s

साढे दस महिनापछि खुल्यो मलेसिया

रुद्र खड्का

नेपाल र मलेसियाबीचको विवादका कारण साढे १० महिनादेखि रोकिएको मलेसिया रोजगारी सोमबारदेखि खुला हुने भएको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसा लिएका नेपालीलाई सोमबारदेखि श्रम स्वीकृति दिन श्रम कार्यालयलाई पत्राचार गरेपछि मलेसिया जाने बाटो खुलेको हो। दुई मुलुकबीचको विवादले कलिङ भिसा आएर पनि करिब सात हजारले मलेसिया जान अन्तिम श्रम स्वीकृति पाएका थिएनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले पहिले नै प्रक्रिया पूरा गरिसकेकालाई वैदेशिक रोजगार व्यवसायी संघ र काठमाडौंस्थित मलेसियन राजदूतावासले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि श्रम स्वीकृति दिने निर्णय भएको बताए। गत जेठ २ मा मलेसिया जाने कामदारसँग अतिरिक्त शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्थाहरू भिएलएन/ओएससी, बायोमेडिकल गर्ने संस्थाहरू, माइग्राम्स तथा आइएससीलाई खारेज गरेपछि मलेसिया रोजगारी बन्द छ। जसका कारण कलिङ भिसा प्राप्त गरेका र नयाँ प्रक्रिया अनुसार रोजगारीका लागि युवा मलेसिया जान पाएका छैनन्।

 –कलिङ भिसा लिएका जान पाउने  – नयाँको हकमा केही समय लाग्ने

कलिङ भिसा प्राप्त गर्नु भनेको रोजगारीका लागि मलेसिया जान सबै दृष्टिकोणले ठिक हुनु हो। कलिङ भिसा प्राप्त गर्दासम्म व्यक्तिको कम्तीमा ३० हजार रुपैयाँ खर्च भइसक्ने व्यवसायी बताउँछन्। कलिङ भिसा पाएका व्यक्तिसमेत मलेसिया जान नपाउँदा सरकारको विरोध भइरहेको थियो।

रेग्मीले कलिङ भिसा पाउनेको संख्या करिब सात हजार रहेको बताए। बन्द हुनुअघि मलेसिया जाने कामदारको राहदानी संकलन भिएलएन/ओएससीले, बायोमेडिकल स्वास्थ्य परीक्षण ३९ वटा स्वास्थ्य संस्थाले र अध्यागमन सुरक्षाका लागि औंठा छापको काम आइएससी नामक संस्थाले गर्दै आएका थिए। कामको लागि मलेसिया जाने क्रम रोकिएपछि कात्तिक १२ गते दुई देशबीच श्रम समझदारी (एमओयू) भएको थियो। उक्त एमओयूमा स्वास्थ्य परीक्षण, राहदानी संकलन र अध्यागमन सुरक्षाका लागि कामदारले तिर्दै आएको शुल्क रोजगारदाताले बेहोर्ने सहमति गरिएको छ।

त्यस्तै, म्यानपावरले कामदारको एक महिनाको पारिश्रमिकको आधा मात्र सेवा शुल्क रोजगारदाताबाट लिन पाउने एमओयूमा उल्लेख छ। एमओयूपछि मन्त्रालयले नयाँ र मलेसियाले पुरानै प्रक्रियाबाट कामदार लैजान खोज्दा लामो समय अन्योलबीच गुज्रेको थियो। केही दिनअघि मलेसियाले स्वास्थ्य परीक्षण विधि (एसओपी) पठाएपछि मन्त्रालय स्वास्थ्य परीक्षण गर्ने संस्था छनोटमा जुटेको छ। कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि मापदण्ड तोकेर सूचना प्रकाशन गरिएको छ। मापदण्डमा परेका संस्थालाई मन्त्रालयले मलेसिया पठाएपछि स्वास्थ्य परीक्षण गर्ने संस्थाको अन्तिम छनोट हुने बताइएको छ। विगतमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण दुई सय ३७ सूचीकरण भएका संस्थामध्ये ३९ वटालाई छनोट गरिएको थियो। अब भने मापदण्ड पुगेका सरकारी र निजी स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्ने गरी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। भिएलएन/ओएससी र आइएससीको हकमा मन्त्रालयले अबको प्रक्रियाबारे प्रस्ट पारेको छैन।

मन्त्रालयले कामदारको राहदानी सोझै काठमाडौंस्थित मलेसियन राजदूतावासमा बुझाउने कसरत गरे पनि त्यसबारे कुनै निर्णय भएको छैन। त्यस्तै कामदारको औंठाछाप लिँदै आएको आइएससीको विकल्पबारे पनि मन्त्रालयले कुनै जानकारी दिएको छैन। कलिङ भिसा लिएका कामदारलाई काठमाडौंस्थित मलेसियन राजदूतावास र वैदेशिक रोजगार व्यवसायी संघले भिसा स्वीकृतिका लागि व्यवस्था मिलाउने मन्त्रालयसमक्ष प्रतिबद्धता जनाए पनि पुनः राहदानी संकलन भिएलएन÷ओएससीले नै गर्ने स्रोतले बतायो। कलिङ भिसा लिएका युवा मलेसिया गइसकेपछि नयाँ प्रक्रिया सुरु हुने बताइएको छ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाको टुंगो लागेपछि मात्र नयाँ प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ। श्रम स्वीकृति लिएका कामदारको संख्याको आधारमा मलेसिया नेपालको सबभन्दा ठूलो रोजगारी गन्तव्य हो।  रोजगारीका लागि मलेसिया जान हालसम्म करिब १० लाख युवाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। श्रम स्वीकृति लिएकामध्ये ५ लाख जति युवा अझै मलेसियामै रहेको अनुमान गरिन्छ। केही महिना अघिसम्म वैदेशिक रोजगारीमा जाने युवाको विवरण लिने तर फर्कनेको विवरण राख्ने प्रणाली नभएका कारण मलेसिया लगायत गन्तव्य मुलुकमा रहेका नेपालीको यकिन विवरण थाहा छैन।  बन्द हुनुअघिसम्म नेपाल भित्रिने कुल रेमिट्यान्समा मलेसियाको योगदान करिब एक तिहाइ रहने गरेको थियो। गत वर्ष विभिन्न मुलुकबाट सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत वर्ष एक लाख चार हजार युवा रोजगारीका लागि मलेसिया गएका थिए।

कोरिया जान ९२ हजारको आवेदन

सरकारले युवालाई स्वदेशमै रोजगारी दिने बताइरहेको बेला कोरिया जान ठूलो संख्याका युवाले चासो देखाएका छन्। रोजगार अनुमति प्रणाली सुरु भएयता (सन् २००७) सबभन्दा बढी यो वर्ष युवाले कोरिया जान आवेदन दिएका छन्। वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार आइतबार अपराह्न ५ बजेसम्म ९१ हजार चार सय २० युवायुवतीले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका छन्। अनलाइन फारम भर्ने अवधि आइतबार राति १२ बजेसम्म कायम गरिएकाले संख्या बढ्न सक्ने भण्डारीले बताए।  कोरिया जान ६२ हजार आठ सय १९ ले सेवा क्षेत्र र २८ हजार ६ सय एकले कृषिमा काम गर्न आवेदन दिएका छन्। यसअघि सबभन्दा बढी अघिल्लो वर्ष ८२ हजार दुई सय ३५ ले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका थिए। राम्रो पारिश्रमिक पाइने भएकाले कोरियाप्रति आकर्षण बढी छ।

हाल कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक एक लाख ७२ हजार रुपैयाँ तोकेको छ। फारम भरेका युवायुवतीको कोरियन भाषा परीक्षा आउँदो जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रमा सञ्चालन हुने तय गरिएको छ। यो वर्ष कोरियाले भाषा परीक्षामा उत्तीर्ण गराउन १० हजार ५० को सिलिङ उपलब्ध गराएको भण्डारीले पठाए। त्यस्तै यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गर्ने युवायुवती सम्बन्धित कामको सीप परीक्षणमा समेत उत्तीर्ण हुनु पर्नेछ। विगतमा भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जाँदा आत्महत्या गर्ने क्रम बढेपछि यो वर्षदेखि सम्बन्धित काममा दक्ष भए/नभएको यकिन गर्न सीप परीक्षण गर्नुपर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए।

Published on: 1 April 2019 | Nagarik

Back to list

;