s

शैक्षिक पद्धतिको कमजोरीले बेरोजगारी समस्या : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक प्रणालीकै कमजोरीका कारण बेरोजगारी बढेको बताए । आइतबार श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक पद्धतिले समस्या नभई समाधान दिन सक्नुपर्ने बताएका हुन् । ‘हामीकहाँ शैक्षिक प्रमाणपत्र भए पनि बिक्ने किसिमको नभएपछि समस्याको समाधान नभएर आफँ समस्या बन्न पुगेको छ । शैक्षिक स्तरले समाधान दिन सकेको छैन,’ उनले भने, ‘यस्तो शिक्षा पद्धति र अवस्थालाई जीवन उपयोगी हुने गरी परिवर्तन गर्नैपर्ने भएको छ । त्यसो गर्न सके मात्र बेरोजगारीको समस्या समाधानको दिशामा जान सक्छौँ ।’

श्रमप्रति रुचि राख्ने तथा इमानदारीपूर्वक श्रममा सहभागी हुने जनशक्ति भए पनि बेरोजगार बन्नु विडम्बनाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘हामीलाई विकासको अभिलाषा छ । त्यसका लागि श्रम आवश्यक हुन्छ । तर, युवाहरू देशमा रोजगारी नपाएर बिदेसिनुपर्ने अवस्था पनि छ । यो आफैँमा अमिल्दो विषय हो,’ उनले भने, ‘हामीले विकास गर्ने हो भने आकर्षक रोजगार सिर्जना गर्नैपर्ने हुन्छ । अन्यथा अहिलेको खुला विश्वमा जता आकर्षण छ, त्यतै जानबाट रोक्न सकिँदैन ।’

स्वदेशको रोजगारीमा आकर्षणका लागि सरकार र रोजगारदाता सबै पक्षबाट उत्तिकै महत्वपूर्ण भूमिकाको आवश्यकता रहेको समेत प्रधानमन्त्री ओलीले औँल्याए । बेरोजगारी समस्या समाधानका लागि बहुसंख्यक जनसंख्या आश्रित रहेको कृषि क्षेत्रको व्यवसायिकीकरण र आधुनिकीकरणको आवश्यकतासमेत औँल्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा रोजगारीको क्षेत्रमा देखिने गरी परिवर्तन देखाएर छाड्ने वचनसमेत दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू आन्तरिक रोजगारी सिर्जना गर्ने दिशामा दृढतापूर्वक लागिपरेको बताए ।

३ सय ५० भन्दा बढीको सहभागिता

आइतबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संघ–संस्थाबाट ३ सय ५० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । मुलुकभित्रै पर्याप्त मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने र बाध्यताको वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सम्मेलन सुरु भएको हो । कार्यक्रममा नेपालको रोजगार बजार, आयको अवस्था, कार्य संस्कृति एवं श्रमको मर्यादा, युवा उद्यमशीलता, रोजगारीका लागि आवश्यक सीप, सूचना प्रविधि र श्रम उत्पादनशीलता एवं राष्ट्रिय अर्थतन्त्र विषयमा ६ वटा छुट्टाछुट्टै प्यानलमा गहन विमर्श गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष नेपाली श्रम बजारमा करिब ५ लाखको संख्यामा नयाँ जनशक्ति तयार हुन्छ ।

तथ्यांक विभागका अनुसार हाल मुलुकमा बेरोजगारीको दर ११ दशमलव ६ प्रतिशत रहेको छ भने अर्धबेरोजगारी दर ३० प्रतिशत छ । मुलुकभित्र पर्याप्त मात्रामा रोजगारीका अवसर उपलब्ध नहुँदा त्यसमध्ये दैनिक एक हजारको संख्यामा वैदेशिक रोजगारी गइरहेका छन् । अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको झन्डै २६ प्रतिशतबराबर योगदान रेमिट्यान्सकै छ । राष्ट्रिय योजना आयोगकका अनुसार उक्त दर विश्वकै उच्च हो ।

Published on: 1 July 2019 | Naya Patrika

Back to list

;