s

सामाजिक सुरक्षा : एक ऐतिहासिक उपलब्धि

श्रमप्रतिको सम्मान बढाउने यो कार्यक्रमले आन्तरिक रोजगारी विस्तार गर्दै वैदेशिक रोजगारीको निर्भरता घटाउन भूमिका खेल्नेछ आमनेपालीको जीवनमा दीर्घकालीन महत्व राख्ने सामाजिक सुरक्षा योजना ऐतिहासिक रूपमा शुभारम्भ भएको छ । सामाजिक सुरक्षा सुरुवातको ऐतिहासिक घडीबाट नेपाल एक नयाँ युगमा प्रवेश गरेको छ । हामीले विगतको अनिश्चितता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सुरक्षित र सुनिश्चित नयाँ यात्रा सुरु गरेका छौँ । श्रम गरेर जीविकोपार्जन गर्नेहरू र रोजगार प्रदान गर्ने उद्यमी–व्यवसायी दुवैका लागि यो अत्यन्तै महत्वको दिन हुनेछ ।

नेपाल सरकारले मंसिर ११ लाई प्रत्येक वर्ष सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय पनि गरेको छ । यो प्रयासबाट आगामी दिनमा श्रमजीवीहरूको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थाको अन्त्य हुनेछ । उनीहरूले आफ्नो भविष्यप्रति निश्चिन्त भई मर्यादित श्रम गर्न र सम्मानित जीवनयापन गर्न पाउनेछन् । रोजगारदाताले आफ्ना प्रतिष्ठानहरूमा औद्योगिक सम्बन्ध कायम राखेर ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त गर्नेछन् ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनले नेपाली समाज र आमजनताको जीवनमा वास्तवमै सुखद् परिवर्तन ल्याउनेछ । समृद्धिको चालक सुरक्षित भविष्यको सुनिश्चितताले श्रमिकहरू पूर्ण रूपमा श्रममा केन्द्रित हुन सक्ने अवस्था निर्माण हुनेछ । यसले श्रमिक र प्रतिष्ठानको उत्पादकत्व बढ्ने र राष्ट्रकै अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ । सन्तुलित र दिगो आर्थिक विकास हासिल गर्न सफलता मिल्नेछ । सामाजिक सुरक्षाका योजनाहरूको सफल कार्यान्वयनबाट मात्र सभ्य समाज, समृद्ध देश र सुखी जनताको सपना साकार पार्न सकिन्छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल निर्माण र सुखी नेपाली’को नारा सफल बनाउन हामी आफ्नो ठाउँबाट क्रियाशील छौँ । सामाजिक सुरक्षाको शुभारम्भ त्यसकै एक दृष्टान्त हो ।

सामाजिक न्याय सामाजिक सुरक्षा योजनाहरू राज्यको कल्याणकारी र नैतिक दायित्व निर्वाह गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने उपायहरू पनि हुन् । यस्ता योजनाले व्यक्ति र परिवारको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्दै गरिबीबाट बचाउन मद्दत गर्छन् । सबैका लागि सामाजिक सुरक्षाको लक्ष्य रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षीय साझेदारी र अन्तर्राष्ट्रिय श्रम मापदण्डको पालनाबाट मात्रै प्राप्त हुन सक्छ । श्रमप्रति सम्मानभाव  सामाजिक सुरक्षा कार्यक्रमबाट वास्तवमै श्रमप्रति सम्मानको भावना र आकर्षण बढ्न गई स्वदेशमै मर्यादित रोजगारीको वातावरण निर्माण हुनेछ । यसले आन्तरिक रोजगारीका अवसरहरू वृद्धि हुनेछन् । वैदेशिक रोजगारीमा भइरहेको निर्भरतालाई क्रमिक रूपमा न्यूनीकरण गर्दै नेपाली श्रम र सीपको स्वदेशमै उपयोग गर्न सकिने वातावरण निर्माण गरिनेछ । चुनौती र कार्यान्वयनको सुनिश्चितता हामीले आवश्यक ऐन, नियमावली र कार्यविधि सबै तयार पारिसकेका छौँ । सफ्टवेयर प्रणाली बनिसकेको छ । जनशक्ति थप्नुपर्नेछ । त्यसको प्रक्रिया पनि अगाडि बढिसकेको छ । आवश्यक पूर्वाधार तयार भइसकेको छ । यस हिसाबले कार्यक्रम कार्यान्वयनको चरणमा गएको छ ।

रोजगारदातालाई कोषमा सूचीकरण हुन सूचना जारी भइसकेको छ । रोजगारदाता सूचीकरण भएको तीन महिनाभित्र उनीहरूले आफूमातहतका श्रमिकलाई पनि सूचीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सरकारले सबै सामाजिक सुरक्षाका कार्यक्रम र कोषलाई एकीकृत गर्ने नीति लिएको छ । त्यसका लागि विभिन्न ऐन परिमार्जन गर्नुपर्ने तथा समय सान्दर्भिक बनाउनुपर्ने चुनौती छ । चरणबद्ध कार्यान्वयन कार्यक्रमको सुरुवातसँगै पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकहरू सूचीकरण भई औषधि, उपचार, स्वास्थ्य तथा मातृ सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र पेन्सनसहितको वृद्ध अवस्था सुरक्षा गरी चारवटा योजनामा सहभागी हुन सक्नेछन् । त्यसको व्यवस्थापनपछि क्रमशः स्वरोजगारमा रहेका व्यक्तिहरू र अनौपचारिक क्षेत्रलगायत सबै क्षेत्रका श्रमिकहरू, शारीरिक श्रम गर्ने श्रमिकहरू र बौद्धिक श्रम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनाको दायराभित्र समेटिनेछ ।

गरिब, निमुखा र आधारहीनलाई सामाजिक सुरक्षा दिने सरकारको लक्ष्य हो ।  आभार र अपेक्षा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको अवधारणा तयार पार्न र कानुन निर्माण गर्ने क्रममा रोजगारदाताहरू, ट्रेड युनियनहरू र विज्ञहरूसँग संवादको लामो शृंखला पार गरेका छौँ । संसद्मा पूर्वसभामुखलगायत धेरै सांसदहरूले महत्वपूर्ण योगदान गरेका छन् । पछिल्ला ८ महिनामा ती योजनाको तर्जुमा र कार्यान्वयनका लागि सघन गृहकार्य गरेका छौँ । निरन्तरको संवाद र गृहकार्यमा सक्रिय योगदान पु-याउने राजनीतिक दल, सांसद, रोजगारदाता, ट्रेड युनियन, श्रम तथा सामाजिक सुरक्षा क्षेत्रका विज्ञ, अन्तर्राष्ट्रिय संघ–संस्था र सञ्चार क्षेत्रलगायत सबै धन्यवादका पात्र बनेका छन् । सबै श्रमिक तथा रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी भई सुरक्षित भविष्य सुनिश्चित गर्न र सौहार्द किसिमले काम गर्ने वातावरण निर्माण गर्न हार्दिक आह्वान गर्न चाहन्छु । यो कार्यक्रमलाई सम्पूर्ण नेपाली जनताको साझा कार्यक्रम महसुस गरेर सफलताका लागि सबैको सक्रियताको अपेक्षा छ ।

Published on: 28 November 2018 | Naya Patrika

Back to list

;