s

सडक आयोजनाले दियो महिलालाई रोजगारी

वसन्तप्रताप सिंह 
 
पाराकाट्ने गाविसकी राधिका सिंह र उनका गाउँका महिलाहरूलाई हिजोआज सडक खन्ने कामको चटारो छ। 
 
बिहान १० बजे नै खाना खाइवरी खाजा पोको पारेर उनी सहितका महिला समूह महेन्द्रधार पुगिसक्छन्। दिनभर सडकमा घन, साबेल र बेल्चा चलाउँछन्। हाँसखेल गर्दै काम गर्छन्। ‘श्रीमान् भारत गएका छन्। घर खर्च चलाउनका लागि काममा आउने गरेकी छु,’ राधिका भन्छिन्, ‘एक्ला एक्लै काम गर्नुपरेको भए थकाइ लाग्दो हो। यहाँ त सबै मिलेर काम गर्दा रमाइलो नै हुन्छ। थकाइ पनि बिर्सिइन्छ।’ सडकमा कमाएको पैसाले चामल किन्ने र केटाकेटीको लुगा फेरिदिने उनले बताइन्। 
 
धेरै समय घरधन्दाकै काममा सीमित हुने यहाँका महिलालाई घरभन्दा टाढा गएर काम गर्दा समाजले राम्रो नजरले हेर्दैन। अधिकांश घरका पुरुषहरू रोजगारीका लागि भारत गएका हुनाले गाउँमै बन्न लागेको सडकले आफूहरूको घरखर्च जुटाउन ठूलो सहयोग गरेको पाराकाट्नेको डिक्ला गाउँकी धनकला साउदले बताइन्। 
 
विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले निर्माण गरिरहेको ३२ किलोमिटर लामो दंगाजी–महेन्द्रधार खोलीबजार सडक आयोजनामा पाराकाट्ने र कोटभैरव गाविसका ३ सय ५० भन्दा बढी महिलाले स्थानीय स्तरमा नै रोजगारी पाएका छन्। गाउँका धेरैजसो पुरुषहरू भारततिर गएकाले यस आयोजनामा काम गर्ने पुरुषहरूको संख्या भने १ सय ५० जति मात्र रहेको सामाजिक परिचालक केशव अवस्थीले बताए। 
 
पाराकाट्नेको १६ र कोटभैरव गाविसका ८ वटा गरी जम्मा २४ वटा समूहले विभिन्न ठाउँमा सडक निर्माण गरिरहेको र प्रत्येक समूहलाई जमिनको प्रकृति हेरी ६० देखि १ सय मिटर सम्मको टुक्राहरू भाग लगाइएको उनले बताए। ‘एक समूहले ३० देखि ४० दिनमा एक टुक्राको काम सकाउँछन्,’ सामाजिक परिचालक अवस्थीले भने, ‘छिटो काम गर्ने सक्ने समूहले दैनिक ७ देखि ९ सयसम्म ज्याला पार्ने गरेका छन्।’ सामान्य अवस्थामा प्रतिव्यक्ति ५ सयदेखि ६ सयसम्म दैनिक ज्याला पर्ने गरेको एकजना कामदार वीरबहादुर विकले बताए। 
 
‘श्रीमान् घरमा छैनन्। बर्खामा पनि खडेरीले उब्जनी भएन। हिउँदेबाली उम्रनै सकेको छैन,’ खडेरीका कारण खानलाउन समस्या बेहोरिरहेकी पाराकाट्नेकी देवकी विकले भनिन्, ‘घर नजिकै काम गर्न पाएका छौं। श्रीमान् घरमा नभए पनि घर खर्च चलाउन पाएका छौं। सडक आएकामा खुसी छौं।’ पुरुष घरमा नभएको महिलाहरूलाई सडक आयोजनाले रोजगारी दिएकाले र खडेरीको बेलामा यसले राहत दिएको सामाजिक परिचालक निसा योञ्जनले बताइन्। 
 
कोटभैरव र पाराकाट्ने गाविसमा यो वर्ष १ करोड ९६ लाख बराबरको काम समुदायमार्फत हुने जानकारी दिँदै ड्रिलिपका जिल्ला आयोजना इन्जिनियर गोरख जोशीले यसले यहाँको विकाससँगै रोजगारीको अवसर पनि दिएको जानकारी दिए। 
 
गत वर्ष पनि यसै परियोजनाबाट दंगाजी गाविसका ५ सय ४० जनाले १ करोड ६० लाखभन्दा बढी रकमको काम गरेर १० किलोमिटर सडक निर्माण गरेका थिए। 
 
बझाङका थलारा क्षेत्रका ४ गाविस हुँदै डोटी जिल्ला जोड्ने यो सडकको निर्माण कार्य आगामी पुस महिनासम्म पूरा गर्ने लक्ष्य रहेको इन्जिनियर जोशीले बताए। 
 
Published on: 8 March 2016 | Kantipur

Back to list

;