s

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन्।

ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताएका हुन्।

उनले नीति र कानूनहरु भएपनि कार्यान्वयन हुन नसक्नु दुःखको विषय भएको सुनाए। श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको र श्रमजीविहरु ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गरे। उनले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको र ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताए।

उनले भने, ‘श्रम प्रशासन कमजोर छ। गुड गभर्नेन्स छैन। हामीसँग रोजगारीको अवसर कम भयो र बेरोजगारी असाध्यै बढी भयो। हाम्रा श्रमजीविहरु ज्याला नपाउँदै गर्दा पनि वा कार्यस्थल असुरक्षित हुँदै गर्दा पनि र सामाजिक सुरक्षा नपाउँदा पनि उहाँहरु काम गरिराख्नुभएको छ। त्यो बाध्यता छ। त्यो बाध्यताले गर्दा श्रम बजारलाई मर्यादित बनाउन, थप सुदृढ गर्ने सन्दर्भमा चुनौति बनेको छ। ट्रेड युनियनको उपस्थिति पनि कमजोर छ। ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू भइरहेको छ। नभएको ठाउँमा श्रम ऐन लागू नभएको अवस्था छ। यसमा सुधार गर्नुपर्छ।’

अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको सुनाए। उनले व्यवसायीहरुलाई उत्पादनमुलक र निर्यातमुलक व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गरे। ट्रेड युनियन अधिकार संकुचित गर्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए।

Published on: 3 June 2024 | Nagarik

Link

Back to list

;