s

सडक निर्माणमा बाल मजदुर प्रयोग (फोटो फिचर)

हिक्मतबहादुर नेपाली 

दैलेख : नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना खानी तथा अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था गरेको छ । संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासका साथै बाल विकास र बाल सहभागिताको हक प्रत्याभूत गरेको छ ।

तर, सरकारी वेवास्ता र चरम लापरबाहीका कारण पढ्ने उमेरका बालबालिका विद्यालय जान छोडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । पुष्पलाल (मध्य पहाडी) राजमार्ग निर्माणको काममा बालबालिकालाई काममा लगाइएको छ ।

राजमार्गअन्तरगर्त दैलेख खण्डको १ सय २५ किमिमध्ये हालसम्म १९ किमि कालोपत्रे भएको छ । बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ । राजमार्गको दैलेख खण्डमा पुल निर्माण, सडक ग्राभेल, सडक कालोपत्रे, नाली निर्माणलगायतका कार्यमा बालबालिकाको प्रयोग भएको पाइएको छ । १४ देखि १८ बर्षसम्मका बाल मजदुरहरुले राजमार्ग निर्माणको जोखिमपूर्ण काम गरिरहेका छन् । त्यस्ता बालबालिका जिल्ला भित्र र कतिपय जिल्ला बाहिरका छन् ।

सरकारले २०८२ भित्र नेपालबाट सबै प्रकारका बाल श्रम अन्त्य गर्ने गरी ‘बाल श्रम राष्ट्रिय गुरु योजना’ जारी गरिसकेको छ । २०७९ सम्म अतिसंवेदनशील क्षेत्रमा रहेको बाल श्रम अन्त्य गर्ने र २०८२ भित्र सबै प्रकारको बाल श्रम अन्त्य गर्ने गरी राष्ट्रिय गुरु योजना जारी गरिएको थियो । तर, राष्ट्रिय गौरबको आयोजना मानिएको मध्यपहाडी राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेको पाईएको हो ।

राजमार्ग निर्माणमा बालबालिका प्रयोग भइरहेको बारे स्थानीय प्रशासन र मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले वेवास्ता गरेको अधिकारकर्मीहरु बताउँछन् । राजमार्ग निर्माणमा बालबालिकाको प्रयोग अत्याधिक रहेको अधिकारकर्मीहरुको भनाइ छ ।

यता मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले गत मंसिर पहिलो साता निर्माण जिम्मा पाएका कम्पनीहरुलाई बाल श्रम प्रयोग नगर्न नगराउन भन्दै पत्र लेखेको थियो ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख इन्जिनियर अर्जुनकुमार बमद्धारा हस्ताक्षरित पत्रमा कार्यालयअन्तरगर्त सञ्चालित कुनै पनि निर्माण कार्यमा बालबालिका प्रयोग नगर्न भनिएको छ । तर साइड इन्चार्ज र निर्माण कम्पनीले वेवास्ता गरिरहेका छन् ।

Published on: 27 December 2020 | Annapurna Post

Link

Back to list

;