s

सहज छैन भारतमा संक्रमित नेपालीको उपचार

ऋषिराम पौड्याल

काठमाडौँ — आधार कार्डको अभावमा भारतमा रहेका नेपालीलाई कोरोनाको उपचारका लागि अस्पताल भर्ना र औषधि खरिदमा समस्या देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मंगलबार आयोजना गरेको भर्चुअल बैठकका सहभागीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँग यसबारे गुनासो राखेका थिए ।

भारतस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिहरूले पैसा हुनेले आफैंले उपचारको व्यवस्था मिलाउन सके पनि विपन्नका लागि कठिन भएको गुनासो गरे । नेपाली नागरिकताको आधारमा औषधि र अक्सिजन खरिद, अस्पताल भर्नालगायत उपचार सेवा पाउने व्यवस्था मिलाउन उनीहरूले दूतावाससँग आग्रह गरे । दूतावासले कोरोनामा मात्र केन्द्रित भई हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने, सम्पर्क व्यक्ति तोक्नुपर्ने, अस्पताल भर्ना, नागरिकताको आधारमा औषधि तथा अक्सिजन खरिद एवं अस्पताल भर्नालगायतका विषयमा पनि उनीहरूले राजदूत आचार्यको ध्यानाकर्षण गराए ।

प्रवासी नेपाली संघकी सीता शर्माले उपचार र अस्पताल भर्नाका लागि भारतले नेपालीसँग आधार कार्ड माग्ने गरेको बताइन् । बैठकमा राजदूत आचार्यले आफूले भारत सरकारलाई नेपालीको उपचार सहज बनाउन पहल गरिदन आग्रह गरिरहेको जानकारी गराए । हरेक प्रान्तमा नेपालीको बसोबास रहे पनि कोरोनाबाट कति प्रताडित छन् र कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक नभएको जानकारी राजदूत आचार्यले गराए । उनले भारतबाट दैनिक करिब ४५ सयको संख्यामा नेपालीहरू स्वदेश फर्कने गरेको जानकारी दिए ।

समिति सभापति नीरुदेवी पालले भारतमा रहेका नेपालीको अवस्थाबारे राजदूत आचार्यसँग जानकारी मागेकी थिइन् । सांसद अमृता थापा, दुर्गा विक, संविधानसभाकी पूर्वसदस्य भगवती चौधरीले कोरोना संक्रमणबाट आक्रान्त नेपालीलाई बचाउन दूतावासले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सांसद थापाले भारतलाई आफ्ना नागरिक बचाउन कठिन भएका बेला नेपालीको उपचारमा दूतावासको सक्रियता जरुरी रहेको बताइन् ।

प्रवासी नेपाली संगठनका नारायण हुमागाईंले पश्चिम बंगाल, झारखण्ड–लगायतका क्षेत्रमा ६ जना नेपालीले ज्यान गुमाएको विवरण पेस गरे । उनका अनुसार त्यहाँ ३५ जनाभन्दा बढी नेपाली संक्रमित छन् । तामिलनाडु, हरियाना, महाराष्ट्रमा सबैभन्दा बढी समस्या भएको बैठकमा सहभागीले जानकारी दिए । विगतमा जसरी सबै स्थानमा लकडाउन नरहेको र यातायातका साधन पनि सञ्चालन भएकाले धेरैजसो नेपाली मजदुर स्वदेश फर्केको अनुमान दूतावासको छ । ‘आफ्नो मुलुक फर्कन दिइएकाले धेरै नेपाली स्वदेश फर्केका छन्,’ दूतावासका एक अधिकारीले भने, ‘लामो समयदेखि भारतमा व्यवसाय गरिरहेका नेपालीहरू भने फर्केका छैनन् ।’

दूतावासका अनुसार कतिपय नेपाली अहिले पनि काममा जाने गरेका छन् । भारत सरकारले सातामा केही दिन कलकारखाना सञ्चालन गर्न दिने निर्णय गरेको छ । दूतावास स्रोतका अनुसार हाल भारतमा रहेका नेपालीले खानेकुराभन्दा पनि अस्पताल भर्ना र अक्सिजनको माग गर्न थालेका छन् । ‘संक्रमणको पहिलो लहरका बेला खाने कुरा नभएको गुनासो आउँथ्यो, अहिले अस्पताल भर्ना र उपचारको विषय बढी आउने गरेको छ,’ दूतावासका ती कर्मचारीले बताए ।

बैठकमा पालले दूतावासलाई नेपालीको समस्या र उपचारमा बढी ख्याल राख्न सुझाइन् । उनले आपत्मा परेका नेपालीलाई सहयोग पुर्‍याउन दूतावासले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले भारतमा रहेका नेपालीलाई सहयोग पर्‍याउन मन्त्रालय तयार रहेको भन्दै यसका लागि दूतावासको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । उनले आधार कार्ड नभएको अवस्थामा पनि उपचार पाउने व्यवस्था मिलाउनुपर्ने बताइन् ।

राजदूत आचार्यले नागरिकताकै भरमा उपचारको व्यवस्था र औषधि खरिदका लागि आफूले पहल गरिरहेको बताए । उनले हटलाइन फोन र हेल्प डेस्कको व्यवस्था गरिएको पनि सुनाए ।

Published on: 5 May 2021 | Kantipur

Link

Back to list

;