s

सडकमै सुते चिया मजदुर

रविन भट्टराई

सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै ३८ दिनदेखि आन्दोलनरत चिया मजदुरले मंगलबार झापाको मुख्य सडकमा सुतेरनै बगान सञ्चालकको विरोध जनाएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विर्तामोडको मुक्तिचोकमा एक घण्टा सडक अवरुद्ध गर्दै सडकमा सुतेर श्रम ऐन कार्यान्वयन गर्न दबाब दिएका हुन्।

सरकारले राजपत्रमा प्रकाशन गरेर लागू गरेको ज्याला बगान सञ्चालकले नदिएको भन्दै गत चैत्र १७ गतेबाट चिया मजदुर कारखाना ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्। मंगलबार चर्को घामका बीच सडकमा एक घण्टासम्म सुतेर फरक स्वरुपमा एक हजार बढी मजदुरले विरोध जनाएका हुन्। उनीहरुले सरकारले ल्याएको कानुन कार्यान्वयनका लागि दबाबा दिन सुरु गरेको आन्दोलनलाई अझ चर्काउने चेतावनी समेत दिएका छन्। चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले आवरणमा ४३१ रुपैंयाँ देखिए पनि ऐन कार्यान्वयन गर्दा ५५५ रुपैयाँ ज्याला पुग्ने बताए। उनले बोनस, दसैं खर्च र बिदाको समयलाई गणना गर्दा तोकेको ज्याला वृद्धि हुने जानकारी दिएका छन्।

ऐनमा राज्यले तोकेको न्युनतम ज्याला उपलब्ध हुनुपर्ने तथा सामाजिक सुरक्षाको लागि लगानी गर्नु पर्ने व्यवस्था छ। सामाजिक सुरक्षा अन्र्तगत स्वास्थ्य, शिक्षा, रोजगारी, भैपरी आउने र पेन्सन उपलब्ध गर्नुपर्ने हुन्छ। मजदुरले श्रम ऐन कार्यान्वयन गर्न दबाब स्वरुप आन्दोलन कडा बनाइरहेका छन्। उद्योगी भने यही श्रम ऐन कार्यान्वयन गर्नु परे चिया उद्योग बन्द गर्ने अडानमा छन्। सरकारले कानुन निर्माण गरेर उद्योग खारेज गरे आफुहरु तयार रहेको अध्यक्ष मित्तलले बताउँछन्। देशभरका चिया क्षेत्रमा ५० हजारको हाराहारीमा मजदुर कार्यारत रहेका छन्। उद्योग बन्द भयो भने ठूलो संख्याका मजदुरको रोजीरोटी गुम्ने अवस्था छ।  

उद्योगी र मजदुरको आ-आफ्नै अडानका कारण सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने नेपालको चिया क्षेत्र अस्तव्यस्त बनेको छ। सरकारले ल्याएको सामाजिक सुरक्षा ऐनमा चिया क्षेत्रमा कार्यारत मजदुरलाई दैनिक ३८५ रुपैयाँ ज्याला दिनुपर्ने प्रवाधान छ। जसमा २३१ रुपैंयाँ ज्याला र १५४ रुपैयाँ महंगी भत्ता भनेर व्याख्या गरिएको छ। मजदुरले सामाजिक सुरक्षाकोषमा ज्याला रकमको १० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ। उद्योगीले सञ्चयकोष बापत १० प्रतिशत, उत्पादन बापत ८ दशमलब ३३ प्रतिशत र सामाजिक सुरक्षा भत्ता शीर्षकमा १ दशमलव ६७ प्रतिशत रकम थपेर सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने हुन्छ।

अहिले उद्योगले मजदुरलाई २७८ रुपैयाँ दैनिक ज्याला दिँदै आएका छन्। श्रम ऐनमा उद्योग र दैनिक ज्यालादारी मजदुरले प्रत्येक दिन ६९ रुपैयाँ सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने प्रावधान ऐनमा छ। उद्योगीले ३८५ रुपैयाँ ज्याला र ४६ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा एकजना मजदुरको हकमा ४३१ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त ६ महिना सुत्केरी बिदा, अंगभंग हुँदा उपचार गर्नुपर्ने उल्लेख छ। सोही ऐन कार्यान्वयन गर्नबाट उद्योगीपछि हटेपछि देशभरका चिया उद्योग बन्द भएका हुन्। हरियो पत्तीको सिजन सुरु हुँदै गर्दा बर्षेनी भइरहने आन्दोलनले चिया उद्योग अस्तव्यस्त हुँदै आएको छ। सरकारले गतवर्ष राजपत्रमा सूचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ। मजदुरले श्रम ऐन कार्यान्वयनको माग गर्दै बगान बन्द गरेका छन्।

Published on: 7 May 2019 | Annapurna Post

Back to list

;