s

साजनका बुवा भन्छन्- आफ्नो आँखाले लास नदेखी पत्याउन सक्दैनौं

लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरूङ असोज १ गते मकाउ जानका लागि भनेर घरबाट हिँडेका थिए।

उनका बुवा त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जब साजनले रूसी फौजीको लुगा लगाएको फोटो फेसबुकमा देखे।

साजनले रूस पुगेर तालिम लिँदै गर्दाको फोटा फेसबुकमा राखेपछि रूसी फौजमा भर्ना भएको साजनका बुवा श्रीमान गुरूङले थाहा पाएका थिए।

‘त्यस्तो देश जान्छु भनेको भए हामी पठाउँदैनौं थियौं,’ बुवा श्रीमानले सेतोपाटीसँग भने, 'कसरी त्यहाँ पुग्यो भन्ने हामीलाई नै थाहा छैन।'

दूधपोखरी गाउँपालिका-१ का वडासदस्य समेत रहेका श्रीमानले त्यहाँ गएको थाहा पाउनसाथ छोरालाई फर्किन भनिरहेका थिए।

त्यहाँ हुँदा साजनले श्रीमती सीता र छोरासँग कुरा गरिरहन्थे। तर पुस १६ गतेदेखि भने कुनै पनि माध्यमबाट साजनसँग कुरा हुन सकिरहेको थिएन।

एक सातासम्म परिवारको सम्पर्कमा नआउँदा सोधपुछ गर्ने क्रममा साजनका साथीहरूले साजन जिउँदो नभएको खबर दिएको श्रीमानको भनाइ छ।

'रूसी फौजमा भर्ना भई युक्रेनविरूद्ध युद्ध लड्ने क्रममा मृत्यु भएको भनेर साजनका साथीहरूले कान्छो छोरा कुमारलाई भनेका रहेछन्,' श्रीमानले भने, 'आफ्नो आँखाले लास नदेखी पत्याउन सक्दैनौं।'

गाउँपालिका सूचना अधिकारी रमण बरालले केहीदिन अघि साजनका साथीहरूले दुखद खबर परिवारलाई जानकारी गराएको बताए।

सोही गाउँपालिका-२ का रामहरी न्यौपाने साजनका साथी हुन्। उनका अनुसार साजनले गाउँमा ठेक्कापट्टा र हाइड्रोपावरमा काम गर्थे। हाइड्रोपावरमा काम गरिरहँदा उनले परिवारलाई जानकारी नगराई रूस पुगेको न्यौपाने बताउँछन्।

‘परिवारसँग सम्पर्कविहीन भएपछि पुस २९ गतेको दिन मृत्यु भएको भन्ने हल्ला चलेको हो,’ उनले भने। गाउँमै राम्रै काम गरिरहेको मान्छे कसैको लहलहैमा लागेर पुगेको हुनसक्ने उनको अनुमान छ। साजन यसअघि पनि रोजगारीका लागि मलेसिया गएका थिए। परराष्ट्र मन्त्रालयले भने साजनको मृत्युबारे केही जानकारी गराएको छैन।

रूस-युक्रेनको युद्धमा परी मृत्यु हुने नेपाली कति छन् भन्नेबारे परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन। तर चार नेपाली युक्रेनी सेनाको कब्जामा रहेकोबारे भने पुस ४ गते प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको नाम सार्वजनिक गरेको थियो।

बर्दिया राजापुर नगरपालिका-१ को विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ नगरपालिका -२ को विकास राई, रोल्पा रून्टिगढी गाउँपालिका-८ को प्रतिक पुन बन्दीमा रहेको बताइएको छ। परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताउँदै आएका छन्।

Published on: 17 January 2024 | Setopati

Link

Back to list

;