श्रमिक कर्मचारीको हकमा समेत सुरक्षा कोषमा सूचीकरण हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उनले बताए । ‘यस्ता योगदानकर्तालाई पेन्सन योजना र अवकाश सुविधा योजनामध्ये कुनै एक छनोट गर्न पाउने विकल्प दिइएको छ,’ उनले भने ।

०७६ साउनदेखि रोजगारीमा आएका श्रमिकको हकमा कोषमा १५ वर्ष योगदान गरेपछि अनिवार्य पेन्सन योजनामा सहभागी हुनुपर्नेछ । ६० वर्ष उमेर पुग्दासम्म पनि १५ वर्षे योगदान नपुगे अवकाश सुविधा लिन पाउने सुविधा छ । ‘६० वर्ष पूरा भएका व्यक्ति रोजगारीमै रहे सामाजिक सुरक्षामा कोषमा निरन्तरता दिन अनिवार्य छैन तर स्वेच्छाले निरन्तरता दिन सक्ने व्यवस्था छ,’ उनले भने ।

नेपाल सरकार वा अन्यन्त्रबाट समेत पेन्सन पाइरहेको व्यक्तिले कोषमा रकम जम्मा गरेको १५ वर्ष पूरा भए कोषबाट समेत पेन्सन पाइन्छ । मुद्रास्फीतिअनुसार पेन्सन रकम वृद्धि हुँदै जाने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए ।

Published on: 28 November 2019 | Kantipur

Link

Back to list

;