s

सामाजिक सुरक्षा कोष : पेन्सन र अवकाश दुवै सुविधा

होम कार्की

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५ लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनाइएको हो । कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

‘वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पेन्सन योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ,’ कोषका प्रवक्ता विवेक पन्थीले भने, ‘पहिला योगदानकर्ताले यी दुई योजनामध्ये एउटा रोज्नुपर्थ्यो, अब दुवै सुविधा पाउँछन् ।’ पेन्सन बढी पाउनका लागि भाग गर्ने समय पनि घटाइएको उनले जानकारी दिए । ‘६० वर्ष बितेपछि २० प्रतिशत रकम पेन्सनमा आउने भयो । पहिला जम्मा भएकोलाई १८० ले भाग गरेर आउने रकम दिने व्यवस्था थियो भने अब १६० ले भाग गरेर आउने रकम आजीवन पाउँछन्,’ उनले भने ।

रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट न्यूनतम तलबको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । योगदानकर्ताले आउँदो असार मसान्तभित्र कोषमा रकम जम्मा गरेमा पेन्सनबापत जम्मा हुने २० प्रतिशत रकमलाई अवकाश सुविधा योजनामा राखिनेछ ।

यो योजनामा राखिएको रकम आफूले चाहेको समयमा पूरा वा सापटीका रूपमा पनि निकाल्न सकिनेछ । ‘जागिरबाट अलग हुनेबित्तिकै योगदानकर्ताले चाहेमा एकमुष्ट रकम झिक्न पाउनेछन् । जागिरमा छँदै भने उसले ८० प्रतिशतसम्म विशेष सापटीका रूपमा निकाल्न पाउनेछ,’ प्रवक्ता पन्थीले भने, ‘यसअघि ६० वर्षसम्म नपुगेमा झिक्न पाइँदैनथ्यो ।’

यस्तै, योगदानकर्ताले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तिभरण योजनामा जम्मा हुने सीमाभन्दा धेरै रकम र ६० वर्ष उमेर पुगेका योगदानकर्ताको निवृत्तिभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ । सञ्चय कोष र नागरिक लगानी कोषमा ३ लाखसम्म छुट हुन्छ भने कोषमा आउँदा ५ लाखसम्म छुट दिने व्यवस्था गरिएको छ । मासिक एक लाख २६ हजार रुपैयाँभन्दा बढी तलब खाने योगदानकर्ताले चाहेमा त्योभन्दा बढी निवृत्तिभारण कोषमा नराखेर अवकाश सुविधा योजनामा राख्न सकिनेछ ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको छ । यस्तो सुविधा पाउन एकैपटक तीन महिनाको जम्मा गर्न पाइँदैन । निरन्तर योगदान गर्ने श्रमिकले वार्षिक रूपमा औषधोपचारमा २० हजार रुपैयाँ र अस्पतालमै बसेर उपचार गरेमा ८० हजार रुपैयाँसम्मको सुविधा पाउँछन् ।

पन्थीका अनुसार व्यवसायजन्य रोगका कारण पूर्णरूपमा अशक्त भएमा न्यूनतम तलबको ३ गुणासम्म पेन्सन दिने सुविधा दिएको छ । यसअघि सरकारले तोकेको आधारभूत न्यूनतम तलबको ३ गुणासम्म नबढ्ने गरी दिने व्यवस्था थियो । कोषमा १३ हजार रोजगारदाताले एक लाख ८९ हजार जनालाई सूचीकरण गरेका छन् ।

Published on: 18 February 2021 | Kantipur

Link

Back to list

;