s

सचिवलाई भेटेर म्यानपावर व्यवसायीले भने– श्रमिक युरोप पठाउन सहजीकरण गरिदिनुस्

वैदेशिक रोजगार व्यवसायीहरूले श्रम सचिव केवलप्रसाद भण्डारीसँग भेटघाट गरेका छन्। बुधबार भेटघाटका क्रममा उनीहरूले सचिवसँग विभिन्न माग पनि राखे।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकका समस्या सरकार, व्यवसायी लगायत सबै सरोकारवाला मिलेर गर्नुपर्ने औंल्याए।

सरकारले म्यानपावर व्यवसायीहरूलाई जिम्मेवार बनाएर काम गर्ने सहज वातावारण सिर्जना गर्नु पर्नेमा पनि अध्यक्ष भण्डारीले जोड दिए।

'अहिलेसम्म पनि नेपाली दाजुभाई दिदीबहिनी खाडी मलेसिया जस्ता मुलुकलाई नै गन्तव्य बनाइरहेका छन्। यी मुलुकमाभन्दा युरोप, अमेरिका जस्ता पश्चिमा मुलुकहरूमा रोजगारीका राम्रा अवसर छन्। तर यी मुलुकमा मागपत्र प्रमाणीकरण नहुँदा अवसर गुमिरहेको अवस्था छ,' उनले भने।

श्रम मन्त्रालयले अनलाइनबाट मागपत्र प्रमाणीकरण गर्न सकिने व्यवस्था गरी निर्देशिका संसोधनको प्रकृया अघि बढाएकोमा परराष्ट्र मन्त्रालयमा थन्किएको गुनासो पनि भण्डारीले सचिव सामु पोखे। यसमा सहजीकरण गरिदिन पनि उनले आग्रह गरे।

म्यानपावर कम्पनीमार्फत् युरोपमा श्रमिक पठाउन सके भिजिट भिसाको आवरणमा जाने क्रम रोकिने र ठगीसमेत नियन्त्रण हुने उनको तर्क छ।

त्यस्तै, म्यानपावर व्यवसायीले एक सय जना कामदार नपठाए खारेजी हुने व्यवस्था पनि अव्यहारिक भएको उनले उल्लेख गरे।

'सय जना कामदार पठाउनै पर्ने बाध्यकारी नियम कसरी आयो? हटाइयोस्, धरौटी राखेका छौं। आफ्नो व्यवसाय चलाउन पनि बाध्यकारी नियम साह्रै अव्यहारिक भयो,' उनले भने।

सरकारले वैदेशिक रोजगार ऐन संसोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक एक सय कामदार पठाउन नसके म्यानपावर कम्पनी खारेज हुने व्यवस्था गरेको छ।

श्रम सचिव भण्डारीले सबैले इमान्दारी भएर काम गर्नुपर्ने अवस्था रहेको बताए। श्रमिकहरूको हकहित र व्यवसायीहरूको सहजीकरणमा पनि काम गर्ने उनले उल्लेख गरे।

Published on: 22 June 2023 | Setopati

Link

Back to list

;