s

सकारात्मक सोचले फर्किनुहोस्

जेपी सापकोटा

 

घर फर्कंदै गरेका प्रवासी नेपालीलाई पत्र

प्रिय प्रवासी मित्रहरू, 

घर छाडेर हिँड्नुभन्दा परदेशबाट फर्किएर घर भित्रिनु झन् गाह्रो हुन्छ। एक दशकअघि हामी विश्व आर्थिक मन्दीको चपेटाले घर फक्र्यौं। तपाईंहरू विश्वव्यापी कोरोना भाइरसको माहामारीको सिकार भएर फर्किंदै हुनुहुन्छ। आखिरी फर्किने त आफ्नै मातृभूमि रहेछ। सानो झोला बोकेर आफन्तसँग बिदा हुँदाका आँसुमा रमाइलो भविष्यको आशा हुन्छ। फर्किंदाको ठूलो सुट्केसभित्र धमिलो भविष्यको त्रास झल्किँदो रहेछ। भविष्यका सुखसयलका कल्पना पाँचतारे होटलका स्वादसँगै हवाईजहाजभित्रै तुहिन्छन्। के कमाएँ वा गुमाएँ भनेर विगत नियाल्दा झन् चित्त दुख्छ। रातदिन काम गरेको कमाइ आधा आफूले खानैपर्‍यो। घर पठाएको बाँकी घर खर्चमा ठिक्क। नेपाल फर्किनेबित्तिकै सामाजिक दूरी, मानसिक पीडा, आर्थिक अभाव, सांस्कृतिक विभेद, पारिवारिक तिरष्कार भोग्नेलाई सोधे हुन्छ। न पेन्सन, न त सामाजिक सुरक्षा, मान-प्रतिष्ठा, इज्जत र स्थायित्व छ। घर आइपुगेकोे दिनदेखि अभाव सुरु हुन्छ। 

भोको पेट भर्न र नाङ्गो आङ छोप्न कति किलोमिटर यात्रा गरियो भन्ने कुराले कुनै महत्तव राख्दैन। पढ्ने वा घुम्ने बहाना जेसुकै होस्, दैनिक १५-१६ सयको संख्यामा विश्वका १७० भन्दा बढी मुलुकमा नेपाली श्रम बेच्न होमिएका छन्। यही संख्या भारतका विभिन्न सहरमा नेपाली जाने गरेका छन्। तपाईंहरू पर्देसिएको समयभन्दा अहिले धेरै कुरामा परिवर्तन आएको छ। ठूलो युवा शक्ति पलायन हुँदाको असरले देशलाई मर्माहत बनाएको छ। गाउँघरतिर फर्केर कसैले काम गर्न छाडिसकेका छन्। तपाईंहरूले त काम सानो-ठूलो हुँदैन भन्ने सिक्नुभएको छ। विदेशमा पैसाको बोट हुँदो रहेनछ भन्ने कुरा ज्ञान भएको छ। पारिवारिक बिछोडको पीडाबोध छ। स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने सोच बढेको छ। श्रमको मूल्यसँग आफूले बगाएको पसिनाको तुलना गर्ने बानी परेको छ।

ऐतिहासिक ‘ब्रेनगेन’  : अहिले वैदेशिक रोजगारबाट फर्कनेहरू विद्यमान समाजभन्दा सीप, कला र प्रविधिमा धनी छन्। हलोको अनौ समाउनेहरूले पावर टिलर र ट्याक्टर चलाउँछन्। फ्रिजमा जुत्ता राख्ने अज्ञानतामा अहिले फ्रिज बनाउने ज्ञान थपिएको छ। खेतबारी रुखो भएर बिरक्तिएकाहरूसँग इजरायल, इन्डोनेसियाको प्राविधिक ज्ञान छ। एउटै कागती वा गोलभेंडाको बोटमा सय केजी फलाउने ज्ञान छ। एक रोपनी जग्गामा २० मुरी धान फलेको स्वाद चाखेर फर्केका छन्। सीप, कला र प्राविधिक ज्ञानले प्रशिक्षित छन्। यो नेपालको इतिहासमा दसकौंसम्मको ‘ब्रेन ड्रेन’ पछिको ‘ब्रेनगेन’ हो। उनीहरूसँग विशाल नेटवर्क छ। मेट्रो ट्रेन, एयरलायन्स, रंगशाला, सडक, पुल र विश्व प्रसिद्ध टावर तथा भवन निर्माणको सीप छ। अप्राविधिक कामदार मात्र होइन, बहुराष्ट्रिय कम्पनीहरूमा काम गर्ने इन्जिनियर, पाइलट, डिजाइनर र योजनाविद्हरूसमेत फर्किंदै छन्। देशको विकासमा अहम् भूमिका खेल्न यो जनशक्ति कोसेढुंगा हुन सक्छ।

विदेशका सुविधा यहाँ पनि छन्  : तपाईंहरूले घर छाड्दा र अहिलेको अवस्थामा ठूलो परिवर्तन आइसकेको छ। परम्परागत खेतीमा आधुनिक उपकरण भित्रिएका छन्। राँगा, गोरु नारेर खेतमा जानुको सट्टा ट्याक्टरमा चढेर ‘ड्राइभिङ’ गरे हुन्छ। धान, गहँु कोदोलगायतका नगदे बाली छर्ने÷रोप्नेदेखि काट्ने, झार्ने, कुट्नेलगायतका अत्याधुनिक प्रविधि गाउँगाउँमा पुगेका छन्। बाटा-घाटाको सुविधा छ। गाउँघरमा इन्टरनेटको सुविधा छ। बिजुली, पानी छ। देशी-विदेश टीभी च्यानलको घरको टीभीसम्म पहुँच छ। विदेशमा उपभोग गर्ने खाद्यवस्तुका ब्रान्डका रेस्टुरेन्ट र होटलहरू प्रशस्तै छन्। ब्रान्डेड सामानका छुट्टै पसल छन्। उस्तै सिटी सेन्टर र डिपार्टमेन्टल स्टोर्सहरू छन्। मनोरञ्जन गृह र पार्कहरू यत्रतत्र छन्।

पुनर्स्थापना कसरी ?

तपाईंहरूलाई नेपाल पुगेर कसरी सहज जीवन निर्वाह गर्ने भन्ने चिन्ता लाग्नु स्वाभाविकै हो। ‘नौ दिनमा नौलो बीस दिनमा बिस्र्यो’ भन्ने कथन सत्य हो। एकदुई महिना अन्यत्र गएर फर्कंदा आफ्नो पहिलेको परिवेश फरक भइसकेको हुन्छ। नयाँ परिवेश र फरक सोचको असरको भागीदार हुनुपर्छ। पुनस्र्थापना आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा घुलमिल हुने अन्तरवस्तु हो। त्यसमध्ये पनि आर्थिक र सामाजिक गतिविधिबारे यी सामान्य कुरामा ख्याल राख्न आवश्यक छ  :

क. आर्थिक  : अहिले नेपालका कृषि-पर्यटन, वन-जंगल, उद्योग-वाणिज्य, विज्ञान-प्रविधि, शिक्षा-संस्कृति, पर्यटन-कलकारखाना सबै क्षेत्र विकासको पर्खाइमा रहेका छन्। वैदेशिक रोजगारको मोहले सक्रिय जनशक्ति पलायन भएको दशकदेखि अहिलेसम्मको अवस्थामा खासै फरक छैन। तपाईंहरू जुन क्षेत्र रोज्यो, त्यही आफ्नो बनाउन सक्नुहुन्छ। सहर बस्ने वा गाउँ ? रोजाइ आफ्नै हो। आफ्नो साधनस्रोत र सीपअनुसार गर्न सक्ने काम धेरै छन्। तुलनात्मक रूपमा सहरभन्दा गाउँ निर्वाह गर्न सजिलो हुन्छ। गाउँमा सानो टुक्रा जमिन छ भने उतै फर्किनु सहज हुन्छ। आत्मसम्मान र जीवनयापनमा आफ्नो खटन हुन्छ।

स्वदेशमै रहेकाहरू पनि जागिर छाडेर कृषि क्षेत्रमा आकर्षित भएका युवा प्रशस्तै छन्। उत्साही युवाहरूको जमात बनाएर सामूहिक खेती वा उद्योग सञ्चालन गर्न सकिन्छ। आधुनिक प्रविधिको प्रयोगले प्रशस्त आम्दानी गर्न सफल कृषकहरूको कथा देशभरि गुन्जिन थालेका छन्। तपाईंहामी बिदेसिएसँगै श्रमशक्तिको अभावमा बाँझिएका थुप्रै जमिन भाडामा लिएर उपभोग गर्न सकिने अवस्था पनि छ। इजरायललगायतका देशमा काम गरेर फर्केकाहरूले कृषि क्षेत्रमा पाएको सफलता अनुकरणीय छ। यसको अतिरिक्त मौरीपालन, बाख्रापालन, बंगुरपालन, माछापालन, कालिज तथा स्थानीय जातका कुखुरापालन, अंगुर, च्याउ, जीरा खेती, किबी, अकबरे खुर्सानी, काजु, मेवा, स्याउ, अनार आदिको व्यावसायिक उत्पादनमा सफलताका कथा गाउँगाउँमा भेटिन थालेका छन्। त्यस्तै बेतबाँस, केचप, अचार, डेरीजस्ता साना तथा मझौला उद्योगहरू सहजै सञ्चालन गरेर पनि सहज जीवनयापन गर्न सकिन्छ।

ख) सामाजिक  : घर छाडेर माइत जाऊ कि मुग्लान। फर्किंदा मूल बाटोदेखि कुरा काट्नेको लर्को घरको पिँढीसम्मै ठोकिन्छ। तपाईंको आफ्नै घरपरिवारलाई समेत आम्दानीको स्रोत ठप्प हुने पिर छ। घर फर्किनेबित्तिकै तपाईंले मनोवैज्ञानिक र सामाजिक परिवेशको परिवर्तनको असरबाट बच्नुपर्छ। साथीभाइसँग रमाएको जीवन र परिवारसँगको व्यवहार फरक हुन्छ। फर्किनेबित्तिकै घरभित्र वा बाहिर थुप्रै कुरा अमिल्दो भेटिन्छ। आफू घरपरिवारको सोचमा फरक आइसकेको कुरा स्वीकार गरिहाल्नु उच्चतम् विकल्प हो। केही दिनसम्म मोबाइलमा आएका फोन, म्यासेज र ससाना फरकपनले समेत दुवै पक्षलाई झस्काइदिन्छ। पारिवारिक कलहको बीउ रोेपिन सक्छ। भएनभएका कुरा सुनेको तपाईंको परदेशी मनमा अनेक शंका उब्जिन सक्छन्। तपाईंको घरपरिवारलाई पनि हाम्रो कुरौटे समाजले चरम शंकालु बनाइदिएको बिर्सनु हुन्न। परदेशमा थुप्रैसँग तपाईंको हिमचिम बढेको हल्लाले पारिवारिक भावनालाई थिलथिलो बनाइदिएको हुन सक्छ। भनेका र सुनेका कुरा सबै सत्य हुँदैनन् भन्ने बुझ्नुपर्छ। खुलस्त भएर पारिवारिक वातावरणमा रमाउने अभ्याससँगै आम्दानीको बाटो छनोट गर्नुपर्छ।

डिप्रेसनबाट बच्नुहोस्। समाजसँग घुलमिल भएर बस्नु उत्तिकै आवश्यक छ। लामो समयपछि गाउँघर फर्केर आफ्नै निर्णय लाद्ने अधिकार तपाईंसँग छैन। सामाजिक, धार्मिक तथा राजनीतिक मूल्यमान्यता, परिवेशको संवेदनशीलता पछ्याउन सक्नुपर्छ। समाज विस्तारै परिवर्तन हुन्छ, तपाईं पनि परिवर्तन हुनुहोस्। मनोवैज्ञानिक रूपमा समेत शान्त र सौम्य वातावरणमा जिउन आवश्यक छ। सरकारी स्तरमा प्रदान गरिने सेवासुविधाबारे चासो राख्नुहोस्। जानकारी लिनुहोस् र उपयोग गर्नुहोस्। असहज परिस्थितिमा सरकारी तथा गैरसरकारी निकायको अतिरिक्त व्यक्तिगत सम्पर्कले समेत सहज अवस्था निर्माणमा सहयोग पुग्छ। अब त आफूजस्तै वैदेशिक रोजगारबाट फर्केकाहरूको ठूलो जमात नेपालमै रहेको छ। उनीहरूसँग सम्पर्क स्थापित गरेर अनुभव साटासाट गर्नु फलदायी हुन्छ।

अन्त्यमा,

विदेश जानेले सुखदु :ख बेहोर्नु स्वाभाविकै हो। स्वदेशमा रहेको युवा श्रम शक्तिमा समेत विचलन आएको छ। सामाजिक सञ्जाल, सभा, गोष्ठी, भीडभाड सबैतिर नकारात्मक भावना भड्किएको पाइन्छ। विदेश जाने उमेर १८ वर्ष नपुगुञ्जेल स्कुल कलेजको आलटाल र उमेर पुग्नेबित्तिकै विदेश जाने चक्करमा नेपाली युवा अभ्यस्त भइसकेका छन्। आन्तरिक बेरोजगार, वैदेशिक रोजगारको मोह तथा इन्टरनेटको अत्याधिक प्रयोगले युवालाई एकोहोरो बनाएको छ। नेपाली युवामा विश्वले हात्ती चढेको देख्दा आफू धुरी चढ्ने सनक चढेको छ। जागिर पाउने निश्चित नभएको विश्वविद्यालयको पढाइको सट्टा राहदानी बनाउने लाइन बढ्न थालेका छन्।

सरकार, कर्मचारी, अर्थव्यवस्था, मिडिया, रोजगारको स्थितिलगायत आममानिसको प्रवृत्ति र सोच नकारात्मक देखिन्छ। यस्तो परिवेशमा तपाईंहरूको श्रम गर्ने बानी र प्रवृत्ति समाज परिवर्तनको द्योतक बन्नुपर्छ। स्वदेश र विदेशमा श्रम गर्दाका फरकलाई यहाँका युवाहरूबीच पहिचान गराउन सक्नुपर्छ। अहिले सरकारीस्तरमा समेत वैदेशिक रोजगारबाट फर्केकाहरूका लागि धेरै अवसर सिर्जना गर्ने योजना अघि बढेका छन्। शदीयौंदेखि बिचौलियाले कमाएर खाने भाँडो बनाएका यस्ता कार्यक्रम तथा योजनामा हस्तक्षेप गर्नुहोस्। विदेशमा करकाप र बाध्यतावश पोखेको रगत र पसिना स्वदेशमा स्वेच्छाले खर्च गर्नुहोस्। सबैभन्दा महत्तवपूर्ण पक्ष सकारात्मक सोच लिएर फर्किनुहोस्, नेपालमा जीवन सरल र सहज छ।

Published on: 16 June 2020 | Annapurna Post

Link

Back to list

;