s

सहकारीले रोजगारी बढ्दै

लक्ष्मी साह

जिल्लामा सहकारी संस्थाहरू फस्टाएपछि रोजगारी ह्वात्तै बढेको छ । नजिकका सहकारी संस्थाहरूसित ऋण लिएर खाद्यान्न व्यापार, कृषि व्यवसाय लगायत गर्दै आएका छन् । 

रोजगार गर्नेहरूमा पुरुषभन्दा महिला बढी छन् । त्यसमा अधिकांश विपन्न परिवारका छन् । जिल्ला सहकारी कार्यालयका प्रमुख महेन्द्र राउतका अनुसार पाँच वर्षयता बारामा २ सय ७० सहकारीबाट झन्डै १० हजार सर्वसाधारण रोजगार गरेर सहज जीवनयापन गरिरहेका छन् ।

रोजगारी पाउनुले 'गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी' नामक सरकारी नारा सार्थक बन्दै गएको सहकारीसित आबद्ध अधिकारीहरू बताउँछन् । सहकारीले आपmनो पहुँच बढाउँदै गएपछि गाउँमा विगतमा फस्टाएका बिनाधितो ऋण प्रवाह गर्ने विभिन्न लघुवित्त विकास बैंकहरू ओझेलमा पर्दै गएका छन् । ती बैंकहरूमार्फत कारोबार गर्दा चर्को ब्याज दिनुपर्ने र त्यसमा समुदायको पहुँच कम हुने भएकाले ग्रामीण स्तरमा सर्वसधारणहरूको सहकारीतिर उल्लेख्य आकर्षण बढ्दै गएको हो ।

तीन वर्षअघि सिमरामा स्थापित हातेमालो सहकारीबाट झन्डै ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाका अध्यक्ष कृष्ण पौडेलका अनुसार सहकारीले विपन्न स्तरका सर्वसाधारणसित ४ करोडको कारोबार गरिरहेको छ । यसै सहकारीबाट ऋण लिएर चिया पसल थापेकी सिमरा-६ औराहाकी मालती थापाले तीन वर्षको अन्तरालमा १० लाख बराबरको घडेरी जोडेकी छन् । 'सहकारीबाट ऋण लिँदा प्रगति भएको छ' उनले भनिन् । 'सहकारीले विपन्न वर्गका जीवन फेरिनुको साथै आत्मनिर्भर बन्न मद्दत पुर्‍याएको छ,' अध्यक्ष पौडेलले भने, 'सहकारीले गाउँको मुहारै फेरिएको छ ।' सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेर सहयोग गरेको भए ग्रामीण भेगको नागरिकको जीवनस्तर अझै सुधि्र्रने उनको भनाइ छ ।

'सहकारीका कारण यहाँका किसानले उन्नत जातको पशुपालन, कृषिलगायत व्यवसाय र खेती गरेर समपन्न भएका छन्,' स्थानीय पत्रकार विदुर खड्काले भने, 'सहकारीले धेरैले रोजगारी पाएर उनीहरूको लवाइखवाइ, बसाइ र पहिरन फेरिएको छ ।' सहकारीबाट समाज परिवर्तन हुँदै गएको छ ।

यसैगरी राष्ट्रिय सहकारी संघको मूल्यांकनमा देशभरकै साना कृषि सहकारीमध्ये उत्कृष्ट सहकारीका रूपमा चिनिएका साना किसान तथा ऋण सहकारी संस्था डुमरवानाले त्यस आसपासका साढे ३ हजार सर्वसाधारण रोजगार गरेर सफल जीवन बिताइरहेका छन् । सहकारीका प्रबन्धक रवि आचार्यका अनुसार सहकारी स्थापना भएको १३ वर्षको अवधिमा साढे ३ हजार सदस्यले प्रत्यक्ष व्यवसाय गरेर रोजगारी पाएका छन् । संस्थाले उनीहरूसित १५ करोडभन्दा माथिको कारोबार गरिरहेको छ ।

सहकारीले उनीहरूको गरिबी हटाउन मद्दत पुर्‍याएको छ । सहकारीबाट लिएको ऋणको कमाइले उनीहरू कृषि, व्यापार व्यवसाय, शिक्षालगायतमा लगानी गरेर फड्को मारेका छन् । डुमरवानाकी लक्ष्मी नेपालीले केही वर्षअघि रोजगारको खोजीमा भौंतारिँदै त्यही सहकारीबाट उनले १५ हजार ऋण लिएर डुमरवाना बजारमा कस्टमेटिक सामानको व्यापार सुरु गरिन् । अहिले उनले सुखी जीवन बिताइरहेकी छन् । 'गाउँमा आएको सहकारीको सहयोगमा कल्पनै नगरेको प्रगति गरे,' उनले भनिन्, 'सहकारीले जीवन सुध्रेको छ ।' सहकारीको ऋणको सहाराले आफू सफल व्यापारी भएकी र साहुको चर्को ब्याजबाट मुक्त भएको बताइन् ।

Published on: 29 September 2011 | Kantipur 

Back to list

;