s

सबैभन्दा बढी कामदार पठाउनेमा दि रिभर फेरि पहिलो, कोशी दोस्रोमा उक्लियो, तेस्रोमा एसओएस

राजधानीको वत्तीसपुतलीस्थित दि रिभर ओभरसिज प्रा.लि.गत आर्थिक वर्ष २०७४-०७५ मा सबै भन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको गत आर्थिक वर्ष भरीको तथ्यांकलाई केलाउँदा वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीहरुको सूचीको शीर्ष स्थानामा रहेको दि रिभरले ६ सय ६२ महिला कामदार सहित ५ हजार ८ सय ४ कामदार पठाएको छ ।
 
दि रिभर ओभरसिज अघिल्लो आर्थिक वर्ष २०७३-०७४ मा पनि सबै भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी बनेको थियो । यद्यपि अघिल्लो वर्ष उक्त म्यानपावर कम्पनीले ९ हजार १ सय १३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कमदार पठाउने सूचीको तस्रो स्थानमा रहेको विशालनगरस्थित कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. भने यस पटक दोस्रो स्थानमा उक्लिएको छ । कोशी इन्टरनेशनल ८ सय १४ महिलासहित ५ हजार ४ सय ७२ कामदार पठाएर दोस्रो स्थानमा पुगेको हो । यद्यपि कामदारको संख्या हेर्ने हो भने कोशीले अघिल्लो आर्थिक वर्षमा ६ हजार २ सय २१ जना कामदार पठाएको थियो । यसैगरी ४ हजार ६ सय ७७ कामदार पठाएर धापासीस्थित एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. धेरै कामदार पठाउने सूचीको तेश्रो स्थानमा रहेको छ । यद्यपि अघिल्लो आर्थिक वर्ष दोस्रो स्थानमा रहेको एसओएसले ६ हजार ६ सय १९ जना कामदार पठाएको थियो ।
 
विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कूल १ हजार ७२ वटा म्यानपावर कम्पनीले वर्ष भरिमा ३ लाख २३ हजार ८ सय ७७ जना कामदार वैदेशिक रोजगारमा पठाए । जसमध्ये महिलाको संख्या १९ हजार ३ सय ८ रहेको छ भने पुरुषको संख्या ३ लाख ४ हजार ५ सय ६९ रहेको छ । करिव १ हजार तीन सय अस्तित्वमा रहेका म्यानपावर कम्पनीहरुमध्ये २ सय भन्दा बढी म्यानपावर कम्पनीहरुले एक जना पनि कामदार नपठाएको बुझिएको छ ।
 
विभागको तथ्यांक अनुसार वर्षभरीमा १ जना मात्र कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ८ वटा रहेको छ । ति म्यानपावर कम्पनीहरु आयूष ओभरसिज प्रा.लि., अल्करिम ओभरसिज कन्सल्टेन्ट प्रा.लि., ग्लोबल ड्रिम रिक्रुटमेन्ट प्रा.लि., मेगा इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि., पावर वर्कर प्रा.लि., प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि., एस.एस. ओभरसिज प्रा.लि. र सर्भिङ ओभरसिज प्रा.लि. रहेका छन् । जसमध्ये १-१ जना मात्र महिला कामदार पठाउने ग्लोबल ड्रिम रिक्रुटमेन्ट प्रा.लि. र आयूष ओभरसिज प्रा.लि. रहेका छन् ।
 
Published: 19 July 2018 | Madhyanha

Back to list

;