s

सहकारी रोजगार मेलामा ३ हजार बढीले लिए लाभ

काठमाडौं : नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि तीनसम्म आयोजना गरेको मेलामा ३ हजार बढीले लाभ लिएका छन्।

ललितपुरको पुल्चोक परिसरमै सञ्चालित मेलामा ३ हजारदेखि ४ हजारले अवलोकन गरेका छन्। मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञले २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरेका छन्। समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको अवसरको लाभ लिएका महासंघले जनाएको छ।

विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थी, रोजगारीको खोजीमा रहेका युवा, प्राविधिक जनशक्ति, सहकारीकर्मी गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गरेका थिए। सहकारीको ३० वर्षे इतिहासमा पहिलो मेला गर्न र सहकारीबारे सकारात्मक सन्देश दिन सफल भएको महासंघकी अध्यक्ष ओमदेवी मल्लले बताइन्।

मेलामा २९ वटा स्टलहरुमार्फत विभिन्न सामग्रीहरु प्रदर्शन समेत गरिएको थियो। मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाइनबाट सिभी संकलन गरेको महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले बताइन्। ‘महासंघकै गुगलमार्फत आईटि, फाइनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका लागि आवेदन परेको छ। कतिले गरे भन्ने तथ्यांक केही दिनपछि आउँछ। सहकारी संस्थाहरुले खोजी गरिरहेकाले अब आवेदन परेकाबाट महासंघमार्फत समन्वय गरिदिने छौं’, उनले भनिन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नुपर्ने भन्दै केही व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराए। सहकारीले किसानबारे उत्पादन बिक्री गर्ने वातावरण तय गरेको समेत उनले बताए।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने बताए। ‘केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन्। गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ। सहकारी बढिरहने भएकाले सहकारी ढुक्कले अगाडी बढ्छ। सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन,’ उनले भने।

महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार दिपकबहादुर बास्कोटाले बल्ल सडकदेखी सदनसम्म सहकारीबारे चर्चा हुन थालेको बताए। नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन्। जसमा ५६ प्रतिशत महिला सहभागिता छ। नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने फिलिपिन्सपछिको दोस्रो मुलुकमा पर्दछ।

Published on: 24 June 2024 | Annapurna Post

Link

Back to list

;