s

‘सबैभन्दा बढी मार मजदुरलाई’

मधेस बन्द, हड्ताल र नाकावन्दीको सबैभन्दा बढी मार मजदुर वर्गलाई परेको नेताले बताएका छन् । शुक्रबार यहाँ नेपाल ट्रेड युनियन महासंघ कोसी अञ्चल कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाका सहभागीले भूकम्प, मधेस बन्द, हड्ताल र नाकाबन्दीका कारण मजदुरहरूलाई बाँच्नसमेत धौ–धौ परेको बताए ।
 
महासंघका केन्द्रीय उपाध्यक्ष मधुसुदन खतिवडाले कुनै पनि देशको संविधान एकैपटक पूर्ण नहुने भन्दै संविधानको गलत प्रचार गरी मधेसमा आन्दोलन गरिंदा त्यसको सबैभन्दा बढी मार मजदुरलाई परेको बताए । ‘नाकाबन्दीले न्यूनतम मानवतालाई समेत ख्यान गर्न सकेन,’ उनले भने, ‘संविधानमा नभएका कुराहरूको मात्र प्रचार गरियो भएका राम्रा कुरा जनतासम्म पुर्‍याउन नसक्दा अहिलेको अवस्था आयो ।’ 
 
महासचिव विष्णु लम्सालले कागले कान लग्यो भन्नेर कानै नछामी कागको पछि कुद्नु मूर्खता भएको भन्दै मधेसी नेताहरूले त्यसै गरेको आरोप लगाए । कार्यक्रम महासंघका उपमहासचिव जनक चौधरी, एमाले मोरङका अध्यक्ष महेश रेग्मीलगायत बोलेका थिए । कार्यक्रममा झापा र मोरङका करिब ६ सय मजदुर नेताहरू सहभागी भएका थिए । 
 
कार्यक्रममा जिफन्टअन्तर्गतका ९ वटा कमिटीहरूले २५ हजारका दरले २ लाख ५० हजार रुपैयाँ महासंघको केन्द्रीय कल्याणकारी कोषमा हस्तान्तरण गरेका थिए । महासंघले १ करोड रुपैयाँ कोष स्थापना गरेको छ । 
 
उक्त कोषको रकमवाट प्राकृतिक बिपत्तिमा परेका र गम्भीर प्रकृतिका रोग लागेका मजदुरहरूको उपचारका लागि खर्च गरिने निणर्यसमेत भएको कोसी अञ्चल अध्यक्ष किशोर धमलाले बताए ।
 
Published on: 14 February 2016 | Kantipur

Back to list

;