s

सडक बनाउन कामदारको ओइरो

टीका भट्ट 

घर खर्च जुटाउनका लागि दुई वर्षअघिसम्म हरेक साल भारतको कोइलाखानी पस्ने फर्पुका जितबहादुर सुनुवारलाई अहिले आफ्नै गाउँको सडक खन्ने काममा भ्याइनभ्याइ छ ।

'कोइलाखानी यहीं पाएको छु' सुनुवार भन्छन्, 'उता एक्लै हुन्थेँ, यहाँ परिवारका अरू सदस्यले पनि काम पाएका छन् ।' फर्पु हुँदै रस्नालु जाने सडक निर्माण भएपछि धेरै गाउँलेले आफ्नै ठाउँमा मन्ग्यै पैसा आर्जन गर्न थालेका छन् । एक दिनमा एक जनाले करिब ६ सय रुपैयाँ कमाउन सक्ने भएपछि फर्पुमा सडक खन्नेको ओइरो नै लागेको छ ।

गाउँमा सडक आउने अनि पैसा पनि आफैंले राख्न पाइने भएपछि गाउँलेमा उत्साह अरू थपिएको हो । उनीहरू सडक छेउमै पाल हालेर उज्यालो भएदेखि घाम अस्ताएसम्म हाते औजार चलाउँछन् । स्थानीय बासिन्दालाई रोजगारको सिर्जना र वातावरण मैत्री बनाउन खिम्तीदेखि रस्नालुसम्म ३४ किलोमिटर सडकमा ठूला मेसिनको प्रयोग गरिएको छैन । उपभोक्ता समिति अध्यक्ष पूर्णबहादुर तामाङका अनुसार फर्पु, नामाडी, बेताली गाविसबाट मात्र नभई अन्य जिल्लाका कामदार पनि अहिले अहोरात्र जुटेका छन् ।

खिम्तीबाट फर्पु हुँदै बेताली जाने सडकमा अहिले गाउँघरका धेरै मान्छे यहीँ भेटिन्छन् । त्यसमध्ये कठिन भागमा गनिएको फर्पुमा सडक निर्माणका लागि औजार चलाउनेको ओइरो हेर्न लायक छ । 'हाम्रोमा करिब १ सय १४ समूहले विभिन्न ठाउँमा काम गरिरहेका छन्,' जिल्ला सडक सहयोग कार्यक्रमका इन्जिनियर डिल्ली अधिकारीले भने । एक कामदार समूहमा २०

जनासम्म रहने व्यवस्था छ । स्वीसको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गतको सबैभन्दा कठिन गनिएको फर्पुको पहरा फुटाउँदै सडक घुमाउन अहिले ती सबै केन्दि्रत गराइएको हो ।

'जिल्ला सडक सहयोग कार्यक्रमले अरू जिल्लामा पनि बाटो खनेको छ तर ती सबैभन्दा कठिन भाग फर्पुमा नै पर्छ,' कार्यक्रम हेर्ने अर्का इन्जिनियर महेश अधिकारीले भने, 'एउटै पहाडमा १२ घुम्ती कटेर सडक लानुपर्ने चुनौती छ ।' अधिकारीका अनुसार सडकको ट्याक ओपन गर्ने काम करिब सम्पन्न भयो र पूर्वाधारको काम धमाधम हुँदै छ । 'यही गतिमा सडक खन्ने हो भने अर्को वर्षभित्रमा यातायात सञ्चालन गर्न सकिन्छ,' अधिकारीले भने ।

जिविसले यो सडकलाई महत्त्व दिएर लगानी केन्दि्रत गरेको स्थानीय विकास अधिकारी दिलीपकुमार चापागाइर्ंले बताए । उनले उत्तरी क्षेत्रको पर्यटनलगायत समग्र विकासका लागि उक्त मार्ग प्रभावकारी हुने बताए । तराईसँग सोलुसम्मको सम्पर्कका रूपमा पनि उक्त मार्गलाई अघि सारिएको उनको तर्क छ । उत्तरी रामेछापको मेरुदण्ड सडकका रूपमा रहेको उक्त सडक आव ०६२/६३ बाट सुरु भएको हो । सुरुमा हिमाल पावर लिमिटेडले बेतालीसम्म खोलेको ट्याक पछ्याउँदै अघि ल्याएको उक्त सडक फर्पुमा रेखांकनमा भएको विवादका कारण केही घुमाइएको थियो ।

अहिले भने त्यस ठाउँमा सहायक मार्ग बनाइदिएर सोझो मार्ग पहिल्याएपछि निर्माणले तीव्रता पाएको हो । सडक पूरा भएपछि जिल्ला सदरमुकामसँग उत्तरपूर्व रामेछापका अधिकांश गाविस छोटो बाटोबाट जोडिनेछन् । अहिले बाम्ती गुम्देल, ठोसेजस्ता गाविसवासी दोलखाको जिरी हुँदै दिनभर लगाएर ओहोर दोहोर गर्दै आएका छन् ।

Published on: 3 February 2012 | Kantipur

Back to list

;